नेपाल नागरिक उड्डउन प्राधिकरणले अनुमति नलिई चार्टर्ड उडानको टिकट नकाट्न वायुसेवा कम्पनीहरुलाई चेतावनी दिएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार केही दिन यता कम्पनीहरुले प्राधिकरणबाट अनुमति नलिई चार्टर्ड उडानको टिकट काट्ने र यात्रुलाई अलपत्र पार्ने गरेको भन्दै प्राधिकरणले यस्तो चेतावनी दिएको हो ।

प्राधिकरणले अनुमति लिएर मात्र टिकटको बिक्री/वितरण गर्न सम्बद्ध वायुसेवा कम्पनी र उनीहरुका जीएसएलाई समेत निर्देशन दिएको बताएको छ ।

आगामी दिनमा अनुमति नलिई टिकट काटेर यात्रुको बिचल्ली बनाउने र विमानस्थलमा भीडभाड गराएमा सम्बन्धित वायुसेवा कम्पनीलाई कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

केही दिन अगाडि नेपाल एयरलाइन्स र यसै साता कुवेत एयरवेजले अनुमति नलिई चार्टर्ड उडानमा टिकट काटेसँगै यात्रु अलपत्र परेका थिए । प्रवक्ता निरौलाले आगामी दिनमा यस्तो गतिविधि नहोस् भनी वायुसेवा कम्पनीलाई चेतावनी दिइएको बताए ।