नेपालमा खाना पकाउने ग्याँसको आयात घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँस आयातमा गिरावट देखिएको हो । बिजुली प्रयोगमा उपभोक्ताहरु अभ्यस्त हुँदै जाँदा ग्याँसको प्रयोग घट्न थालेको हुनसक्ने निगमको अनुमान छ ।

विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को ८ महिनाको तथ्यांकअनुसार गत वर्षको तुलनामा १ करोड ९२ लाख किलोले खाना पकाउने ग्याँसको आयात घटेको हो । जसलाई सिलिण्डरमा हिसाब गर्दा करिब १३ लाख ५२ हजार ११२ गोटा सिलिण्डर हुन आउँछ ।

भन्सार विभागका अनुसार चालु आवको फागुनसम्म ३८ अर्ब ७२ करोड रुपैयाँको ३४ करोड ८ लाख ५६ हजार किलो खाना पकाउने ग्याँस आयात भएको छ । गत वर्ष समीक्षा अवधिमा ४० अर्ब ६४ करोड रुपैयाँको ३६ करोड ३४ हजार किलो ग्याँस आयात भएको थियो । यस वर्ष गत वर्षको तुलनामा एक अर्ब ९१ करोड ५३ लाख रुपैयाँले ग्याँसको आयातमा संकुचन आएको हो ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार ग्याँसको आयात करिब ६ प्रतिशतले घटेको छ । सम्भवतः शहरमा धेरै मात्रामा खपत हुने ग्याँसलाई विद्युतीय चुल्होले विस्थापित गरेको हुनसक्ने उनले बताए । ‘यसबारे अध्ययन गर्नु पर्ने देखिन्छ, सम्भवतः पहिलो पटक ग्याँसको आयात कम भएको हो,’ प्रवक्ता उपाध्ययले भने, ‘विद्युतीय चुल्होको प्रयोगमा मानिसहरु अभ्यस्त भएको पनि हुनुपर्छ ।’

निगमकाअनुसार देशभर १ करोड २१ लाख ग्याँसको सिलिण्डर छन् । दैनिक एक सिलिण्डर सरदर ग्याँस बिक्री भइरहेका छन् । तर, कोभिड–१९ महामारीमा समेत नघटेको ग्याँसको आयात यसपाली घट्नु चाहिँ अचम्म भएको निगमका अधिकारीहरु बताउँछन् ।

ग्याँस बिक्रेता व्यवसायीहरु पनि शहरमा ग्याँसको खपत वृद्धिमा रोक लागेको बताउँछन् । पहिलेको तुलनामा शहरमा ग्याँसको खपत वृद्धिमा कमी भएको नेपाल ग्याँस उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।

तर, तराई र पहाडी क्षेत्रमा बढेको ग्याँसको खपत र फैलावटका कारण समग्र आयात नै खस्किएको हुनसक्नेतर्फ भने उनले आशंका व्यक्त गरे । ‘गत जनवरी महिनामा मात्रै नेपालमा ४७ हजार २५० मेट्रिकटन ग्याँस आयात भएको छ, यो निकै ठूलो परिमाण हो,’ भण्डारीले भने, ‘नेपालको शहरी क्षेत्रको भन्दा गाउँ र तराईमा ग्यासमा फैलावट उच्च छ, त्यसकारण पनि आयातै घट्यो भनिहाल्न कठिन छ ।’

बढ्दो इन्डक्सन आयात

ग्याँसको आयात घट्नु र इन्डक्सनको आयात बढ्नुले कतै न कतै नेपालीहरु बिद्युतीय चुल्होमा अभ्यस्त हुन खोजेको संकेत मिल्छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले गतवर्ष भन्दा एक लाख ४ हजार ९१२ थान बढी इन्डक्सन हिटर तथा इन्फ्रारेड चुल्हा खरिद गरेको छ ।

चालु आवको समीक्षा अवधिमा ३२ करोड ५९ लाख ९ हजार रुपैयाँको एक लाख ६२ हजार २३५ थान इन्डक्सन र इन्फ्ररेड चुल्हो नेपाल भित्रिएको छ । गत वर्ष यही अवधिमा ११ करोड ६५ लाख ७३ हजार रुपैयाँ बराबरको ७५ हजार ३२३ थान यस्ता विद्युतीय चुल्हो नेपाल भित्रिएको थियो ।

https://unelma.io/mOptG