विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले पछिल्ला आठ वर्ष हालसम्मकै अत्यधिक गर्मी वर्ष बनेको बताएको छ। 

 

 

उसले सार्वजनिक गरेको एउटा नयाँ रिपोर्टमा हरितगृह ग्यासको लगातार वृद्धि तथा त्यसबाट उत्पन्न तापका कारण पृथ्वीमा पछिल्लो ८ वर्षमा सबैभन्दा गर्मी भएको जनाइएको छ। इजिप्टमा सुरु भएको कोप–२७ मा रिपोर्टको संक्षेप सार्वजनिक गरिएको हो। जसमा विश्वभर चिन्ताजनक जलवायु घटनाहरुको विवरण दिइएको छ। 

यी घटनाहरुले कार्बन डाइअक्साईड, मिनथेन र नाइट्रस अक्साइड जस्ता तापमान वृद्धिका मुख्य कारक हरितगृह ग्यासमा बढोत्तरी भएको छ। महासागरहरुको तापक्रम पनि भारी रुपमा वृद्धि भएको र जलस्तर बढिरहेको रिपोर्टमा उल्लेख छ । सुख्खा तथा अत्यधिक वर्षाका कारण खाद्यान्न संकट हुने, बाढीका कारण लाखौँ मानिस विस्थापित हुने र जंगलमा आगलागीका घटना बढ्ने अनुमान गरिएको छ। 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशले यो रिपोर्टका आधारमा संयक्त राष्ट्र संघको तापमान वृद्धिलाई नियन्त्रण गर्ने लक्ष्यमा संकट देखिएको बताएका छन्। 

रिपोर्टका अनुसार समुद्री जलस्तर वृद्धिको दर सन् १९९३ पछि हालसम्म दुई गुणाले बढेको छ। साथै रिपोर्टमा युरोपलगायत विभिन्न महाद्वीपका पर्वतीय क्षेत्रमा अभूतपूर्वस्तरमा हिमनदी पग्ली रहेको बताइएको छ। डब्ल्युएमओले यो रिपोर्टको पूर्णपाठ अर्को वर्षमात्रै सार्वजनिक गर्ने तयारी गरेको छ। 

https://u16p.com/ogqmgac1vd