क्यानडामा जन्मिएर हाल बलिउडमा जमिरहेकी अभिनेत्री सन्नी लियोन अहिले फेरि निकै चर्चामा छिन्। एक भारतीय टेलिभिजनमा उनको विगतलाई कोट्याएर लिइएको अन्तर्वार्तापछि उनले नसोचेको समर्थन पाएकी छिन्। भारतमा सबैभन्दा बढी गुगल गरिएकी यी सेलिब्रिटीबारे फ्रेन्च समाचार एजेन्सी एएफपीले लामो फिचर प्रकाशन गरेको छ। त्यसैको भावानुवाद

बलिउड अभिनेत्री सन्नी लियोन भारतका पुरातनवादीहरुबाट आफ्नो पोर्न विगतलाई लिएर लामै समयदेखि तारो बनिरहेकै थिइन् तर उनी हिन्दी फिल्ममा आफ्नो करिअर बनाउनमा दृढ छिन्। त्यसलाई यो साताको नयाँ विवादले पनि हल्लाउन सकेको छैन। क्यानडामा जन्मिएकी लियोनका एडल्ट फिल्महरुमा ‘डिसेन्ट इन्टु बन्डेज’ र ‘कस्टम्ड डाम्सेल इन डिस्ट्रेस’ जस्ता फिल्म पर्छ जसमा कथाका नाममा केही पनि छैन। भारतीय सिनेमामा आफ्नो संक्रमणलाई कठिन मान्ने उनी अहिले भने बलिउडलाई आफ्नै घर सरह मान्छिन्। ‘जब म पहिलो पटक यो उद्योगमा छिरेँ, मानिसहरुले तपाईँको जीवनको च्वाइसबारे खुसी नभएको थाहा पाउँदा पक्कै पनि राम्रो लाग्दैन थियो’, लियोनले मुम्बईमा अन्तर्वार्ताका क्रममा भनिन्, ‘तर जसै समय बित्दै गयो, खासगरी विगतका ६ महिनामा मैले गजबका सेलिब्रिटीहरु भेट्न पाएँ र यो एउटा यात्रा थियो।‘ ३४ वर्षकी यी अभिनेत्री विगत तीन वर्षदेखि भारतमा सबैभन्दा बढी गुगलमा खोजिएकी सेलिब्रिटी हुन्। पुरातनता जरा-जरामा रहेको र धार्मिक भारतमा उनी पटक-पटक विवादमा परेकी छिन्। भुपेन्द्र चौबेले आफ्नो टप रेटिङ टिभी सोमा उनको विगतबारे सोधिएका कडा प्रश्नहरुलाई शान्तपूर्वक सामना गरेपछि यो साता सोसल मिडियामा उनीप्रति सहानुभूतिको लहर नै देखियो। कार्यक्रममा पत्रकार चौबेले भारतमा पोर्नोग्राफी हेर्ने बानी बढ्नुलाई समेत उनीसँग जोडेका थिए।
तर बलिउडको संस्थापनले उनलाई स्वीकार्दै गएको प्रमाणका रुपमा ठूल्ठूला स्टारहरु जस्तै आमिर खान, ऋषि कपुर र अनुष्का शर्माले ट्विटरमा लियोनको पक्षमा आवाज उठाए।लियोनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै फेसबुकमा राखेको भिडियो पनि लाखौँ पटक हेरियो।

करणजित कौर बोहरा उनको सक्कली नाम हो। भारतीय सिख आप्रवासी परिवारमा उनको जन्म क्यानडाको ओन्टारियोमा सन् १९८१ मा भएको हो। सन् २००३ मा पेन्टहाउस पेट अफ दि इयरको उपाधिसमेत पाएर एक सफल पोर्न अभिनेत्रीका रुपमा करिअर बन्दै गर्दा उनी पाँच वर्षअघि भारत सरेकी हुन्।

उनले सन् २०११ मा पहिलो ब्रेक बिग बोस नामको रियालिटी सोमा पाइन्। त्यसको एक वर्षमै उनले बलिउडमा डेब्यु गरिन्।

अहिलेसम्म उनले आठभन्दा बढी भारतीय फिल्ममा काम गरिसकेकी छिन्। अर्को साता उनले अभिनय गरेको मस्तिजादे रिलिज हुँदैछ।
आफ्नो करिअरमा भइरहेको प्रगति प्रति लियोन गर्व गर्छिन्।

‘जब म यहाँ आएकी थिएँ, मलाई यहाँ भएको हेर्न नचाहने धेरै थिए, मेरो बारेमा जथाभावी भन्नेहरु पनि प्रशस्तै थिए’, उनले भनिन्। तर मसँग धेरै यस्ता फ्यानहरु पनि छन् जो मलाई केयर गर्छन्, मलाई मन पराउँछन्, मैले खेलेको फिल्म, गीत र फोटोसुटहरु मन पराउँछन्। मलाई घृणा गर्नेभन्दा मलाई मन पराउनेहरुको संख्या धेरै छ।

लियोन स्वीकार गर्छिन् उनको लागि सबैभन्दा कठिन क्षण त्यतिबेला आयो जब एक महिलाले गत वर्ष उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिन्। उजुरी उनले भारती संस्कृति नष्ट गरी अश्लीलतालाई बढावा दिएको विषयमा थियो।

यस्तो उजुरी आएपछि प्रहरीले दर्ता गर्नैपर्छ।

निश्चय पनि यो एउटा त्यस्तो कुरा थियो जसले मलाई असर पार्‍यो। यो पटक्कै रमाइलो थिएन, उजुरीबारे उनले भनिन्।

‘आशा छ यस्तो स्थिति अब फेरि आउने छैन किनभने म त्यो खालको विश्वको भाग अब नरहिसकेँ र मेरो जीवनको यो बिन्दुमा ती कुरा उठाउनु ठीक होइन’, उनी भन्छिन्।

मस्तिजादेसँगै बलिउडमा यस्तै थिमका अर्का दुई फिल्म रिलिज हुँदैछन् क्या कूल है हम ३ र ग्रेट ग्रान्ड मस्ती।

केही टिप्पणीकारहरुले गुनासो गरेका छन् कि मस्तिजादे जसमा लियोनले सेक्सी बिकनी लगाउने लैलाको भूमिका गरेकी छिन्, त्यसले महिलालाई अब्जेटिफाइ गर्छ।

त्यस्तो महसूस गर्नेहरुका लागि उनको सल्लाह छ, फिल्म नहेर्नुस्। उनी भन्छिन् यो फिल्म एडल्टहरुका लागि हो र यो एडल्ट ह्युमर हो।
तर उनी एउटै किसिमका भूमिकाप्रति सचेत छिन्। उनका अनुसार बढी गम्भीर किसिमका भूमिकाहरुमा पनि उनी देखिँदै छिन्।

‘मलाई लाग्छ यो संक्रमणका लागि पनि समय लाग्छ, प्रत्येक मूभी फरक हुन्छ,’ उनी भन्छिन्। ‘के सेक्स अपील हुन्छ? के ग्ल्यामर हुन्छ? पक्कै। तर आगामी केही मूभीहरुमा मलाई दर्शकहरुले फरक ढंगमा देख्नुहुनेछ।