फागुन २९ –निजी क्षेत्रबाट देशकै ठूलो अर्बुदरोग अस्पताल स्थापना हुने भएको छ । जिल्लामै रहेको सरकारी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी अध्यक्ष र कार्यकारी निर्देशक भई काम गरिसक्नुभएका डा भक्तमान श्रेष्ठको नेतृत्वमा अस्पताल निर्माण गर्न लागिएको हो ।न्युटन हस्पिटलको नामबाट सञ्चालन हुने सो अस्पताल भरतपुर महानगरपालिका–८ सल्यानी टोलमा तीन बिघा ११ कट्ठा जग्गामा निर्माण गर्न लागिएको हो । न्युटन हस्पिटलका सञ्चालक डा भक्तमान श्रेष्ठका अनुसार रु चार अर्बको लगानीमा दुई वर्ष नौ महीनामा काम सम्पन्न गर्ने गरी निर्माण थालिएको हो ।

भवनको शिलान्यास डा श्रेष्ठका ८८ वर्षीय पिता चन्द्रमान श्रेष्ठले आज गर्नुभयो । कूल ५० चिकित्सकसहित ६३ जनाको समूहले अस्पतालमा लगानी गरेको छ । अस्पतालको मुख्य लगानीकर्ता हाल डा श्रेष्ठ अध्यक्ष रहेको नारायणी सामुदायिक हस्पिटल रहेको छ । जम्मा ३५० श्ययाको अस्पताल बनाइने बताउँदै उहाँले रेडियो, केमो थेरापी, पेट स्क्यान, कार्डियोसहित उच्चस्तरीय सर्जरी प्रविधि प्रयोगमा ल्याइने बताउनुभयो ।

बर्सेनी ४० हजार नयाँ क्यान्सरका बिरामी थपिने भए पनि सरकारी अस्पतालले चार हजार हाराहारी मात्रै हेर्दै आएको उहाँले बताउनुभयो । भारत, सिङ्गापुर, थाइल्याण्ड जस्ता देशमा उपचारका लागि जाने बिरामीलाई रोक्न अस्पताल सक्षम हुने सञ्चालकको दावी छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष नारायणसिंह कुँवरले अरु जग्गासमेत थपेर अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल निजी क्षेत्रबाट शुरु गर्न लागिएको बताउनुभयो । अस्पतालमा क्यान्सर सय र साधारण दुई सय श्यया सञ्चालन गर्ने तयारी गरिएको छ ।रासस

 

https://kalikanews.com/archives/118087