रूसी अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटका लागि एजेन्टका रूपमा काम गर्ने २० वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनी पक्राउ परेसँगै प्रहरीले धेरै रहस्य पनि खोलेको छ । अनुसन्धान अनुसार महोत्तरी घर भएका आदर्श ठाकुर करोडौं रुपैयाँको सट्टेबाजीमा संलग्न थिए ।

विगत आठ महिनायता वन एक्स बेटमा सक्रिय ठाकुरले नेपालमा सट्टेबाजी एजेन्टका रूपमा करोडौं रूपैयाँको कारोबार गर्थे । कुनै पनि प्रकारको जुवा तथा बाजीजन्य क्रियाकलापलाई नेपालमा गैरकानूनी मानिन्छ । तर विश्वकप फुटबल सुरु भएयता सट्टेबाजीका घटना निरन्तर बढिरहेको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि धेरै व्यक्तिको सम्पर्क र पहुँचमा प्रहरी पुग्न सकिरहेको छैन ।

 

मंगलबार वन एक्स बेटका एक एजेन्ट पक्राउ परेको घटनाले भने केही तरङ्ग ल्याएको छ । ललितपुर सानेबाट पक्राउ परेका ठाकुर सट्टेबाजी एजेन्टका रूपमा रकम संकलन गर्ने, खातामा रकमान्तर तथा भुक्तानी गर्ने गतिविधिमा सक्रिय थिए ।

उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।

 

उनले रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट अकाउन्ट खोली कारोबार गर्ने गरेको पाइएको प्रहरी बताउँछ । सो क्रममा ठाकुरले विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत खरिद गरी त्यसबाट विभिन्न सेवा प्रदायकहरूको सिम कार्ड समेत खरिद गर्ने गरेका थिए ।

यसैगरी वालेटमा संकलन गरेको रकम ठाकुरले नबिल, सिद्धार्थ र एनआईसी एसिया बैंकमा रहेको आफ्नो खाता रकमान्तर गर्ने गरेको देखिएको छ । आठ महिनाको अवधिमा ठाकुरले नबिल बैंकमा ६९ लाख छ हजार ७७० रुपैयाँ, सिद्धार्थ बैंकमा ४५ लाख छ हजार ७७० रुपैयाँ र एनआईसी एसिया बैंकमा ८८ लाख २४ हजार १५५ रुपैयाँ गरी दुई करोड दुई लाख ८४ हजार ४४८ रुपैयाँ बराबरको रकम वालेटबाट ट्रान्सफर गरेको पाइएको प्रहरीले जनाएको छ ।

अझ रोचक कुरा त उनले देशविदेश गरी ४८५ ओटा विभिन्न सेवा प्रदायकका डिजिटल वालेट अकाउन्टबाट कारोबार गर्थे । यी सबै डिजिटल वालेटको कारोबार रोक्का गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै उनले वनएक्स बेटका लागि ९४ ओटा एनसेल तथा स्मार्टसेल कम्पनीको सिम पनि प्रयोग गर्ने गरेको तथ्य खुलेको छ ।

यसरी प्रविधिको प्रयोग बढ्दै गर्दा दुरुपयोग पनि सँगै बढिरहेको छ । सट्टेबाजीको नाममा व्यक्तिका परिचयपत्र हरुकाे समेत दुरुपयोग भइरहेको घटना बाहिरिएको छ ।

यसैबीच विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजी लगायतका कार्यमा संलग्न भएको पाइएमा कानूनी कारबाही गर्ने र निजहरूको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरू रोक्का गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ ।

यसअन्तर्गत राष्ट्र बैंकले जुवा तथा बाजीजन्य गैरकानूनी कार्यहरूको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि अनुमतिप्राप्त संस्थाहरूलाई​ निर्देशन दिएको छ । 

nrb_notice_ExF9RPboi8.jpg

https://unelma.io/xM5l9