दैनिक झण्डै दुई हजार नेपाली विदेसिन बाध्य छन्। धेरैको सपना हुन्छ– विदेशमा गएर पैसा कमाउने र घरपरिवारलाई सुख दिने। तर, उनीहरूको सपना निमोठ्न तयार दलाल, मानव तस्कर र ठगहरूको बिगबिगी छ, जताततै। रोजगारीका लागि विदेश जाने सपना पालेकामाथि लुट मच्चाउँदै आफ्नो सपना हराभरा बनाउने १० जना मानव तस्कर र ठगबारे ‘सम्पूर्ण’ले तयार पारेको सामग्रीः

‘हाइफाई’ देखिँदै ठग्ने  सौरभ

वैदेशिक रोजगारीका लागि राम्रो देश पठाइदिने प्रलोभन देखाई धेरैलाई ठगेका छन्, खिलनाथ लुइँटेलले। आफूलाई सौरभ लुइँटेलसमेत भनेर चिनाउने उनले सयौँको करौडौँ रुपैयाँ ठगेका छन्। ‘हाइफाई’ देखिइने उनले पाँच करोड रुपैयाँ ठगी गरेको प्रहरीको महानगरीय अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ।

अमेरिका पठाइदिने भन्दै उनले काठमाडौँ, तारकेश्वरकी कल्पना पाण्डेको मात्रै ९२ लाख रुपैयाँ ठगी गरेको उजुरी महाशाखामा दर्ता छ। त्यति मात्रै होइन, कल्पनामार्फत नै उनले अरूलाई पनि अमेरिका, क्यानडा पठाइदिने प्रलोभन देखाउँदै २ करोड ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेका छन्।

राम्रो देशमा पठाइदिने भन्दै महेश भण्डारी र उनका आफन्तको गरी सौरभले एक करोड रुपैयाँ ठगी गरेको उजुरी पनि महाशाखामा छ। सौरभ लुइँटेलका नाममा भारतीय आधार कार्ड, आयकर विभाग र निर्वाचन आयोगको समेत कार्ड बनाएका उनले आफूले ठगेकाले पैसा माग्दा धम्कीसमेत दिने गरेका छन्।

सौरभविरुद्ध महाशाखामा ठगीको जाहेरी दिएका पीडितहरूका अनुसार पैसा माग्दा उनले भन्ने गरेका छन्, ‘म रकम दिन पनि सक्दिनँ र विदेश पठाउन पनि सक्दिनँ । मसँग भारतमै बस्न पाउने आधार कार्ड, निर्वाचन कार्ड छ। जे गर्न सक्छौ, गर।’

खानदानी र पैसावाल देखिने रहनसहन गर्ने उनी अरूलाई सजिलै आफ्नो ठगीको जालोमा पार्न सक्छन्। प्रहरीका अनुसार उनले मध्यम वर्गका, लोभलालचमा पार्न सकिने महिलालाई टार्गेट बनाउने गरेका छन्। पछिल्लो समय उनले आफ्नो प्रभावमा पारेकी महिला हुन्, दाङकी सृष्टि आचार्य (नाम परिर्वतन)। उनले सृष्टिलाई गलफ्रेन्डसमेत बनाएका छन्। उनै सृष्टिको ललितपुरस्थित सानेपामा सुप्रिम पावर सप्लायर्स छ।

सृष्टि त्यसको अध्यक्ष हुन् भने सौरभ त्यस कम्पनीमा आबद्ध छन्। आफूले पैसा दिन नसके र पीडितको धेरे दबाब आए उनले त्यही सुप्रिम पावर सप्लायर्समार्फत पैसा दिने विश्वास दिलाउन चेक दिने गरेका छन्। तर, पछिल्लो पटक त्यही चेकबाट प्रहरी फन्दामा परे उनी। गत भदौ ३१ गते अपराध महाशाखाको टोलीले काठमाडौँको महाराजगञ्जबाट चेक बाउन्स गरेको अभियोगमा उनलाई प्रक्राउ गरेको थियो।

कल्पना पाण्डेलाई दिएको ६० लाख र यमबहादुर आले, सीता पाण्डे लगायतलाई दिएको चेक बाउन्स भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। पदमबहादुर तामाङ उर्फ प्रमोद तामाङ उनका मुख्य एजेन्ट हुन्।

काठमाडौँका आरती कार्की, सपना दुलाल र पारु जोशीसँग पनि नजिकको सम्बन्ध बनाउँदै सौरभले ठगी गरेका छन्। आरतीबाट २५ लाख रुपैयाँ ठगेका उनले कतार एयरवेजमा एयरहोस्टेसको जागिर गर्ने सपनालाई अमेरिका पठाइदिने भन्दै जागिर छोड्न लगाए र १० लाख रुपैयाँ ठगी गरे। त्यस्तै, पारुको पनि १० लाख रुपैयाँ ठगी गरे।

धम्काउँदै  सयौँ ठग्ने सन्तोष

वैदेशिक रोजगारीका आकर्षक गन्तव्य मानिने सिंगापुर, संयुक्त अरब इमिरेट्स (यूएई), मकाउलगायत देशमा पठाइदिने भन्दै सयौँलाई ठगेका छन्, धादिङ, मलेखुका सन्तोषबाबु लोहनीले।

काठमाडौँको बाफलमा बस्ने उनीविरुद्ध ठगीका धेरै उजुरी परेपछि अहिले फरार छन्। उनले सिंगापुर पठाइदिने भनेर २ लाख ८० हजार रुपैयाँका दरले चार जनाबाट ११ लाख २० हजार रुपैयाँ ठगी गरेका छन्। त्यस्तै, यूएईको दुबई पठाउने भन्दै २ लाख ६० हजार रुपैयाँका दरले आठ जनाबाट २० लाख ८० हजार रुपैयाँ ठगेका छन्।

त्यसै गरी, मकाउ पठाउने प्रलोभन देखाई उनले नौ जनाबाट ६ लाख ३० हजार रुपैयाँ ठगेका छन्। सन्तोषविरुद्ध अपराध महाशाखाका पीडितका पक्षबाट उजुरी दर्ता गरेकी सम्झना श्रेष्ठले आफूले पीडितहरूबाट जम्मा गरेको ४२ लाख रुपैयाँ भन्दा बढी दिएको दाबी गरेकी  छिन्। म्यानपावर कम्पनीसमेत सञ्चालन गर्ने सम्झनाले सन्तोषले सुकेधारास्थित आफ्नो कार्यालयमा आई डिमान्ड लेटरलगायत कागजात देखाई विश्वासमा पारेकाले आफूले त्यो रकम दिएको बताएकी छिन्।

प्रहरीले भने आफू फस्ने डरले पीडितका पक्षबाट सम्झना आफैँले निवेदन दिएको आशंका गरेको छ। धादिङमा रहँदा गुण्डागर्दीमा समेत संलग्न सन्तोषले मरिसस पठाइदिने भन्दै रामचन्द्र श्रेष्ठ, शैलेस रिजाल र शिव डिम्बाबाट १९ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितहरू उजुरी लिएर माहाशाखा आएका छन्। त्यस्तै, उनले मालदिभ्स पठाइदिने भन्दै बिसन चौधरी र राजेश अधिकारीबाट पाँच/पाँच लाख रुपैयाँ लिए।

पीडित चौधरी र अधिकारीका अनुसार दिल्लीमा पुर्‍याई एक महिना राखेपछि उनले त्यहाँबाट केरला पुर्‍याई बिचल्ली बनाएपछि पीडितहरू आफ्नै खर्चमा घर फर्किए। पैसा माग्दा उल्टै धम्काउने गरेको उनीहरूको गुनासो छ। महाशाखाका अनुसार सन्तोषले २४ जना भन्दा बढीबाट ७२ लाख रुपैयाँभन्दा बढी रकम ठगेका छन्।

सुकुमबासी बनाउने दिनेश

दोलखाका दिनेश कोइराला कुख्यात ठग हुन्। उनका ठगीका अनैकौँ धन्दा छन्। गत भदौमा भने उनी चेक बाउन्सको अभियोगमा प्रहरीको अपराध महाशाखाको फन्दामा परेका हुन्।

विदेश पठाइदिने भन्दै रकम लिएका उनले त्यो फिर्ता गर्न दबाब दिएपछि श्याम खड्कालाई १९ लाख रुपैयाँ, महेन्द्र केसीलाई तीन लाख रुपैयाँ र दीपक थापालाई १५ लाख रुपैयाँको चेक दिएका थिए। तर, उनले दिएका सबै चेक बाउन्स भए।

वैदेशिक रोजगारीमा जानेलाई ठग्ने मात्रै होइन, उनले  मिटर ब्याजमा पैसा दिने र पैसा नदिनेको जग्गाजमिनसमेत हडप्ने गरेका छन्।

मोरङ, उर्लाबारी–८, दुर्गापुरीका विष्णुबहादुर धिमालको सपना तीन लाख रुपैयाँले अड्किरहेको थियो । उनको सपना थियो– घर बनाउने। उनले भाइ नाता पर्ने रामप्रसाद धिमालसँग आफ्नो समस्या सुनाए। जग्गा धितो राखे ऋण जति पनि पाइने भन्दै रामप्रसादले विष्णुलाई हौस्याए ।

ऋण दिने साहू पनि खोजिदिने भने । विष्णु भएजति जग्गाको लालपुर्जा बोकेर रामप्रसादकहाँ गए । रामप्रसादले विष्णुलाई उनै दिनेशसँग भेटाइदिए ।

दिनेशले विष्णुलाई सबै जग्गा दिनेशको नाममा पास गर्ने, त्यसबापत तीन लाख रुपैयाँ विष्णुलाई दिने, दुई वर्षसम्म ऋण फिर्ता नगरे विष्णुको जग्गा स्वतः दिनेशको नाममा हुने बेहोराको कागजमा हस्ताक्षर गराए।

विष्णुले भाइको विश्वासमा एक बिघाभन्दा बढी जग्गाको लालपुर्जा दिनेशलाई थमाए । त्यसबापत तीन लाख रुपैयाँ पाए।

तर, दिनेश ठग भएको कुरा विष्णुले पछि मात्र थाहा पाए। उनले दिनेशलाई तत्काल सम्पर्क गर्न खोजे । तर, त्यसबेलासम्म उनी बेपत्ता भइसकेका थिए । आत्तिएका उनले रामप्रसादलाई समाते ।

रामप्रसादले जग्गा तुरुन्तै फिर्ता गरिदिने वाचा गरे तर पूरा गरेनन्। चलेको भाउअनुसार अहिले विष्णुको जग्गाको मूल्य करिब ३ करोड ६० लाख रुपैयाँ पर्छ । उनको सबै जग्गा कागजी रूपमा दिनेशको नाममा भइसकेको छ । दिनेशले आफूलाई सुकुमबासी बनाएको भन्दै विष्णु अहिले छटपटाउँदै हिँडिरहेका छन्।

त्यसै गरी, दिनेशले सुनसरी, इटहरी–८ की यशोदा भट्टराईसँग ३० लाख र उनकी आमासँग ५० लाख रुपैयाँ ठगेका छन्। झापाको दमकस्थित तारबारीमा सञ्चालित कृषि फार्ममा साझेदार बनाइदिने भन्दै दिनेशले उनीहरूबाट पैसा लिएका थिए। सुकुमवासी बस्तीको जमिन देखाई ललितपुरको एउटा सहकारीसँग पनि उनले एक करोड रुपैयाँभन्दा बढी ठगेका छन्।

नक्कली खेलाडी बनाई ठग्ने टीकाराम  

रुकुम, आठबीसकोटका सुरेन्द्र विष्टको आफ्ना काका नाता पर्ने ललित विष्टमार्फत टीकाराम मोटे बसाई ठकुरीसँग चिनजान भयो। टीकारामले आफूलाई मार्सल आट्र्स संघको केन्द्रीय अध्यक्षका रूपमा चिनाए। उनले मार्सल आट्र्सको खेलाडी बनाई सुरेन्द्रलाई युरोपको नर्वेमा पठाइदिने प्रलोभन दिए। त्यति मात्रै होइन, उनले सुरेन्द्रलाई ३ लाख ५० हजार रुपैयाँसम्म मासिक तलब हुने पनि बताए।

सुरेन्द्रले टीकारामलाई सजिलै विश्वास गरे र लोभिए पनि। पटक–पटक गरी उनले टीकारामलाई ११ लाख ९५ हजार रुपैयाँ दिए। त्यसपछि भिजिट भिसामार्फत उनी थाइल्यान्ड पुर्या‍ए। त्यहाँ पुर्‍याएपछि नर्वे जान गाह्रो हुने भन्दै अमेरिका जान सेटिङ मिलाइदिने र त्यसका लागि थप रकम लाग्ने भन्दै सुरेन्द्रसँग पाँच लाख रुपैयाँ लिए। थाइल्यान्डमा एक महिना बसाएपछि टीकारामले उनलाई कम्बोडिया हुँदै इन्डोनेसिया पुर्‍याए। चार महिना इन्डोनेसियामा राखी त्यहाँबाट भियतनाम पुर्‍याए। 

सुरेन्द्र त्यहाँ दुई महिना बसे। त्यहाँ उनलाई साँघुरो कोठामा राखियो, कसैसँग सम्पर्क गर्न दिइएन। दुई महिनापछि फेरि उनलाई कम्बोडिया पुर्‍याई अलपत्र पारिदिएपछि सुरेन्द्रले बल्ल आफू ठगिएको पत्तो पाए।

आफैँ टिकट काटी उनी नेपाल आएर टीकारामसँग सम्पर्क गर्ने कोसिस गरे तर सफल भएनन्। सुरेन्द्रको १७ लाख रुपैयाँ डुब्यो। फरार टीकारामविरुद्ध अहिले सुरेन्द्रले अपराध महाशाखामा उजुरी दिएका छन्। सुरेन्द्रजस्ता धेरैलाई नक्कली खेलाडी बनाई विदेश पठाउने भन्दै टीकारामले ठगेका छन्।

उनीविरुद्ध नै मकाउ पठादिने भन्दै स्याङ्जाका १३ जनाबाट ४२ लाख रुपैयाँ ठगेको भन्दै अर्को उजुरी पनि परेको छ। नवीन राईले उनको मुख्य एजेन्टका रूपमा काम गर्दै आएका थिए। नवीन महाशाखाबाट पक्राउ परी हाल अनुसन्धानकै क्रममा छन्।

टीकारामले खेलाडी बनाउन राष्ट्रिय खेलकुद परिषद्को नक्कली प्रमाणपत्र दिने गरेका छन्। उनी आफ्नो खातामा पैसा हाल्न लगाउँदैनन्। कामकुरा सबै आफैँ गर्छन् तर पैसा लिँदा आफू लिँदैनन्। अरूमार्फत पैसा बुझ्ने, सकभर कानुनी रूपमा आफू नफस्ने गरी टीकारामले काम गर्ने गरेको महाशाखाले जनाएको छ। 

अलपत्र पार्ने लिलम

धनकुटा, कटहरेका लिलम पौडेल वैदेशिक रोजगारीमा जानेलाई ठग्ने अर्का कुख्यात  ठग हुन्। उनका पनि धेरै पीडित छन्। कोरिया भाग्दाभाग्दै गरेका उनलाई केही समयअघि मात्रै महाशाखाको टोलीले विमानस्थलबाट पक्राउ गरेको थियो। महाशाखाका अनुसार काठमाडौँमा सत्कार कन्सल्ट्यान्सी सञ्चालन गर्ने उनले २६ जनाबाट ७० लाख रुपैयाँभन्दा बढी ठगी गरेका छन्।

उनले धेरैलाई भारतको दिल्ली हुँदै केरला लगेर छोड्ने, अलपत्र पार्ने गरेका छन्। उनले थोरै दरमा पैसा लिने तर धेरैलाई ठग्ने गरेका छन्। महाशाखाका अनुसार एक जनाबाट एकदेखि पाँच लाख रुपैयाँसम्म ठग्ने गरेका छन्। लिलमका मुख्य एजेन्ट हुन्, टीकाराम काफ्ले। टीकाराम र उनी हाल नक्खु जेलमा छन्।

कलाकारको भेषमा ठग्ने सुदर्शन

अभिनेत्री रेखा थापासँग ‘हिम्मतवाली’ फिल्ममा अभिनय गरेपछि एकाएक चर्चामा आए, रामेछापका सुदर्शन गौतम। दुवै हात नभएका उनले फिल्म खेलेपछि उनी चर्चित भए। तर, उनको नाम माटोमा मिल्न धेरै समय लागेन।

क्यानडामा स्थायी बसोबास गर्ने उनलाई मानव तस्करी गरेको भन्दै प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्‍यो। उनले तीन जना महिलालाई अमेरिका पठाइदिने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेका थिए।

अवैध बाटोबाट अमेरिका जाने क्रममा एक जना युवतीको समुद्रमै ज्यान गएको थियो। दुई जना भने अमेरिका नगई नेपाल फर्किएका थिए। एजेन्ट सागर श्रीसमार्फत विभिन्न व्यक्तिको खातामा पैसा हाल्न लगाई उनले पैसा बुझेको खुलेको थियो।

सजिलै फसाउने फत्तबहादुर

पर्वतका फत्तबहादुर गुरुङ पनि नक्कली खेलाडी बनाई विदेश पठाएर ठग्ने ठग हुन्। नेपाल सितेरियो कराते संघमा आबद्ध उनले खेलाडी बनाई जापान पठाइदिने भन्दै ठग्ने गरेका छन्। हाल फरार उनले रुकुम, मुसीकोटका देवानन्द रोक्काबाट सात लाख रुपैयाँ ठगी गरे।

खेलाडी बनेको सबै कागज बनाइदिएपछि देवानन्दलाई पनि विश्वास लाग्यो। त्यही आधारमा उनी १० लाख तिरेर जापान जान तयार भए। तर, सात लाख पैसा दिएको केही समयपछि गुरुङ सम्पर्कविहीन बने। महाशाखाका अनुसार उनले धेरैलाई ठगे पनि उनीविरुद्ध कम उजुरी परेका छन्।

ठगका एजेन्ट सागर

बाग्लुङका सागर श्रीस पनि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्नेमा पर्छन्। मानव तस्करीमा संलग्न उनले सुदर्शन गौतमको मुख्य एजेन्टका रूपमा काम गरेका थिए। उनले खिलराज लुइँटेलको एजेन्टका रूपमा पनि काम गरे।

सागरका दाइ जेसन मानव बेचबिखनको मुद्दामा पक्राउ परेका छन्। सागर अहिले फरार छन्।

गाउँ–गाउँमा ठग्ने हस्त

अमेरिका बस्ने रुकुमका हस्त गौतमले अवैध बाटोबाट अमेरिकासम्म मानव तस्करी र ठगी गरेर धेरैलाई पीडित बनाएका छन्। दुवै खुट्टा नभएका उनले रुकुममा गाउँगाउँमा एजेन्ट परिचालन गरी अमेरिका पुर्‍याउने प्रलोभन देखाई ठग्ने गरेका छन्।

पछिल्लो पटक प्रहरीको अपराध महाशाखामा उनीविरुद्ध रुकुम, पुथा गाउँपालिकाका पोषण बुढाले उजुरी गरेका छन्। पोषणबाट उनले ३० लाख रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ।

उनले पोषणलाई अमेरिका पुर्‍याउने भन्दै भारतको दिल्ली, कम्बोडिया, थाइल्यान्ड हुँदै टुभालुसम्म पुर्‍याएर अलपत्र पारे। पोषण बीच बाटोबाटै फर्केर आउनुपरेको थियो।

प्रलोभन देखाउने पदमबहादुर

आफूलाई प्रमोद तामाङका नामले समेत चिनाउने पदमबहादुर तामाङ पनि राम्रो तलब–सुविधामा विदेश पठाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न छन्।

हाल फरार उनले बाग्लुङका अनुप पुनबाट ३३ लाख रुपैयाँ ठगी गरेका छन् भने यमबहादुर आलेबाट ६० लाख रुपैयाँ। उनीविरुद्ध अरू पनि ठगीका उजुरी  दर्ता हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, यादव मगरबाट पनि उनले अमेरिका पठाइदिने भन्दै ४० लाख रुपैयाँ ठगेको उजुरी महाशाखामा परेको छ। पदमबहादुर विभिन्न व्यक्तिलाई अवैध बाटोबाट अमेरिका लैजान प्रयास गर्ने र बीचमै अलपत्र छाडेर भाग्ने गरेका छन्।

 

जो थाहा नपाई फसे

लेखबहादुर पुन, पीडित

म्याग्दी निस्कोटका लेखबहादुर पुन पेशाले शिक्षक हुन्। उनी सुदर्शन गौतमको सम्पर्कमा आए र अमेरिका जान लोभिए। आफू मात्रै होइन, उनले आफ्ना भाइ, छोरी अमेरिका पठाउन सुदर्शनलाई ६६ लाख रुपैयाँ दिए। सुदर्शनले अमेरिका नपठाउने चाल पाएपछि लेखबहादुरले मिडियामा उनको पोल खोलिदिने चेतावनी दिए।

त्यसपछि सुदर्शनले उनको खातामा अरू कसैलाई पैसा हाल्न लगााए। तर, त्यो पनि ठगीको रकम थियो। सुदर्शनबाट पीडित हुनेहरूले मुद्दा हाल्दा लेखबहादुरको खातामा पैसा गएको देखियो र उनी जेल परे। उनी निर्दोष भए पनि बैंक खातामा पैसा आएका कारण दोषी देखिए।

सुरज काफ्ले

सुदर्शन गौतममार्फत तीन जना युवती अमेरिका जान तयार भए। अवैध बाटोबाट अमेरिका जाने क्रममा तीमध्ये एक जनाको बाटोमै मृत्यु भयो। बीचमै मृत्यु हुने युवतीकी बहिनी सुरज काफ्लेकी श्रीमती हुन्।

अमेरिका जाने क्रममा आफ्ना दुई साथीबाट ती युवतीले पनि कमिसन खाएकी थिइन्। त्यो रकम उनले आफू  अमेरिका पुगेको भन्दै सुरजको खातामा हालिदिइन्। उनले पनि कमाएकै पैसा होला भन्ने सोचे। तर, पछि अनुसन्धानका क्रममा सुरजलाई बैंक खातामा हालिदिएको रकम ठगीको भएको थाहा भयो र निर्दोष हुँदाहुँदै पनि उनी जेल जानुपर्ने अवस्था आयो।

अनिल बानिया

कक्षा १२ मा पढ्ने अनिल बानियाका बुबाको भारतको हरिद्वारमा होटल छ। अनिलका बुबाले भारत गएका नेपालीलाई भारु उपलब्ध गराउने गर्थे। उनले दिल्ली हुँदै अमेरिका जान लागेका दुई युवतीलाई करिब १० लाख भारु उपलब्ध गराइदिए।

त्यो रकम नेपालमै रहेका छोराको खातामा हालिदिन ती युवतीलाई भने। उनीहरूले अनिलको खातामा पैसा हालिदिए। पछि अनुसन्धानबाट अनिलको खातामा उनीहरूले हालिदिएको रकम ठगीको भएको थाहा भयो। र, उनी निर्दोष हुँदाहुँदै पनि जेल जानुपर्ने अवस्था आयो। 

 

ठगका ४ जुक्ति

–विश्वास दिलाउन झुटा एजेन्ट प्रयोग गर्ने

–आफूले रकम नबुझ्ने

–रकम बुझेको रसिद नदिने

–महँगो रहनसहन गर्ने र रवाफ देखाउने

 

‘३३ लाख डुब्यो’

अनुप पुन, पीडित

मेरो घर बाग्लुङ हो। विदेश जाने सोचमा थिएँ। सुमन गुरुङ भन्ने साथी थिए।  उनले आफू क्यानडा जान लागेको भनेर पार्टी दिए। उनलाई विदेश पठाउने एजेन्ट पदमबहादुर तामाङ पनि आएका थिए। उनीसँग मेरो पनि चिनजान भयो। नम्बर साटासाट भयो। केही दिनपछि उनले फोन गरेर सुमन क्यानडा गइसकेको बताए।

 त्यसको एक हप्तापछि पदमले मलाई फेरि फोन गरे र मलाई पनि पठाइदिन्छु भने। उनले त्यसका लागि ४० लाख रुपैयाँ लाग्ने बताए। सुमनलाई २५ लाखमा पठाएको र हामी श्रीमान्–श्रीमती गरी दुई जनालाई ४० लाख लाग्छ भने। मैले सुमन क्यानडा गए÷नगएको बुझेपछि मात्रै जाने सोच बनाएर एक महिना पर्खिबसेँ। मैले विश्वास नगरेपछि सुमनको बहिनीले मलाई भनिन्, ‘दाइलाई भाषा सिक्न एक महिना लाग्यो। दुई महिनापछि मात्रै पैसा पठाउनुभयो।’

त्यसपछि त मलाई हो कि क्या हो जस्तो लाग्यो। मैले पनि विदेश जाने योजना बनाएँ। पदम तामाङलाई पैसा दिएँ। एक पटक १० लाख र अर्को पटक २३ लाख गरी ३३ लाख रुपैयाँ उनलाई बुझाएँ। मेरा दिदीहरू यूकेमा हुनुहुन्छ। त्यो सबै पैसा उहाँहरूले नै मलाई पठाइदिनुभएको थियो। मैले विश्वास गरेर पैसा दिएकाले केही कागजात पनि बनाइनँ।

उनीहरूले मलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनेका थिए। सुमन गुरुङलगायत २१ जनालाई क्यानडा पठाएको भनेर पदमले विश्वास दिलाए। उनले मलाई खिलनाथ लुइँटेलसँग भेटाए। खिलनाथ ठूलो मान्छे भएको र उनले नै विदेश पठाइदिने भने। मलाई केही दिन कुराएपछि खिलनाथले काठमाडौँबाट फ्लाइट नहुने भयो, झापाकै शरणार्थी क्याम्पमा जानुपर्ने भयो भने। उनले मेरो भुटानी शरणार्थी कार्ड पनि बनाइदिएका थिए। सायद त्यो नक्कली कार्ड थियो।

त्योबाहेक अरू कुनै पनि कागज मलाई दिएनन्। यो हप्ता, अर्को हप्तामा फ्लाइट हुन्छ भन्दाभन्दै एक महिना बित्यो। उनले मलाई अमेरिका पठाएनन्। पछि सुमन गुरुङ क्यानडा नगएको थाहा भयो। उनले हामीलाई विश्वास दिलाउनलाई बाहिर गएको नाटक गरेका रहेछन्। उनी क्यानडा नगएको थाहा भएपछि आफू ठगिएको मैले थाहा पाएँ। सुमन पनि पदम र खिलनाथहरूसँगै मिलेका रहेछन्।

अहिले पदम सम्पर्कमै छैनन्। सिम बदल्दै हिँड्छन्। खिलनाथ ‘पैसा दिएको प्रमाण के छ ? जे गर्न सक्नुहुन्छ, गर्नुस्’ भन्छन्। मेरो त्यत्रो पैसा डुब्यो। एक वर्षजति पागलजस्तो भएर हिँडेँ। यही कारणले घरपरिवारसँग मेरो सम्बन्ध बिग्रिएको छ। एकातिर लुटिएँ, अर्कातिर घरबार बिग्रियो।

 

‘ठगले धेरै चलाखी अपनाउँछन्’

एसपी नरेन्द्रप्रसाद उप्रेती, प्रवक्ता, महानगरीय प्रहरी अपराध महाशाखा

लोभ धेरै पलाएपछि मान्छे ठगिइँदो रहेछ। ठगले ठूलठूला सपना देखाइदिन्छन्। त्यसमा लोभिएपछि अधिकांश ठगिएका छन्। विदेशमा गएपछि धेरै तलब पाइन्छ, राम्रो ठाँउमा बस्न, खान पाइन्छ भन्ने प्रलोभन देखाएर धेरैजसोलाई ठगहरूले सजिलै ठगेको पाइन्छ। अज्ञानका कारण पनि धेरै ठगिइने गरेका छन्। त्यति नपढेका, गाउँबाट आएका सामान्य मान्छे धेरै ठगीमा पर्ने गरेका छन्।

ठगहरू धेरै चलाख हुँदा रहेछन्। उनीहरू समान्य मान्छेबाट काम गराउँछन्, आफूलाई छायामै राख्छन्। रकम बुझेको रसिद दिँदैनन्। सकभर एजेन्टबाट काम गराउँछन्। कानुनी रूपमा आफू दोषी नदेखिइने र अरूलाई नै त्यसमा फसाउने गरी काम गर्छन्।

ठगहरूबाट जोगिन सर्वसाधारणले सरकारले तोकेका मापदण्ड पूरा गर्ने, राहदानी लिने बेलामा विदेश जानेबारे दिइने परामर्श लिने, त्यसमा ध्यान दिने, भाषा, सीपहरू सिकेर मात्रै विदशे जाने गर्नुपर्छ। वैधानिक च्यानल र प्रक्रियाबाट मात्रै विदेश गए ठगहरूको फन्दामा परिन्न। ठगिनबाट जोगिन आफू कुन देशमा जाने हो ? कस्तो म्यानपावर एजेन्सीबाट जाने हो ? आफूलाई सुहाउँदो खालको काम छ कि छैन ?  लगायत कुरामा गम्भीर ढंगले सोचेर मात्रै विदेश जानुपर्‍यो।

कोहीलाई भिजिट भिजामा विदेश घुमाउन लगेको देखिन्छ। आफैँ घुम्न गएको देखिन्छ। त्यस्तो अवस्थामा ठग्नेहरूलाई कानुनी दायरामा ल्याउन अप्ठ्यारो पर्ने गर्छ। म्यानपावर एजेन्सीभन्दा बाहिरबाट जो जान्छ, त्यो अवैध बाटो हो। त्यहीँबाट अपराध सुरु हुन्छ, दुःख सुरु हुन्छ। नेपाल सरकारबाट मान्यताप्राप्त म्यानपावर एजेन्सीबाट मात्रै गएकामा त्यस्तो समस्या देखिएको छैन।

वैदेशिक रोजगारीसम्बन्धी मुद्दाहरू विशेष गरी वैदेशिक रोजगार विभागले हेर्ने गरेको छ। तर, विदेशिनेको संख्या ठूलो भएकाले यसमा ठगिने पनि धेरै छन्। अब अपराध महाशाखाको एउटा सानो युनिटले मात्रै हेरेर भ्याइने अवस्था छैन।

ठगीमा संलग्नलाई हामीले इन्टरपोलमार्फत विदेशबाट पनि पक्राउ गरेर ल्याएका छौँ। तर, समस्या ठूलो भएकाले हामीले गरेको काम पनि नेदेखिएको हुन सक्छ। प्रहरी आफँैलाई यस्ता मुद्दामा काम गर्न धेरै अधिकार हुँदैन। तर, ठगिइने धेरैको प्रहरीसँग ठूलो अपेक्षा हुन्छ।

https://sampurnaweekly.com/news/198