काठमाडौं । आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावकाे प्रचारप्रसारका लागि सजिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । चुनावका उम्मेदवार, पार्टी र कार्यकर्ता यही माध्यममार्फत आफ्नो पक्षमा मत मागिरहेका छन् ।

यसैबीच एक अध्ययनले चुनावी प्रचारका लागि सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा धेरै खर्च गर्नेमा स्वतन्त्र उम्मेदवार बढी रहेकाे तथ्यांक बाहिर ल्याएकाे छ । पत्रकार एवं शाेधकर्ता उज्जवल आचार्यले गरेको एक स्व-अध्ययनका अनुसार चुनाव प्रचारका लागि फेसबुकमा सबैभन्दा बढी खर्च स्वतन्त्र उम्मेदवारले गरेका छन् । 

उनले सार्वजनिक गरेको रिपोर्टमा गत सेप्टेम्बर र अक्टोबर महिनामा फेसबुकमा निर्वाचन-केन्द्रित विज्ञापनमा १०० डलरभन्दा बढी खर्च गर्ने ५० उम्मेदवारले २० लाख रूपैयाँ खर्च गरेको उल्लेख छ । जसमध्ये स्वतन्त्र उम्मेदवारहरूले फेसबुकमा धेरै विज्ञापन गरेका छन् ।

कुल विज्ञापनमध्ये ४३.८ प्रतिशत विज्ञापन स्वतन्त्र उम्मेदवारहरूको रहेको छ । फेसबुक विज्ञापनमार्फत चुनाव प्रचारमा खर्च गर्नेमा जनता समाजवादी पार्टी (जसपा) दोस्रो स्थानमा छ । कुल खर्चमध्ये जसपाको खर्च १४.१ प्रतिशत रहेको छ ।

यसैगरी खर्च गर्ने सूचीमा ११.५ प्रतिशत र ७.७ प्रतिशतसहित नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमश: तेस्रो र चौंथाेमा स्थानमा छन् ।

फेसबुकको विज्ञापनमा खर्च गर्ने सूचीमा एमाले पाँचाैं स्थानमा रहेको छ । एमालेले कुल भएको खर्चमध्ये ५.५ प्रतिशत खर्च मात्र गरेको छ भने छैठौं स्थानमा रहेको एकीकृत समाजवादीले ४.६ प्रतिशत खर्च गरेको छ ।

माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने क्रमश: ४.४ प्रतिशत र ४.३ प्रतिशत खर्च फेसबुक विज्ञापनमा गरेका छन् । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीको २.१ प्रतिशत खर्च हिस्सा रहेको छ भने १.८ प्रतिशत निर्वाचन खर्चको स्रोत भने खुलेको छैन ।

पछिल्लो समयमा सामाजिक सञ्जालबाट चुनाव प्रचारप्रसार गर्ने क्रम बढ्दै गएको छ ।

https://u16p.com/ozrfwppyhg