फेसबुकको मातृ कम्पनी मेटाले थर्ड पार्टीलाई प्रयोगकर्ताको डेटा अनुमतिबिना बिक्री गरेको आरोप स्वीकार्दै सात सय २५ मिलियन डलर (९५ अर्ब भन्दा बढि ) रकम तिर्न तयार भएको छ । ​

सन् २०१६ मा फेसबुकले आठ करोड ७० लाख प्रयोगकर्ताको डेटा उनीहरूको अनुमतिबिना थर्ड पार्टी कम्पनी क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको आरोप लागेको थियो । उक्त डेटा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको २०१६ को चुनावी अभियानसँग प्रत्यक्ष रूपमा जोडिएको बताइएको थियो ।

सोही आरोपमा सन् २०१८ मा फेसबुक विरुद्ध मुद्दा परेको थियो । यही आरोपलाई स्वीकार गर्दै मेटाले जरिवाना तिर्नको लागि तयार भएको हो ।

फेसबुकले थर्ड पार्टीलाई प्रयोगकर्ताको सहमति बिना उनीहरूको फेसबुक सामग्री र जानकारीमा पहुँच प्रदान गरेको भन्दै विभिन्न व्यक्तिले मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको पछाडि रहेको कानुनी कम्पनीका अनुसार फेसबुकले थर्ड पार्टीको पहुँच र त्यस जानकारीको प्रयोगलाई पर्याप्त रूपमा अनुगमन गर्न असफल भएको थियो ।

 

यो विवादकै कारण क्यामब्रिच एनालिटिका सन् २०१८ मा बन्द गरियो । फेसबुकको डेटा प्रयोग गरेर चुनावी अभियानलाई प्रभाव पारेको भन्दै उक्त कम्पनीलाई बन्द गर्न लगाइयो । यही काण्डले फेसबुकको लोकप्रियतामा पनि ह्रास आएको थियो । फेसबुकले आफ्नो कम्पनीको नाम मेटा राख्नुका पछाडि पनि यो काण्ड प्रत्यक्ष रूपमा जोडिएको आरोप छ । फेसबुकले आफ्नो मातृ कम्पनीको नाम मेटा राखिसकेपछि लगातार ओरालो लागिरहेको छ । विशेषगरी टिकटक जस्तो प्रतिद्वन्द्वीको उदय र एप्पलको नीति परिवर्तनले गर्दा कम्पनीले अर्बौंको घाटा सामना गरिरहेको छ ।

https://u16p.com/lwcov1lwbo