अब त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा निःशुल्क रुपमा इन्टरनेट उपलब्ध हुने भएको छ । यी क्याम्पसहरूमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउनका लागि नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित विश्वविद्यालयबिच आइतबार सम्झौता भएको हो ।

उक्त समझदारी पत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष पुरुषोत्तम खनाल तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. पेशल दाहाल र नेपाल संस्कृत विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार माधव अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याइने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरण अनुसार यो परियोजना अन्तर्गत दुई वर्षसम्मका लागि उक्त स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध हुनेछ । भने, दुई वर्ष पश्चात् भने सम्बन्धित क्याम्पसहरू आफैले सेवा प्रदायकबाट प्राधिकरणले तोकेको मूल्यमा इन्टरनेट खरिद गर्नुपर्ने जनाइएको छ । यसले प्रविधिको प्रयोग मार्फत विश्वविद्यालयबाट प्रवाह भइरहेको शैक्षिक कार्य थप व्यवस्थित हुने र वैकल्पिक सिकाइमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

https://u16p.com/a4ircmhtnq