नेकपा एकीकृत समाजवादी पार्टीले निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई जलविद्युत् कम्पनी सेयरधनी बनाउने घेषणा गरेको छ । सोमबार संघीय र प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने बताएको हो ।

आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रबर्द्धन गर्ने गरी व्यवस्था मिलाइने घोष्णापत्रमा उल्लेख छ । यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गर्ने समाजवादीको घोषणापत्रमा उल्लेख छ । नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युतको उपयोग तथा व्यापारका लागि सरकारी, सहकारी, निजी क्षेत्रलाई संलग्न गराउने तथा स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रिय हित अनुकुल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गर्ने उल्लेख छ ।