३ साउन, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले ११ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यो अवधिमा ७९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी गराएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ को समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वृद्धिदर ७.३ प्रतिशत थियो ।

रेमिट्यान्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने तीव्ररुपमा घटेको छ । अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३७.३ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

 

https://www.onlinekhabar.com/2019/07/782078