धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जालमा आफ्ना धेरै फेक अकाउन्ट पाएपछि सचेत रहन आग्रह गरेका छन् । मेयर राईले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् । 

उनले नक्कली अकाउन्ट बनाएर आफ्नो नाममा जथाभावी लेख्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

सामाजिक सञ्जालमा आफ्ना नामका २०० भन्दा बढी नक्कली अकाउन्ट भएको बताउँदै उनले आफूले चलाएको सामाजिक सञ्जालका अकाउन्ट बाहेक अन्यबाट पोस्ट भएका विषयवस्तुमा आफ्नो कुनै सरोकार नहुने बताए । 

मेयर राईले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, "सामाजिक सञ्जालमा मेरा २०० भन्दा धेरै फेक आईडी छन् । मैले चलाएको यो ट्वीटर र फेस्बुकका प्रोफाइल भन्दा बाहेकका आईडीमा हालिएका पोस्टसगँ मेरो कुनै सरोकार हुनेछैन । मेरो नामबाट जथाभावी लेखेको पाइएमा कानुनी कारबाहीको प्रक्रियामा पनि जानेछु।"

स्वतन्त्रबाट स्थानीय चुनाव जितेका मेयर राई सामाजिक सञ्जालमा आफै पनि निकै नै सक्रिय छन् । साथै विभिन्न कारणले उनी समय-समयमा सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छन् । 

यही कुराको फाइदा उठाउँदै मेयर राईको नाममा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा राईको नाम र तस्बिर दुरुपयोग गरी अकाउन्ट बनाउने र देशको राजनीतिक तथा आर्थिक पक्षहरूमा जथाभावी पोस्ट गर्ने लगायतका गतिविधि भइरहेका छन् । 

https://u16p.com/d4rc3wwenu