यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ।

अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो।

यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी '... यस्तो गरिनेछ' भन्थे। कतिपय ठाउँमा उनले 'वर्तमान सरकार' पनि भनेका छन्। तर, कुनै पनि ठाउँमा 'मेरो सरकार' भनेनन्। राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं 'मेरो सरकार' भन्ने गर्थे।

गणतन्त्र स्थापनापछि पहिलोपटक राष्ट्रप्रमुखले राजाले जस्तै 'मेरो सरकार' भनेर सम्बोधन गरेपछि टीकाटिप्पणी भएको छ।

 

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन्- 'म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ।

प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला? कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन्- 'मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार? कुनै बेला `श्री ५ को´ सरकार थियो, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थेl आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ?'

साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर-जिम्मेवार र लोकतान्त्रिक भावनाको बर्खिलाफ भनेका छन्। ‘यो राष्ट्रपतिको सरकार होइन। नेपाली जनताको सरकार हो। संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख छ,’ मिश्रले ट्विट गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रपतिको सम्बोधनको भाषामा विगत जस्तो राजाको झल्को आएको उल्लेख गरेका छन्। ‘नीति तथा कार्यक्रम सरकारले तयार पारेर राष्ट्रपतिलाई पढ्न दिने हो। सरकार नेपाल र नेपालीको होइन, राष्ट्रपतिको हुन चाहन्छ। तर आरोप लगाउँछन्- कांग्रेसले राजा फर्काउन खोज्यो भनेर!,’ पौडेलले ट्वीट गरेका छन्।

विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले पनि ट्विटरमा लेखेका छन्- 'यो 'मेरो सरकार' होइन, 'नेपाली जनताको सरकार' हो।'

नीति तथा कार्यक्रम नेपाल सरकारले नै तयार पार्छ। सम्बोधनअघि संसद बैठकमै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण गर्छन्। त्यसैले यसमा लेखिने भाषा र सम्बोधन सरकारले नै तयार पार्छ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६, ०५:३८:००