नयाँ साल लागेपछि नगद कारोबार ह्वात्तै बढेको छ। चैतसम्म पनि नगद कारोबार घटिरहेकोमा वैशाख लागेपछि ह्वात्तै बढेको हो।

गत दसैंतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमश: घटिरहेको थियो, तर माघ र फागुनमा केही बढे पनि ठूलो परिमाणमा थिएन। चैतमा ३ अर्ब ६० करोडले घटेको थियो। तर वैशाखमा भने १२ अर्ब १० करोड ९८ लाख रुपैयाँले बढेको छ।

नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार वृद्धि गरेको विश्लेषण गर्न सकिन्छ भने अनौपचारिक बजारमा पैसा जान थालेको पनि अनुमान गर्न मिल्छ।

नेपाल राष्ट्र बैंकले वैशाखको तथ्यांक सार्वजनिक नगद कारोबार बढेको जनाएको छ।

बजारमा माग घटेको र बिक्री भएको सामानको पनि पैसा नउठ्ने समस्या कायमै छ। तरलता अभावसँगै बढेको ब्याजका कारण महँगी बढेको छ। अर्कोतिर डलरसँगै पेट्रोलियमको भाउ पनि तुलनात्मक रुपमा माथि नै छ। अन्तर्राष्ट्रिय आर्थिक गतिविधि पनि घटेर आन्तरिक बजार प्रभावित भइरहेको छ।

व्यवसायीहरुले उत्पादनको माग नबढेको, बैंकहरुले खराब ऋण वृद्धि हुँदै गएको, राष्ट्र बैंकले महँगी उक्लिएको तथ्यांक प्रस्तुत गरिरहँदा नगदको कारोबारमा वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थामा भएको नगदलाई चलनचल्तीको पैसाका रुपमा बुझिँदैन। बैंकिङ प्रणाली बाहिर मान्छेको हातहातमा पुगेको, सहकारी, अन्य संघ संस्थालगायतसँग भएको पैसालाई चलनचल्तीको नोटका रुपमा बुझिन्छ।

यस्तो पैसा बढ्नुको अर्थ सर्वसाधारणले आफैंसँग पैसा राख्ने क्रम वृद्धि भएको बुझाउँछ। पछिल्ला दिन सहकारीदेखि बैंकसम्म नै नगद कारोबारमा हिनामिना भएको खबरहरु सार्वजनिक भएको छ। त्यसले पनि नगद आफैसँग राख्ने प्रबृत्ति बढेको देखिन्छ।

u16p.com/t7qopxfbo4