काठमाडौं । सरकारी कर्मचारी तथा शिक्षकले सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार सामग्री शेयर गर्न नपाउने भएका छन् । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले त्यसका लागि सचेत गराएको हो । 

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ । अनुगमनका क्रममा आचार संहिता प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षण संस्था सम्बद्ध शिक्षक तथा कर्मचारी राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको छ ।

त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरूले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई तथा शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्री शेयर र लाइक गर्ने गरेको पाइएपछि आयोगले आवश्यक कारबाही थालेको छ । 

निर्वाचन आचारसंहितामा सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैरसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समितिका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरूबारे स्पष्ट व्यवस्था गरिएको छ ।

आचारसंहितामा  “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने उल्लेख छ ।

सोही आधारमा आचार संहिता उलङ्घन गर्ने शिक्षक तथा कर्मचारीलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । ऐनको उक्त व्यवस्था अनुसार अटेर गर्ने शिक्षकत तथा कर्मचारीलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

https://unelma.io/qgznv