काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।

लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो ।

आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै बालेनेले भनेका छन्, ‘स्थानीय सदस्य निर्वाचन-२०७९ मा म स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको हुँ । यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भैरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन । ’

कारबाही गर्न माग

कुनै दलमा आबद्ध नभएको भन्दै मेयर बालेनले आफू निर्वाचित हुँदाको लौरो चुनाव चिन्ह र अहिलेको दलको चुनाव चिन्ह लौरोको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।

आफ्नो समर्थनविना प्रचार गरेकोमा आपत्ति जनाउँदै उनले यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्न आयोगसँग अनुरोध समेत गरेका छन् । ‘मेरो सहमतिविना आबद्धता देखाउन खोज्ने जुनसुकै दल वा उम्मेदवारलाई कानुन बमोजिमको कारबाही गर्न समेत यसै पत्रमार्फत आयोगलाई अनुरोध गर्दछु’ पत्रमा बालेनले भनेका छन् ।
https://u16p.com/gm0e6ruyxg