फिफा विश्वकप २०२२ मा अनलाइन बेटिङ साइट 'वनएक्स बेट (1X bet)'बाट सट्टेबाजी गर्न रकम संकलन गरेको आरोपमा थप दई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १६ घर भइ हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १२ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ०८ आदर्श टोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन् ।

फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरूमा सट्टेबाजी गर्न प्रयोग हुने 'वनएक्स बेट'मार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने/गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको सूचनाको आधारमा अनुसन्धान थाल्दा भेले र चौगुठी फरक फरक ठाउँबाट पक्राउ परेका हुन् ।

 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार  वानएक्स बेटले एजेन्ट नियुक्ति गर्दा वानएक्स बेट खेलाडीहरू मध्यबाट बढी रकम हारेका ब्यक्तिहरूको पहिचान गरी बिभिन्न प्रलोभन देखाएर एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको पाइएको छ ।

 

पक्राउ परेका दुवै जना वानएक्स बेटमा सट्टेबाजी गराउन विगत एक वर्षदेखि एजेन्टका रूपमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।  यसैगरी वानएक्स बेटमा एजेन्टहरूले कारोबार व्यवस्थापन गर्न रेड्डी नामक एपबाट कारोबार गर्ने गरेको पाइएको छ ।

"रकम सङ्कलन र भुक्तानी गर्ने आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानी गर्न एजेन्टहरू प्रोत्साहित हुने गरेको पाइएको छ," काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

"सुनिल चौगुठीको २३ ओटा बैंकमा रहेका २५ ओटा खाताको कारोबार विवरण माग गरिएकोमा हालसम्म प्राप्त भएका सात ओटा बैंक खाताको विवरणमा उनले करिब एक वर्षको अवधिमा दुई करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँको कारोबार गरेको खुल्न आएको र अन्य बैक खाताको विवरण प्राप्त हुने प्रक्रियामा रहेको छ ।"

यसैगरी अजय भेलेको विभिन्न १९ ओटा बैंक खाताको कारोबार विवरण माग गरिएकोमा हालसम्म प्राप्त भएका पाँच ओटा बैंक खाताको विवरणमा निजले करिब छ महिनाको अवधिमा ६० लाख २९ हजार ९१५ रुपैयाँ कारोबार गरेको खुल्न आएको र अन्य बैक खाताको विवरण प्राप्त हुने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

वानएक्स बेटबाट हुने गरेको कारोबार र क्रिप्टो करेन्सीको कारोबार समेत एक आपसमा अन्तरसम्बन्धित रहेको देखिएको प्रहरीले उक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

https://u16p.com/osjjs9nivt