एउटा रमाइलो चित्रले वर्तमान समाजको प्रवृत्ति देखाएको छ । चित्रमा दर्शाइएको छ, एक पुस्ताअघिको बालबच्चा र अहिलेको बालबच्चावीचको भिन्नता ।

पहिलेको पुस्तामा साना बच्चालाई घरबाहिर धेरै खेल खेल्यो भनेर कठालोमा समातेर घरभित्र ल्याइदैछ । बच्चाले घरभित्र भन्दा घरबाहिर बढी समय विताएकोमा आमावुवालाई चिन्ता छ । त्यही कारण बच्चालाई जबरजस्ती तानेर घरभित्र ल्याउनुपरेको छ ।

वर्तमान पुस्ता फरक छ । अहिले बच्चा घरबाट बाहिर निस्कन रुचाउँदैनन् । त्यही कारण बच्चालाई घरबाट घिसारेर आमाले बाहिर ल्याउने जोडदार यत्न गरिरहेकी छिन् । तर, बच्चा घरभित्रै बस्न खोजिरहेका छन् ।

पहिले अभिभावकलाई छोराछोरी घरभित्र आएनन् भनेर चिन्ता थियो । अहिले ठिक विपरित भएको छ । अहिले छोराछोरी घरबाट बाहिर निस्किएनन् भनेर अभिभावकको टाउको दुखेको छ । एउटा पुस्तान्तरसँगै कति बद्लिएको छ बालबालिकाको व्यवहार ?

यस्तै अहिले सामाजिक सञ्जालमा केही थान चित्र छ्यापछ्याप्ती छ । उक्त चित्रले एक पुस्ताअघिका बालबालिकाको दैनिकी कस्तो थियो भने झल्काउँछ । चित्रमा बालबालिकाहरु आपसमा भेला भएर विभिन्न खेल खेलिरहेका देखिन्छन् ।

धेरै पर पुग्नुपर्दैन, फेसबुक वा डिजिटल प्रविधिले यो रुपमा व्यापकता पाउनुअघि पनि बालबालिकाहरु घरबाहिर खेल्थे । दौडन्थे । उफ्रन्थे । रुमाल लुकाउनेदेखि चोर पुलिससम्मका खेलहरु खेलेर रमाउँथे । यस्ता खेल उनीहरु समूहमा खेल्थे । त्यसबेला त उनीहरुलाई थाहा थिएन, तर यही खेलबाट उनीहरुको शारीरिक, मानसिक विकासमा सहयोग पुग्थ्यो । सामाजिक भावनाको विकास हुन्थ्यो । सहकार्यको महत्व बुझ्थे । खेल-खेलमै उनीहरुले जीवन र समाजलाई बुझ्ने मौका पाउँथे ।

अहिलेको अवस्था एकदम फरक छ । अहिलेका बच्चाहरु समूहमा खेल्न रुचाउँदैनन् । घरबाहिर निस्कन चाहँदैनन् । घरभित्र अझ एउटै कोठामा थुनिएर नितान्त एक्लै रमाउन खोज्छन् । घण्टौं घण्टौ एक्लै बस्छन् । एक्लै रमाउँछन् । एक्लै रिसाउँछन् । एक्लै ठुस्किन्छन् । खासमा उनीहरु भर्चुअल संसारमा हराइरहेका हुन्छन् ।

अहिले अधिकांश बालबालिका टिभीमा झुन्डिरहेका हुन्छन् । मोवाइलमा झुन्डिरहेका हुन्छन् । ल्यापटपमा झुन्डिरहेका हुन्छन् । कार्टुन, भिडियो गेम, भिडियोमा लिप्त भइरहेका हुन्छन् ।

भिडियो गेम, भिडियो र फेसबुकले त बालबालिकालाई अरु एकोहोरो बनाएको छ । ति माध्याममा भुलिएपछि उनीहरु दिसापिसाब आएको थाहा पाउँदैनन्, भोक लागेको मेसो पाउँदैनन् । एकै ठाउँमा बसिरहँदा शरीर कक्रिएको पनि भेउ पाउँदैनन् । जब कसैले उनीहरुको क्रमभंग गरिदिन्छन्, सपनाबाट ब्युँझिएजस्तै गर्छन् ।

अहिलेका बालबालिकाहरु नजानिदो ढंगले स्क्रिनमा लिप्त हुँदै गएका छन् । उनीहरु मोवाइल, ल्यापटप, टिभी वा ट्याबलेटको स्क्रिनभन्दा बाहिरको संसारबाट बेखबर हुँदैछन् । आफ्नै परिवार र समाजबाट विमुख हुँदैछन् ।

पछिल्लो अध्ययनले के देखाउँछ भने अहिलेका बच्चाहरु दिनहुँ कम्तीमा दुई घण्टा स्क्रिनमा बिताउँछन् । यत्तिका समय उनीहरु आफ्नो आमावुवा र समाजसँग पनि विताइरहेका छैनन् । अर्को तथ्य के भने, बच्चाहरु यति धेरै समय स्क्रिनमा बिताइरहेका छन् कि जसको बारेमा उनका आमाबुवालाई थाहा छैन ।

यसरी लामो समय स्क्रिनमा बिताउनु आफैमा एक जटिल समस्या हो र यसले बच्चालाई गाँज्दै लगेको बताइन्छ । जब बच्चाहरु स्क्रिनमा एकोहोरिन्छ, तब उनीहरु परिवार र समाजबाट विमुख रहन्छन् । उनीहरुको पारिवारिक जीवन चौपट हुन्छ । साथसाथै उनीहरुमा मानसिक समस्या देखापर्छ, शारीरिक समस्या त छँदैछ ।

लामो समय स्क्रिनमा बिताउने बच्चाहरुमा तुरुन्त देखिने समस्या भनेको शारीरिक नै हो । उनीहरुमा टाउको दुख्ने, गर्दन दुख्ने, आँखा रुखो हुने, बेचैन हुने जस्ता समस्या देखिन्छ । बच्चाहरु लामो समय स्किनमा बिताउने भएकाले उनीहरुमा आँखाको समस्या आम बन्दै गएको विश्वव्यापी तथ्यांकले देखाउँछ ।

कम्प्युटर, ल्यापटप, मोवाइल आदिको स्क्रनद्वारा उत्सर्जित प्रकाशको ब्लु लाइटले आँखाको संवेदनशिल रेटिनामा गंभिर असर पुग्ने अध्ययनमा उल्लेख छ । अतः यसको प्रभाव मस्तिष्कमा पनि छ । ब्लु लाइटको प्रभावले निद्राको तालमेल समेत खलबलिने गर्छ । निद्राको चक्र बिगि्रएकाले बच्चाहरुमा मोटोपनको समस्या समेत बढ्ने देखिएको छ ।

यसरी ल्यापटप, मोवाइल आदिबाट आउने ब्लु लाइटको प्रभाव घटाउनका लागि के गर्न सकिन्छ भनेर अहिले विकल्पको खोजी भइरहेको छ । यद्यपी बच्चाले व्यतित गरिरहेको स्क्रिन टाइम कटौती गरिदिनु नै यसको राम्रो विकल्प हो । बच्चालाई घरभित्रै वा कोठाभित्र मोवाइल, ल्यापटमा लिप्त हुन दिनुको बदला घरबाहिरको खेलकुदमा प्रेरित गर्नुपर्छ । यसका लागि अभिभावकले पनि बालबालिकासँग समय विताउनुपर्छ । उनीहरुसँगै खेल्नुपर्छ । बच्चालाई भुलाउनका लागि वा खुसी तुल्याउनका लागि मोवाइल, ल्यापटप दिने प्रवृत्ति त्याग्नुपर्छ ।