२४ चैत, काठमाडौं । कुनै समय पश्चिमी पहाडी जिल्लाहरुमा नुन र मट्टीतेलको ब्यापार गर्ने नारायणगढलाई विगतको ७ दशक निकै फलिफाप भयो । निरन्तर ब्यापारको बढ्दो क्रमले नारायणगढलाई फाइदा नै फाइदा गरिरह्यो । पूर्व-पश्चिमबाट आएर राजधानी काठमाडौं र पोखरा आउजाउ गर्नेहरुका लागि पनि केन्द्रका रुपमा नै नारायणगढलाई लिने गरिन्छ । तर, समय सधैँ एउटै रहँदैन, नारायणगढ बजारले अब ब्यापारको पुरानोखालको दबादबा गुमाएको छ ।

अब नारायणगढ बजारलाई अरु बजारहरुले चुनौती दिएका छन् । चितवनको बढ्दो व्यवसायिक गतिलाई अरु बजारहरुले पनि पछ्याएपछि नारायणगढ बजार दुब्लाएको छ ।

विगतमा नारायणगढ पुरै चितवनको मात्रै हैन, अन्य छिमेकी जिल्लाको पनि ब्यापारिक केन्द्र थियो । अब भने विस्तारै अन्य बजारहरुले उपभोक्तालाई नारायणगढ आउनै नपर्ने गरी ब्यापार व्यवसायको रफ्तारलाई बढाएका छन् ।

ठाउँठाउँमा नारायणगढ बजारको विकल्पजत्तिकै क्षमतामा बजारहरु विस्तार भएपछि नारायणगढ बजारको रौनक पहिले जत्तिको छैन ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानको भनाइलाई मान्ने हो भने चितवनको बढ्दो शहरीकरणलाई पृष्ठभूमिमा राखेर हेर्दा जुन अनुपातमा नारायणगढ आजको दिनमा गुल्जार बन्नुपर्ने थियो, त्यसो हुन सकेन ।

त्यसका खास कारण छन् ।

साना ब्यापारीलाई अप्ठेरो

चितवनमा बसाइँ सरी आउने ठूलो जनसंख्याका कारण मात्रै नारायणगढको बजारलाई भरथेग गरेको छ । ब्यापारीहरुकै भनाइमा त्यसो नहुने हो भने अन्यथा यहाँको ब्यापार लड्खडाइसकेको हुने थियो ।

हाल बजार क्षेत्रका साना व्यापारी लगभग पलायन हुने खतरामा छन् । ब्यापारमा भारी मात्रामा गिरावट आउँदा टिक्नै समस्या भइरहेको ब्यापारीहरु बताउँछन् । एकातिर घरवेटीहरुले जथाभावी भाडा बढाएका छन् भने अर्कोतिर ब्यापार तीव्र रुपमा घट्दै छ ।

पछिल्लो तीन बर्षमा बजारको ब्यापार झन नाजुक बन्दै भएको अनुभव व्यवसायीहरुको छ ।

बालबच्चाका लागि खेलौना तथा कपडा बेच्दै आएका बेबी संसारका सञ्चालक कृष्णहरि तिमिल्सिना अब नारायणगढ बजारमा महंगो सटर लिएर खुद्रा ब्यापार गर्न सकिने अवस्था नरहेको बताउँछन् । बैंकबाट ऋण लिएर ब्यापार गरेको बताउने तिमिल्सिनाले पसल भाडा नै बुझाउन मुस्किल भएको अवस्थामा बैंकको किस्ता र ब्याजसमेत बुझाउन नसकिने अवस्था आएको बताए ।

‘अहिले ब्यापार छैन, अन्यत्रै सिफ्ट हुन थाल्यो’ तिमिल्सिनाले भने, ‘पसल कुर्ने, बुढो हुने र काल पर्खिने जस्तो मात्रै भएको छ ।’

बजार क्षेत्र बैंक, सुनचाँदी पसल र कन्सल्टेन्सीले भरिएका छन् । यिनैका कारण भाडा अति महंगो भएको छ ।

घरवहाल उपभोक्ता मञ्च चितवनकी अध्यक्ष पवित्रा जोशीको नारायणगढमा नै कपडा तथा कुर्तासुरुवाल पसल छ । पहिला दैनिक १५ देखि २० हजारको ब्यापार गर्ने जोशीले अहिले भने दैनिक ४ हजारसम्म मात्रै ब्यापार हुने गरेको बताइन् । उनले भनिन् ‘असाध्यै गाह्रो भयो, बेच्न खोजिरहेको छु, ब्यापार छैन दिनभरि कुर्दा पनि मान्छे आउँदैन,’ उनले भनिन् ।

कुनै निश्चित मूल्य नराखी ब्यापार गर्ने फेन्सी ब्यापारीको पनि हालत उस्तै छ्र्र । दैनिक उपभोग्य सामग्री बेच्नेहरुको कथा पनि फरक छैन ।

किन सुस्तायो नारायणगढ ?

नारायणगढ बजार मुख्यरुपमा भरतपुर महानगरपालिकाको वडा नः १, २ र ३ मा पर्छ । केही वर्ष अघिसम्म तनहुँ, लमजुङ, गोरखा, नवलपरासी, मकवानपुरसम्मका मानिसहरु सामान खरिदका लागि यहाँ आइपुग्थे । तर, पछिल्लो समयमा ती जिल्लाहरुबाट यहाँ सामान किन्न आउने मानिसहरुको संख्यामा ठूलो गिरावट आएको छ ।

ती जिल्लाका स्थानीय बजारहरुमा नै नारायणगढमा पाइने मूल्यमा छानी-छानी सामानहरु उपलब्ध हुन थालेपछि यहाँ आउनुपर्ने बाध्यता हट्यो ।

केही वर्षअघिसम्म बिहेवारी अन्य कर्मकाण्डमा कपडा लगायतका सामान किन्न नारायणगढ आउने मानिसहरु देखिन छाडेका छन् । देवघाटमा लाग्ने मेला भर्न आउँदा नारायणगढमा आएर सामान किन्ने चलन पनि हराउँदै गयो ।

अरु जिल्ला र छिमेकी नगरपालिकाबाट चाडपर्वमा लुगाफाटो किन्न आउनेहरु घटेका छन् । मेसिनरी पार्ट पूर्जा, कृषि औजार, बीउ बिजन र औषधि किन्न आउनेहरु पातलिँदै छन् । ब्यापारिक केन्द्र रहेको नारायणगढको चित्र पनि बदलिन थाल्दा साना ब्यवसायीहरु रन्थनिएका छन् ।

चितवन तीब्र गतिमा शहरीकरणको क्रममा छ । जिल्लामा नारायणगढ जस्तै ठूला ठूला बजार अन्यत्र पनि खुल्न थालेका छन् । उपबजारहरु बलिया बन्दा स्वभाविक रुपमा नारायणगढको बजार कमजोर हुने नै भयो ।

नुन, तेल, किराना सामान, कपडा, सुन, बीउ बिजन किन्न नारायणढ आउनुपर्ने बाध्यता हट्दै गएको छ । जिल्लाकै पूर्वी चितवनको टाँडी, खैरहनी पर्सा, भण्डारा, लोथर, खोलेसिमल, पदमपुरमा गज्जबको बजार बसिसक्यो ।

पश्चिम चितवनमा पनि बजारीकण तीव्र छ । मंगलपुर, चोकबजार, गीतानगर, रामपुर, चनौली, तेलौलीमा ठूला बजारहरु विस्तार हुँदै गएका छन् । दक्षिण पश्चिमको माडीमा पनि बजार विस्तार हुँदै गएको छ । जसले नारायणगढको पुरानो एकाधिकारलाई तोड्दैछ ।

केही बर्षअघिसम्म साना साना झुप्रामा सामान्य ब्यापार हुने खोलेसिमल बजारमा अहिले ठूला ठूला भवनहरु बनेका छन् । यति मात्रै होइन, भरतपुर क्षेत्रमा नै ठूला ठूला बिजनेस कम्प्लेक्सहरु निर्माण हुँदा नारायणगढको ओरालो झर्नुपर्ने वाध्यताको अन्त्य धेरैलाई भएको छ ।

भाटभटेनीको प्रगति, खुद्राको दुर्गति

०७३ वैशाखबाट भाटभेटनी सुपर मार्केट खुलेपछि नारायणगढ बजारका पुराना ब्यापारीको ब्यापारमा ठूलो धक्का लागेको छ । आधुनिक बजार कुरिरहेका उपभोक्ताका लागि बजारमा पसल-पसल चाहार्नुपर्ने बाध्यता हट्ने गरी भाटभटेनीले सेवा दिएको छ । जसले गर्दा परम्परागत रुपमा ब्यापार गरिरहेका ब्यापारीहरुले नोक्सानी नै बेहोर्नु परेको छ ।

नारायणगढ बजार क्षेत्रमा हुने खुद्रा ब्यापारको ३० देखि ४० प्रतिशत ब्यापारको हिस्सा भाटभटेनी सुपर मार्केटले लिने गरेको दावी यहाँका ब्यापारीको छ । भरतपुर आरोलोमा रहेको भाटभेटनी सुपरमार्केटमा रातको ९/१० बजेसम्म किनमेलको चहलपहल देख्न पाइन्छ ।

दिउँसको समयमा विभिन्न पेशा व्यवसायमा संलग्नहरु साँझको समयमा किनमेलका लागि भाटभटेनी पुग्ने गर्छन् ।

त्यसबेलासम्म नारायणगढका अधिकांश पसलहरु बन्द भैसकेका हुन्छन् । मध्यम तहको आम्दानी भएका मानिसहरुलाई यसले आर्कषित गरिरहेको छ । डिलर मूल्यमा नै समानहरु उपलब्ध गराउने कारणले यहाँ आकर्षण बढिरहेको देखिन्छ ।

साँझका बेला फुर्सद निकालेर सामान किन्न जानेहरुका भीड भाटभटेनी सुपरमार्केटमा बढ्दो छ । हरेक वर्ष आफ्ना ग्राहक र कारोबार बढ्दै गएको भाट भटेनी सुपर मार्केटका व्यवस्थापक सुनिल शाक्य बताउँछन् ।

बजारको भन्दा सुलभ मूल्यमा गुणस्तरीय समान दिएका कारण ग्राहकहरु आकषिर्त भएको शाक्यको दावी छ ।

‘दिउँसोको समयमा ग्रामीण भेगका मान्छेहरु बढी मार्केटमा आउनुहुन्छ’ व्यवस्थापक शाक्यले भने, ‘साँझको समयमा बजार क्षेत्र र नजिकका स्थानीयहरु बढी देखिनुहुन्छ ।’ भाटभटेनी विहान ७ बजेबाटै खुल्छ ।

नयाँ कम्प्लेक्स खुल्दै

अहिले भरतपुरको वीरन्द्र क्याम्पस चोक नजिकै १० तले ब्यापारिक भवन ‘सिजी ल्याण्डमार्क’ बनिरहेको छ । सञ्चालनको अन्तिम तयारीमा रहेको यो भवनमा सामान्य तरकारीदेखि दैनिक जीवनमा आवश्यक पर्ने अधिकांश वस्तु तथा सेवाहरु एकै ठाउँबाट उपलब्ध गराउने प्रवन्ध मिलाइने छ ।

सिजी ल्याण्डमार्कको ग्राउण्ड, पहिलो, दोस्रो र तेस्रो तलामा खुद्रा सपिङ सेन्टर हुनेछन् । कम्प्लेक्सको चौंथो र पाँचौ तलामा मल्टीप्लेक्स हल, फुड कोर्ट, गेमिङ जोन, कन्फ्रेन्स हल, ब्यांक्वेट लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । यसले पनि नारायणगढ बजारको ब्यापारमा थप धक्का दिने देखिएको छ ।

हालसम्म नारायणगढ बजारमा ठूला ब्यापारिक भवनहरू खासै बनेका छैनन् । अब भने ठूला घरानीयाहरुले नै भरतपुरमा यस्ता कम्प्लेक्स बनाउन सुरु गरेका छन् ।

एकै स्थानमा पुगेर धेरै सामान किन्ने उपभोक्ताको रुची बढ्दै गर्दा आजभोलि  ब्यापारको चेन साइकल बिस्तारै चुडिँदै जान थालेको छ ।

शैक्षिक, पर्यटकीय, मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा पछिल्लो समयमा खुलेका र खुल्दै गरेका व्यापारिक कम्प्लेसहरूले उपभोक्ताहरुलाई पर्याप्त छनौटको अवसर पनि प्रदान गर्ने छ ।

नारायणगढ बजारले आफूलाई समयको माग अनुरुप बदल्न सकेको छैन ।

नारायणगढको पोखरामा बसपार्कमा होटल इमेज चलाउँदै आएका राजेन्द्र पिया पहिले जस्तो ब्यापार हुन छाडेको बताउँछन् । ‘हिजोआज हरेक ठाँउ-ठाँउमा पार्टी प्यालेस र होटल खुलेका छन्, यहाँ आउनुपर्ने बाध्यता नै रहेन’ पियाले भने, ‘नारायणगढको ब्यापार र व्यवसायको चित्र बदलिएको छ ।’

चमेली विग बजारको बेबी संसारका सञ्चालक कृष्णहरि तिमिल्सिना नारायणगढका घरधनीहरुले ब्यापारिक भवन र कम्प्लेस बनाएर आधुनिक तवरले नसोच्दा यस्तो अवस्था आएको बताउँछन् ।

उनको भनाइमा घरधनीहरुले पुरानै ढर्राले सोच्दासम्म नारायणगढको ब्यापार ओरालो गतिमा नै गइरहनेछ ।

‘खै त बजारमा एउटा राम्रो स्थानीय तवरको सपिङ कमप्लेक्स ? कहिँ छैन’ तिमिल्सिनाले भने, ‘टिनको छाप्रो हालेर भाडा मात्रै उठाउने मानसिकताका छ, संर्कीणता छ, ग्राहकको रूची बुझ्ने प्रयास भएन ।’

‘गोदामघर’ बन्दै

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले पनि नारायणढ बजार क्षेत्रको ब्यापारमा अनपेक्षित गिरावट आएको स्वीकारे । केही वस्तुगत क्षेत्रको ब्यापार ज्यादै खस्किएको प्रधानको भनाइ छ ।

फेन्सी, निर्माण सामाग्री, रंगरोगनको ब्यापार निकै तल झरेको छ । अटोमोबाइलको ब्यापार ठिकै छ । तर, यसको पनि बजार विस्तारै गुमाउँदैछ नारायणगढले ।

यिनै कारणहरुले कतिपय खुद्रा ब्यापारीहरु पलायन हुँदै छन् । कतिपय बाध्यताबस होलसेल पसल खोल्न अग्रसर भएका छन् ।

बजार क्षेत्र बिस्तारै होलसेलमा केन्द्रित हुन थालेको छ । जिल्लाकै अन्य उपबजारहरुमा खुद्रा बिक्रीका लागि सामान पठाउन नारायणगढमा गोदाम खोल्नुपर्ने बाध्यता आइलागेको छ ।  यसरी ब्यापारको मोडल परिवर्तन नगर्ने ब्यापारीलाई टिक्न सहज छैन ।

नारायणगढ शहिद चोकको खरेल इलेक्ट्रिक्सका सञ्चालक एवम् विद्युत व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले बजारको ब्यापारमा टिकिराक्न बाध्य भएर थोक बिक्रेतामा परिवर्तन भएको बताए ।

‘गाउँ-गाउँमा बिजुलीको सामान बेच्ने पसल खुले, म पनि त्यही बेच्छु भनेर बस्न भएन, अब ति पसललाई सामान दिन होलसेल चलाए मात्रै म टिक्छु,’ अध्यक्ष खरेलले भने, ‘अब एउटा ब्यापारीलाई एउटा गोदाम आवश्यकता छ ।’

नारायणगढले पुरानो दबादबा गुमाए पनि अझै होलसेल बजार विस्तारको सम्भावनालाई पछ्याउन सक्ने देखिन्छ । तर, पुरानै आवासी प्रयोजनका घरमा पुरानै तवरबाट ब्यापार व्यवसाय गरिरहँदासम्म नारायणगढ बजारले फेरि गुल्जार बन्ने दिन फर्काउन सक्ने देखिएको छैन ।

सम्भावना के ?

नयाँ पुस्ताले अब आधुनिक किसिमको सेवा र व्यवसाय खोजिरहेको छ । नारयणगढमा अझै पनि काठमाडौं र पोखराले पस्किएका फरक तवरमा बिजनेसलाई भित्र्याएको छैन । चितवन नै शहरी वस्तीका रुपमा विकास हुँदै गर्दा शहरी उपभोक्ताको रुची अनुरुपका धेरै व्यवसायहरु भित्र्याउन सकिने सम्भावना छन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधान नयाँ सोचका साथ काम गर्न नसके नारायणगढमा व्यवसाय गर्न गाह्रो पर्ने बताउँछन् । अब पुरानो शैली र सोचलाई आधुनिक बनाएर उपभोक्ताले खोजेजस्तो सेवा दिन तयार बन्नुपर्ने अवस्था आएको उनको पनि बुझाइ छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

https://www.onlinekhabar.com/2019/04/756097