काठमाडौँ — भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त बनाएको दाबी गरेको छ । मंगलबार बिहान गरिएको उक्त आक्रमणको पाकिस्तानले पनि पुष्टि गरेको छ ।

 
भारतीय विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेरै वायु सेना प्रयोग गरेका आक्रमण गरेको पुष्टि गरे । उनले बालाकोट भन्ने स्थान पाकिस्तान शासित काश्मिरमा रहेको वा भारतीय भुभागमै पर्ने बारे कुनै टिप्पणी भने गरेनन् ।

 

उनले भारतीय सुरक्षा संयन्त्रले जैशे-मोहम्मदका आतंकवादीहरुले पुन: आक्रमण गर्ने सूचना पाएपछि त्यसलाई निस्तेज बनाउन आक्रमण गर्नु परेको दाबी गरेका थिए । सचिव गोखलेका अनुसार हवाई हमलाबाट जैशे-मोहम्मदका थुप्रै आतंकवादीहरुसहित कमाण्डरको पनि मृत्यु भएको दाबी गरेका थिए ।

उता पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनेरल असिफ गफुरले ट्वीट गर्दै भारतीय लडाकू विमानले पाकिस्तानी सीमामा अवैध घुसपैठ गरेको र पाकिस्तानी वायु सेनाले जवाफी कारवाही गरेसँगै बालाकोटमा बम खसालेर भागेको बताएका छन्। उनको अनुसार खसालिएको बमबाट कुनै जनधनको नोक्सानी भएको छैन।


उता भारतीय पक्षले भने बम आतंकवादीको अखडामा खसालेको र त्यसले उनीहरुको सञ्चार सम्पर्क गर्ने केन्द्र तथा तालिम क्षेत्र ध्वस्त भएको दाबी गरेको छ।


भारतको काश्मिरस्थित पुलुवामामा भएको आत्मघाती आक्रमणमा परी ४६ जना सीआरपीएफका जवानहरुको मृत्यु भएसँगै भारत-पाकिस्तानको सम्बन्धमा चिसोपना आएको छ।

भारतीय पक्षले पाकिस्तान माथि हमाल नै गर्नुपर्ने तर्क राखिरहेका छन् भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले आक्रमण गरे त्यसको कडा जवाफ दिने बताएका छन्।