सरकारले लाइन लाग्नुपर्ने बाध्यता हटाउन निर्देशन दिएको महिना दिन पुग्नै लाग्दा पनि राहदानी विभागमा हुने भिड अझै हट्न सकेको छैन ।

सेवाग्राही घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता उस्तै रहेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले भिड व्यवस्थित गर्न निर्देशन दिनुभएको थियो । तर राहदानी विभागबाहिर पासपोर्ट बनाउनेहरुको भिड अहिले पनि उस्तै देखिन्छ ।

सरकारले पटक पटक निर्देशन दिएपछि राहदानी बनाउन केही सहज हुने भयो भन्ने सेवाग्राहीको आश रहे पनि अझैसम्म निर्देशन कार्यान्वयन नहुँदा निराशा छ । घण्टौँ उभिँदा पनि पालो पाउन नसक्ने अवस्था रहेको गुल्मीको धुर्कोट गाउँपालिकाकी शान्ता जिसिको गुनासो छ ।

राहदानी बनाउन पहिले जे समस्या थियो, अहिले पनि उस्तै समस्या रहेको उहाँको भनाइ छ । अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमट्रिक गर्ने समय पाउनै मुस्किल छ । त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या छ । निःशुल्क भर्न मिल्ने फारामका लागि पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको राहदानी विभागमा भेटिएका रामेछाप मन्थलीका सरोज राईले बताउनुभयो । राहदानी विभागकै वरिपरि रहेका साइबरहरुले भने मनग्य पैसा लिएर अनलाइन आवेदन भरिदिने गरेका छन् ।

जिल्लाबाटै राहदानी बनाउन मिल्ने भए पनि छिटो चाहिनेका लागि काठमाण्डौको राहदानी विभाग नै आउनुपर्छ । बेलाबेला पर्ने सरकारी बिदा, विभागभित्रको प्राविधिक समस्या र कर्मचारिको ढिलासुस्तीले पनि छिटो काम हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

राहदानी विभागकी प्रवक्ता तथा निर्देशक दुरुपदा सापकोटाले भने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्ने पहल भइरहेको दाबी गर्नु भएको छ । उहाँका अनुसार भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी छ। कार्ययोजना खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने विभागका प्रवक्ता सापकोटाले बताउनुभएको छ । अबको दुई/तीन महिनामा देखिने गरी सुधार हुने उहाँको दाबी छ।

https://u16p.com/alpwpuuvps