पटक पटक ताकेता दिँदा पनि ​पाेलभाडा नतिरेकाे भन्दै नेपाल विद्युत प्राधिकरणले  इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । ६ मंसिर मा एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले ७ पुसभित्र टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने कम्पनीहरूलाई प्राधिकरणको पोल प्रयोग गरेवापतको भाडाशुल्क तिर्न ताकेता दिएकाे थियाे ।

तर दिइएको समय सकिन एक हप्तामात्र बाँकी रहँदा पनि अहिलेसम्म कुनै पनि सेवाप्रदायकले सम्पर्क नगरेका कारण प्राधिकरणले पुन: सूचना प्रकाशित गरेको छ ।

आफ्नो विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाइ सम्झौता गर्न र नवीकरण गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ । यद्यपि कुनै पनि सेवा प्रदायकले अहिलेसम्म सम्झौता गर्न वा सम्झौता नवीकरण गर्न नआएको साथै बक्यौता भाडा रकम पनि नबुझाएको प्राधिकरणले भनाइ छ । 

७ पुसभित्र बक्यौता भाडा रकम भुक्तानी नगरेको खण्डमा र सम्झौताका लागि सम्पर्क नगरेमा सम्बन्धित सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । साथै यसबाट उक्त सेवा प्रदायकका सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहने पनि सूचनामा उल्लेख गरेको  छ ।  

https://u16p.com/iomglminuu