वीरगञ्ज भन्सार कार्यालयले फागुन महिनामा लक्ष्यको करिब आधा मात्र राजस्व संकलन गरेको छ ।

भन्सार विभागले फागुन महिनामा कार्यालयलाई २३ अर्ब ४ करोड ५० लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकामा १२ अर्ब ५२ करोड ५ लाख ५८ हजार रुपैयाँ मात्रै संकलन गर्‍यो ।

कार्यालयले आयात निर्यात गर्दा लिने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, सडक मर्मत तथा सुधार, सडक निर्माण तथा सम्भार दस्तुर तथा भन्सार सम्बन्धी अन्य आय संकलन गर्दै आएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० (साउन २०७९ देखि असार २०८०) सम्म १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार लक्ष्य लिएको छ ।

जसमध्ये साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा १ खर्ब १ अर्ब ५३ करोड ८० लाख ७६ हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको करिब ६० प्रतिशत हो ।

वीरगञ्ज भन्सार कार्यालयबाट सवारी साधन र त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, भटमास, सुर्यमुखीको कच्चा तेल, औद्योगिक मेसिनरी तथा कच्चा पदार्थ, तयारी कपडा, कोइला, लुब्रिकेन्ट आयल, धान, प्लाष्टिकका सिट, फलामे तार, पोलिथिन दाना, श्रृंगारका सामान लगायत वस्तु आयात हुन्छ ।

त्यस्तै स्पोर्टस् सुज (सेन्थेटिक सुज), जुस, जाम, खुदो, आल्मोनियम, छड डण्डी, जमोठ, कपडा, सीआरसिट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामान लगायतका वस्तु निकासी हुने गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत रामचन्द्र शर्मा ढकाल सामान आयातमै कमी आउँदा राजश्व संकलनको लक्ष्य पूरा हुन नसकेको बताउँछन् ।

‘सामान निर्यातबाट खासै राजश्व संकलन हुँदैन, आयातकै भर हो । राजश्वमा मुख्य योगदान दिने सवारी साधन आयात उत्साहजनक छैन । खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ, कपडा लगायत सबै मालबस्तुको आयात घटेको छ । त्यसैको असर राजश्व संकलनमा देखिएको हो’, उनले भने ।

देशकै मुख्य भन्सार नाकामध्येको एक हो वीरगञ्ज । यहाँ वीरगञ्ज भन्सार, एकीकृत सुरक्षा जाँच चौकी र सुख्खा बन्दरगाह भन्सार कार्यालय गरी तीन ठाउँबाट राजश्व संकलन हुन्छ । तर यी भन्सार कार्यालयहरुले संकलन गर्ने राजश्व भने निरन्तर ओरालो लाग्दै गएको छ ।

सुख्खा बन्दरगाहको अवस्था पनि उस्तै

वीरगञ्जकै सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले फागुन महिनामा लक्ष्यको ५७.६५ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । ५ अर्ब ९९ करोड ७० लाख ३१ हजार २ सय ४९ रुपैयाँ लक्ष्य पाएकोमा उसले ३ अर्ब ४५ करोड ७३ लाख ८४ हजार ८ सय ३० रुपैयाँ मात्रै संकलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको लक्ष्य पनि भेट्टाउन सकेको छैन । फागुन मसान्तसम्ममा ४३ अर्ब ८३ करोड ३२ लाख ५७ हजार ३४ रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले २८ अर्ब ६६ करोड २४ लाख ६६ हजार ८ सय ८७ रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ६५.३९ प्रतिशत मात्रै हो ।

भारतीय रेलमार्गसँग जोडिएको यो भन्सार कार्यालयले खाद्यान्न मकै, वनस्पति घ्यू तथा बोसो– बेकरी सर्टेनिङ, जीवजन्तुको दाना फिड सप्लिमेण्ट, माल्ट, रबर प्लाष्टिकका जुत्ता चप्पल, कम्युटर, प्रशोधित पाम आयल आयातबाट राजश्व संकलन गर्ने गरेको छ ।

मदिरा, तोरी, चिनी, जिपकार भ्यान पिकअप, मोटरसाईकल लगायत सवारी साधनहरु, हार्डवेयर, इलेक्ट्रोनिक्सका सामान औद्योगिक कच्चा पदार्थ पनि यहि भन्सार नाका हुँदै आयात हुने गरेको छ ।

भारतको विशाखापटनम र कोलकाता हुँदै तेस्रो मुलुकबाट आउने वस्तु पनि सुख्खा बन्दरगाह कार्यालय हुँदै आउँछ ।

सरकारले विलासी वस्तु आयातमा विगतमा लगाएको प्रतिबन्ध र परिमाणत्मक बन्देज, बैंकिङ प्रक्रियामा भएको नगद मार्जिन जस्ता प्रबन्धले सामान आयात घटेर राजश्व संकलन कम भएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकारीहरु बताउँछन्

०७९ साउनदेखि पुस महिनासम्मको तथ्यांक विष्लेषण गर्दा मदिरा, सवारी साधन, टेलिभिजन, मोटरसाइकल, चिनी, सुपारी, मरिच, केराउ लगायत वस्तुको आयातमा धेरै कमी आएको र कतिपय वस्तु आयात नै हुन नसकेको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत सन्तोष कुमार न्यौपानेले बताए । विगतमा सरकारले लगाएको प्रतिबन्ध खुकुलो बनाइएकाले अब आयात पुनः बढ्न थाल्ने र लक्ष्य अनुसार राजस्व संकलन हुने उनको आशा छ ।

‘राज्यले सुविधा प्रदान गरेका मालवस्तु स्पन्ज आइरन, आइरन स्क्र्याब, क्रुड आयलको आयात बढेको देखिन्छ । भन्सार दरमा सुविधा दिइएकाले यसले राजश्व वृद्धिमा उल्लेख्य योगदान गर्दैन’, उनले भने, ‘मोबाइल, नेटवर्किङ तथा इन्टरनेट प्रयोग गर्न आवश्यक पर्ने वस्तुको पनि आयात वृद्धि भएको छ । मदिरा खुलेपछि राजश्व संकलनमा सकारात्मक नै योगदान पुगेको छ ।’

प्रतिबन्ध खुलेपछि अर्डर भएका बस्तु आइपुग्न ३० देखि ६० दिन लाग्ने हुनाले वैशाखदेखि मात्र राजस्वमा सुधार हुन सक्ने भन्सार कार्यालयका अधिकारीहरुको अनुमान छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले कारोबार नै घटेकाले राजश्व संकलनमा असर देखिएको बताए ।

‘आर्थिक गतिविधि नै कम देखिएको छ । बैंकले व्यापारमा लगानी गर्न सकेको छैन । त्यसले गर्दा वस्तुको आयात घटेको छ’, उनले भने ‘भन्सारको राजश्व आयातमा निर्भर छ, मालवस्तु आयात नै कम भएपछि राजश्व संकलन पनि घट्ने नै भयो ।’
https://unelma.io/EPnnM