१३ वैशाख, पोखरा । अमर विककी छोरी अध्येता विक पोखरा सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन सेकेन्डरी स्कुल कक्षा ६ मा पढ्छिन् । अमेरिकामा पिएचडी गरिरहेका विक केही समयअघि रिसर्जका लागि नेपाल आउँदा छोरीको ‘त्रिज्योति मोरल एजुकेसन’ किताब हेरे ।

जब उनले छोरीको पाठ्यपुस्तक अध्ययन गरे तब उनलाई छाँगाबाट खसेजस्तै लाग्यो । छोरीले पढ्ने किताबभरि त्रुटि नै त्रुटि फेला प¥यो । त्यसपछि उनलाई लाग्यो, ‘प्राइभेट स्कुलले कसरी विद्यार्थीको शिक्षामा खेलवाड गरिरहेका छन् ?’

त्रिज्योति पब्लिकेसन, काठमाडौंबाट प्रकाशित ‘त्रिज्योति मोरल एजुकेसन’ नामक पाठ्यपुस्तक प्रा.डा. श्रीरामप्रसाद उपाध्याले लेखेका हुन् । उक्त किताब पोखरा क्षेत्रका लागि एम टु एम पुस्तक पसल, क्याम्पस गेटले वितरण गरेको विकले जानकारी दिए ।

पेज नम्बर ३ मा रहेको ‘गुड पिपुल’ पाठमा १५ वटाभन्दा बढी त्रुटि छन् । उक्त पाठमा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसभामुख ओनसरी घर्ती नामसमेत समेत गलत लेखिएको छ । उक्त किताबका अधिकांश पेजभरि गल्ती नै गल्ती भेटिएको अभिभावकको गुनासो छ ।

‘यो किताब पाठ्यक्रम, शिक्षण विधि वा सिकाइसम्बन्धी पटक्कै ज्ञान नभएको तथा अंग्रेजी र लेखाइसम्बन्धी पनि पटक्कै सीप नभएको मानिसले लेखेको हो भनेर ठोकुवा गर्न सकिन्छ,’ अभिभावक विकले भने, ‘एमए, एमएड र पिएडी होल्डर भनेर लेखकको परिचय दिइएको छ । यो कसरी हुन सक्छ ?’ उनले किताभरि नै गलत अर्थ लाग्ने वाक्य प्रयोग भएको दाबी गरे ।

पेज ५ मा रहेको ग्लोसरी (शब्दार्थ) मा पनि गम्भीर त्रुटि भेटिएको विकले बताएका छन् । ‘शब्द एकातिर छ । अर्थ अर्कातिर छ । यसरी त विद्यार्थीले गलत सिक्ने भए नि !’ उनले भने, ‘पोखरामा मात्रै दुई तीन निजी विद्यालयमा यो किताब पढाइ हुन्छ । देशैभरिका विद्यार्थीले गलत शिक्षा लिइरहेका छन् । शिक्षासँग सम्बद्ध निकायले छानबिन गर्न सक्दैन ?’

सोही स्कुलमा बच्चालाई भर्ना गरेका अभिभावक चेतनाथ अधिकारीको पनि उही गुनासो छ । ‘एक दुई गल्ती भए केही हुने थिएन । किताबैभरि गल्ती त गम्भीर कुरा भयो,’ उनले गुनासो गरे । पेजैपिच्छे गल्ती हुनु प्रकाशकको लापरबाही र स्कुलले समेत ध्यान नदिनु विद्यार्थीको भविष्यमाथिको खेलवाड भएको उनी बताउँछन् ।

अभिभावक अमर विकले आफूले किताबमा भएको त्रुटिबारे स्कुल तथा महानगरमा समेत कुरा राखेको बताए । ‘सम्बन्धित निकायलाई सूचित गराएँ । स्कुलले पाठ्यपुस्तक परिवर्तन गर्न वास्ता गरेन । महानगरले पनि हामी केही गर्न सक्दैनौं भन्छ,’ उनले गुनासो गरे ।

करुणानिधि एजुकेसन फाउन्डेसनका प्रिन्सिपल डिल्लीराम अधिकारीले उक्त किताब चालु शैक्षिक वर्षमामात्रै गल्ती छापिएर आएको बताए । उनले भने, ‘पहिले पनि यही किताब हुन्थ्यो । पहिले श्यामश्वेत हुँदा गल्ती थिएन । तर रंगीन कलेबरमा आउँदा मिस्टेक भएर आएछ ।’ उनले पाठ्यपुस्तक परिवर्तन गरेर नेपाल सरकारले नै तोकेको किताब पढाइ हुने बताए ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्माले मोरल एजुकेसन सेकेन्डरी पाठ्यपुस्तक भएकाले आफूहरुले ‘सुझाव मात्रै’ दिन सक्ने बताए । ‘प्राइमरी र सेकेन्डरी पाठ्यपुस्तक हुन्छन् । प्याब्सनले प्राइमरी पाठ्यपुस्तकमात्रै विज्ञ राखेर पढाउन सिफारिस गर्छ । नैतिक शिक्षा ऐच्छिक विषय प¥यो,’ उनले भने, ‘यसमा हामीले छलफल गरेर सुझावमात्रै दिन सक्छौं ।’

https://www.onlinekhabar.com/2019/04/761384