भरतपुर । चितवनमा पछिल्लो समय चोरीका घटना बढिरहेका छन् । भरतपुर–नारायणगढ क्षेत्रमा दैनिकजसो हुने चोरीका घटनाले जनता पीडित छन् । प्रहरी चोर पक्रन प्रयासरत छ । तर, चोर पक्राउ परेर पीडित जनताको घाउमा मलम लगाउन भने प्रहरी असफल भएको छ । अनुसन्धानका क्रममा प्रहरीकै सहयोगीका रुपमा रहेका एक व्यक्ति नै चोरको नाइके भएको खुल्न आएको छ ।

चोरीका घटना बढेपछि प्रहरीले नारायणगढ र भरतपुरबाट एकैदिन ३३ जनालाई पक्राउ ग¥यो । सामान्य सोधपुछपछि धेरै जना छुटेको र ६ जनाविरूद्ध भने मुद्दा नै चलेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरु पछिल्लो चोरीका घटनामा संलग्न भए÷नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार र बिहीबार दिउँसोको समयमा गौरीगन्ज, गोन्द्राङ, क्षेत्रपुरलगायतका स्थानमा सुनसहित अन्य धनमाल चोरी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए ।

‘घटना हुन नदिनका लागि रातभरि प्रहरी ड्युटीमा खटिने गरेको छ’, उनले भने, तर चोरले रातमा प्रहरी खटिएको थाहा पाएर दिउँसो चोरी गर्न थालेको छ ।’ दिउँसो हुने चोरीका घटनाका विषयमा गहिरो अनुसन्धान भएको समेत उनले बताए । सादा पोसाकमा दिनरात प्रहरीलाई खटाएको उनको भनाइ छ ।

आफैँ सचेत हौँ

आफ्नो घर र धनमालको रक्षा गर्ने पहिलो दायित्व हो । तर, कतिपय घटनामा अनुसन्धान गर्दा पीडितहरुको पनि कमजोरी देखिएको प्रहरीको भनाइ छ । घरका झ्यालढोका राम्ररी बन्द नगर्नु, बन्द गरेर पनि चाबी त्यहीँ राखेर बाहिर निस्कनु, घर छाडेको छिमेकीलाई जानकारी नदिनु, घरमा अन्य सुरक्षा संयन्त्र नहुनुजस्ता कारणले चोरीका घटनाहरु बढ्ने गरेको प्रहरीको भनाइ छ । जनता आफैँ सचेत हुनुपर्ने प्रहरीको भनाइ छ ।

चोरीका योजनाकार

केही दिनअघि भरतपुर ३, बाह्रघरेमा दिउँसो १ बजेको समयमा श्रीकृष्ण तिमल्सिनाको घरमा चोरी भयो । घटना थाहा पाउनेबित्तिकै स्थानीयले चोरको खोजी थाले । प्रहरीमा पनि खबर भयो । खबर पाएको आधा घन्टापछि पुगेको प्रहरीले चोर पक्रन सकेन । तर, गाउँलेहरुकै शंकाका आधारमा विगत ४ महिनादेखि त्यसै क्षेत्रमा भाडामा बस्दै आएका सञ्जु रानामाथि खानतलासी भयो ।

नभन्दै उनकै कोठाबाट चोरिएको सुन बरामद भयो, अनि खोजी हुन थाल्यो सञ्जुको बारेमा । उनको इतिहास कोट्याउँदै जाँदा थाहा भयो, उनी एक वर्षअघिसम्म प्रहरीकै सहयोगीका रुपमा कार्यरत रहेछन् । सडक बालबालिकाहरुका लागि प्रहरी–नागरिक अभियानमा कार्यरत उनी लागूऔषध दुव्र्यसनी पनि रहेको थाहा भएको छ । यस गृहमा उनकै रेखदेखमा ३० जना बालकहरु राखिएका थिए ।

चोरी गरिएको सुनसहित पक्राउ गरिएका उनीविरूद्ध हाल जिल्ला प्रहरी कार्यालय चितवनले अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाएको छ । आरोपित रानाले चोरी कार्यमा अरु सडक बालबालिकालाई परिचालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिकट काउन्टरमा चोरी

चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित टिकट काउन्टरमा बुधबार राति चोरी भएको छ ।

राति करिब एक बजेको समयमा चोरले काउन्टरको मूल ढोका फोरेर स्टील दराजमा राखेको पाँच हजार ४२० रूपैयाँ लगेको निकुञ्जका सौराहा सेक्टर प्रमुख ऋषि रानाभाटले जानकारी दिए । चोरले काउन्टरभित्र रहेका दुईवटा स्टील दराज फोरेर पैसा लगेको उनले बताए ।
सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई निकुञ्ज अवलोकनका लागि सो काउन्टरबाट टिकट काटिँदै आइएको थियो । राजस्वको स्वरुप लिएको अधिकांश रकम बैंकमा दाखिला गरिएकोले ठूलो धनराशि चोरी हुनबाट जोगिएको रानाभाटले बताए ।

 

https://echitwanpost.com/83858/