आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको दौड दिनानुदिन तीव्र बनिरहेको छ । हालै बिंग सर्च इन्जिनलाई ChatGPT सँगै लञ्च गरेर माइक्रोसफ्टले सर्च इन्जिन गुगलको वर्षौंदेखिको साम्राज्यलाई चुनौती दियो । त्योसँगै यस्तो लागिरहेको थियो कि सर्च इन्जिनको क्षेत्रमा माइक्रोसफ्टले बाजी मारेको छ । तर गुगलले आफ्नो नम्बर वानको ताज सजिलै नछाड्ने देखिएको छ ।

गुगलले आफ्नो विभिन्न वर्कस्पेस एपहरुमा आर्टिफिसियल इन्टेलिजेन्स फिचर्स जोडेको छ । अर्थात् अब Google Docs, Gmail, Google Sheets, Google Slides जस्ता प्लाटर्फममा आर्टिफिसियल इन्टेलिजेन्स फिचर्स उपलब्ध हुनेछन् । एक ब्लगमार्फत् गुगलले उक्त जानकारी गराएको हो । गुगलले यसअघि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट Google Bard  घोषणा गरेको थियो ।

गुगलले सर्च इन्जिनदेखि म्यापसम्मका सर्भिस उपलब्ध गराएको छ । पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्सले प्रविधिका सबै क्षेत्रमा एउटा नयाँ तीव्रता ल्याइदिएको परिप्रेक्ष्यमा गुगलले पनि त्यसलाई अबलम्बन गरेको हो ।

आफ्ना विभिन्न सर्भिसहरुमा यसअघि नै आर्टिफिसियल इन्टेलिजेन्सले प्रयोगकर्तालाई सहयोग गरिरहेको गुगलले उल्लेख गरेको छ । उसका अनुसार जिमेलमा स्मार्ट कम्पोजर होस् वा स्मार्ट रिप्लाई होस् अनि गुगल डक्समा Summary होस् वा कुनै मिटिङलाई प्रोफेसनल बनाउने काममा होस् आर्टिफिसियल इन्टेलिजेन्सले प्रयोगकर्तालाई सहयोग गरिरहेको छ ।

ब्लग पोस्टमा गुगलले भनेको छ – हामी workspace प्रयोगकर्ताका लागि आर्टिफिसियल इन्टेलिजेन्स क्षमता थप्दै छौं जसको उपयोगबाट प्रयोगकर्ताले create, connect तथा collaboration को क्षेत्रमा यसअघि कहिल्यै पनि प्राप्त गर्न नसकेको अनुभव महसुस गर्नेछन् ।

सबैभन्दा पहिले गुगलले गुगल डक्स तथा जिमेलमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित लेखन फिचर थप गरेको छ । यद्यपि यो फिचर अहिले नै सबै प्रयोगकर्ताका लागि उपलब्ध छैन । यसलाई केही निश्चित प्रयोगकर्ताका लागि परीक्षणका लागि सुरु गरिएको छ । हालका लागि यो अंग्रेजी भाषा तथा अमेरिकी प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । जसबाट पृष्ठपोषण लिएर सुधार गरी सबै आम प्रयोगकर्ताका लागि सो फिचर उपलब्ध गराउने गुगलको योजना छ  ।

यो फिचरले कसरी काम गर्दछ ?

मानौं तपाईं जिमेल वा गुगल डक्स प्रयोग गरिरहनु भएको छ । यदि तपाईंले केही विषयमा लेख्नुछ भने सबैभन्दा पहिले उक्त शीर्षकका बारेमा लेख्न सुरु गर्नु पर्दछ । त्यसपछि सो विषयमा एक मस्यौदा देखा पर्दछ । अब प्रयोगकर्ताले सो ड्राफ्टलाई तानेर त्यसमा आफ्नो तरिकाले सम्पादन गर्न सक्नेछन् । यसले प्रयोगकर्ताको कामलाई सजिलो बनाउनेछ ।

नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचरसँगै जिमेलमा इमेल ड्राफ्ट गर्न, जवाफ फर्काउन तथा इमेललाई प्राथमिकीकरण गर्न सहज हुनेछ ।

त्यस्तै गुगल डक्समा प्रूफ रिड गर्न, लेखन तथा पुनर्लेखन गर्न पनि सजिलो हुनेछ । त्यस्तै कुनै तस्वीरका लागि क्रिएटिभ भिजन लगायतका विभिन्न नयाँ फिचर पनि उपलब्ध हुनेछन् ।

https://unelma.io/QSKHZ