आन्तरिक राजस्व विभागले बैंक तथा अनलाइन प्रणालीबाट मात्रै कर तथा राजस्व भुक्तानी गर्न अनुरोध गरेको छ । पछिल्लो समयमा नक्कली बजार अनुगमन गरि नक्कली अधिकृतहरूले विभागको नाम सर्वसाधारणबाट नगद कर उठाउने घटनाहरू आएपछि विभागले यस्तो अनुरोध गरेको हो । 

विभागले एक सूचना जारी गर्दै कर भुक्तानी बैंक र अनलाइन प्रणालीबाट मात्र लिने व्यवस्था भएको कारण कुनै पनि व्यक्ति वा टोलीले नगद भुक्तानीको माग गरेमा नदिन आग्रह गरेको छ । 

अहिले विभागले बजार अनुगमनको लागि आफू मातहातका कार्यालय र करदाता सेवा कार्यालयहरूबाट कर अधिकृत सहितको टोली खटाएको छ । यस्तोमा कर परिपालन सम्बन्धी आवश्यक कागजात जाँच तथा रुजु गर्ने र कर परिपालन गरेको नदेखिएमा प्रचलित कर कानुन बमोजिम कारबाही हुने गरेको छ । 

उक्त कारबाही वापत तिर्नुपर्ने रकम साथै कर रकमको भुक्तानी राजस्व संकलन गर्ने बैंक वा अनलाइन भुक्तानी प्रणालीबाट मात्र हुने व्यवस्था भएकोले यी माध्यम बाहेक अन्यबाट भुक्तानी नगर्न आग्रह गरिएको छ । 

गत महिना नेपाल प्रहरीले गोंगबु लगायतका क्षेत्रमा राजस्व कार्यालयबाट खटिएको कर्मचारी भन्दै व्यापारी तथा फुटपाथ व्यवसायीहरूसँग करको नाममा नगद उठाउने एक टोलीलाई पक्राउ गरेको थियो । उक्त टोलीले सरकारी ड्रेस र परिचपत्र सहित आफूहरू अनुगमनमा आएको भन्दै करको नाममा व्यावसायीहरूबाट रकम उठाउने गर्दै आएका थिए । 

अहिले विभागले आफ्नो टोली अनुगमनको लागि खटाइएको व्योहोरा खुलाउँदै भुक्तानीको लागि वास्तविक टोलीले स्थलमा रकम माग नगर्ने भएको हुँदा आफ्नो भुक्तानी अनलाइन माध्यमबाट नै तिर्न आग्रह गरेको हो ।  

https://u16p.com/dloaewd8y9