काठमाडौं । सामाजिक सञ्जालको सूचीमा टिकटक नेपालमा पनि धेरै प्रयोग गरिने एपभित्र पर्छ । सामाजिक सञ्जाल जति उपयोगी सावित भएको छ, त्यति नै जोखिमपूर्ण पनि छ । टिकटकमा फलोअर बढाउनदेखि गिफ्ट पाउन अनावश्यक तथा अश्लील हर्कत गर्नेहरूको सूची बनाई साध्य छैन ।

केही व्यक्तिले गरेका यस्ता हर्कतको असर अन्य व्यक्तिलाई समेत परेको छ । जसको ज्वलन्त उदाहरण हो सोमबार पोखराको हल्लनचोकमा भएको कार्यक्रम । शीघ्र प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र 'महापुरूष'को प्रचार कार्यक्रममा यही विषयलाई लिएर व्यङ्ग्य गरिएको थियो ।

सो कार्यक्रममा हास्यकलाकार हरिवंश आचार्य, राजाराम पाैडेलसहित कमेडियन सुमन कार्की, विकास अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाल लगायत सहभागी थिए ।

अन्य कलाकारजस्तै कार्यक्रमलाई रोमाञ्चक बनाउन कमेडियन विकास अर्याल स्टेजमा गए । त्यसपछि उनले टिकटक प्रयोग गर्ने नेपाली कलाकारलाई लक्षित गर्दै व्यङ्ग्य गर्न थाले ।

सोही कार्यक्रममा सहभागी गायिका रिमालले पनि टिकटकबाट इज्जत बेचेको भन्दै अर्यालले व्यङ्ग्य गरे । आफू लक्षित व्यङ्ग्य सुनेपछि रिमाल निराश हुँदै स्टेजबाट बाहिरिइन् ।

अर्यालले उनलाई लक्षित गर्दै गरेको व्यङ्ग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै रचना रुँदै हिँड्न लागिन् । रचनाले त्यसरी सार्वजनिक रूपमा चित्त दुःखाएपछि माहोललाई शान्त पार्न अर्यालले रचनाको नाम लिएर माफी मागे ।

टिकटकमा सक्रिय हुने नेपाली सेलिब्रेटीमध्ये गायिका रिमाल पनि एक हुन् । गीत रिलिज भएको समयका साथै बेलाबखत आफ्ना समर्थकसँग अन्तर्क्रिया गर्न उनी टिकटकमा लाइभ जाने गर्छिन् । साथै आफू सम्बन्धित कन्टेन्ट पनि अपलोड गरिरहेकी हुन्छिन् ।

त्यस्तै नेपाली सेलिब्रेटीहरू टिकटकमा लाइभ बसेर गिफ्टको अपेक्षा गरेको भन्दै सामाजिक सञ्जालमा थुप्रै आलोचना भइरहेको हुन्छ । पछिल्लो समय नेपालमा विभिन्न व्यक्तिहरू टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने प्रचलन बढेको छ ।

विशेषगरी टिकटकमा फलोअर बढाइदिने आश्वसन दिँदै कतिपय क्रियटरले लाइभमार्फत गिफ्टको अपेक्षा गरेका हुन्छन् । जसले गर्दा व्यक्तिगत रूपमा आफ्नै प्रयोजनका लागि टिकटक प्रयोग गर्ने प्रयोगकर्ता पनि यस्ता आलोचनाको सामना गरिरहेका छन् ।

सोही कार्यक्रममा हास्य कलाकार राजाराम पौडेलले पनि आफ्नो टिकटक अनुभव सुनाए । केही टिकटक प्रयोगकर्ताले लाइभ बसेको समयमा माग्न आएको भनेपछि लाज लागेर लाइभ बस्नै छोडेको बताए ।

https://unelma.io/IgBG0