नबिल बैंकले आफू बिटक्वाइन सम्बन्धी कुनै पनि काममा संलग्न नभएको स्पष्टिकरण दिएको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा बिट्क्वाइनमा लगानी गरेर कमाएको रकम नबिल बैंकमा जम्मा भएको भन्ने स्क्रिनशट सहितका पोस्टहरू भाइरल भएपछि एक सूचना जारी गर्दै बैंकले यस्ता कुनै पनि सूचनामा विश्वास नगर्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।

साथै आफ्नो बैंकमा यस्तो कुनै पनि प्रकारको रकम जम्मा नभएको पनि पनि बैंकले जानकारी दिएको छ । "विभिन्न लोकप्रिय सामाजिक सञ्जालका साइटमार्फत विशेषगरी इन्स्टाग्राममा प्रयोगकर्ताहरूको व्यक्तिगत अकाउन्ट ह्याक गरी यस बैंकको नाम र लोगोको अनधिकृत प्रयोग भएका भ्रामक म्यासेज समेत पोस्ट गरी बिटक्वाइन लगायतमा लगानी गरी प्राप्त रकम नबिल बैंकको खातामा जम्मा भएको भ्रम पार्ने पोस्टहरू गरी भाइरल बनाइएको फेला परेको छ," बैंकले उल्लेख गरेको छ ।

 

यस विषयमा बैंकको गम्भीर ध्यानाकर्षण भएको र यस किसिमका पोस्टहरू प्रेषण गर्ने, शेयर गर्ने लगायतका ठगी क्रियाकलापमा सहभागी नहुन बैंकले अनुरोध गरेको छ ।

साथै बैंक सम्बन्धी कुनै पनि जिज्ञासा भएमा सिधैं बैंकमा नै सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ । बैंकलाई ०१-५९७००१५ अथवा [email protected] मा सम्पर्क गर्न सकिन्छ ।

https://u16p.com/w0kkoukrlw