साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । करिब २ वर्षअघि यही मैदानमा माल्दिभ्सलाई पराजित गरेको नेपाल आजको खेलमा अर्को इतिहास कोर्ने लक्ष्यमा छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली टिम र खेलाडीको लागि घरेलु मैदान जस्तै हो । यो रंगशालामा नेपालले आफ्नो फुटबलको इतिहास कोेरेको छ । ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल फेरी अर्को इतिहास नजिक छ ।

साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन । यो पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ । तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपालले के ऐतिहासिक छलाङ मार्न सक्ला ? सबै फुटबलप्रेमीमा कौतुहलता बढ्न थालेको छ ।

त्यसो त, प्रशिक्षक र नेपाली खेलाडीले पनि माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने दाबी गर्दै आएका छन् ।

सेमिफाइनलमा ४–१ ले पराजित

सन् २०१६ बंगबन्धु राष्ट्रिय रंगशालामा सम्पन्न बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल । नेपाल समूह ए को उपविजेता माल्दिभ्स समूह वि को विजेता । जनावरी १९ तारिख साँझ ५ बजे भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलको अपत्यारीलो जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

युवा खेलाडीले भरिभराउ टिममा नेपालले गोलको वर्षा नै गर्‍याे । नवयुग श्रेष्ठले ह्याट्रिक गोल गर्दै नेपाललाई नयाँ युगतिर लगे । त्यस्तै, विशाल राईले एक गोल थपे ।

खेलअवधिभर नेपालले उत्कृष्ट प्रदर्शन गर्दै माल्दिभ्सलाई पराजित मात्रै गरेन फाइनलमा बहराइनलाई ३–० गोलले पराजित गर्दै नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचाल्न सफल भयो ।

करिब २ वर्षपछि नेपाल र माल्दिभ्स यही मैदानमा सेमिफाइनल खेल मै प्रतिस्पर्धा गर्न लागेको छ । पक्कैपनि माल्दिभ्सलाई २०१६ बंगबन्धु गोल्डकपको झझल्को हुनुपर्छ ।

जारी साफ च्याम्पियनसिपमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह बी को उपविजेता हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४–० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

यता, माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २–० गोलको हार ब्यहोरेको थियो ।

माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो ।