८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् ।

रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा गायक बन्ने रहरले घर छोडेर काठमाडौं आएका उनले धेरै हण्डर-ठक्कर खाएका छन् । सगीतप्रेमी गोपाल कर्माचार्यको संरक्षकत्व पाएपछि भने उनको संगीतिक करिअरले नयाँ मोड लिएको हो ।

 

सयौं हिट गीतहरु दिएका ढकाल पछिल्लो समयमा भने केही सुस्ताएका छन् । बरु केही अपि्रय खालका विवादहरुमा उनी तानिए । गत वर्ष नेपाल आइडलमा अतिथि निर्णायकको रुपमा दिएको प्रतिक्रियालाई लिए उनले एउटा समुदायबाट कडा आरोपको सामना गर्नुपर्‍यो । यसैगरी एउटा सहकारीबाट लोन लिएर नतिरेको भनेर उनको नाममा पत्रिकामा हादै सूचना निकालेको छ ।

अनलाइनखबरले अन्तरवार्ता गरेको दिन संयोगले रामकृष्णको जन्मदिन रहेछ । त्यसै दिन उनी चितवनबाट काठमाडौं फर्किएका थिए ।

रामकृष्णले आफ्नो निजी जीवनका विविध विषयमा अनलाइनखबरसँग खुलेर कुरा गरे । प्रस्तुत अन्तरवार्ताको मुख्य अंश  ः

चितवन किन जानुभएको थियो ?

प्रहरी हिरासतमा रहेको मेरो साथी रवि लामिछानेलाई भेट्न गएको हो । अरु केही प्रयोजन थिएन ।

भेट्न पाउनुभयो त ?

भेटेँ । बिहान ७ देखि ९ बजे र बेलुका ३ देखि ५ को समयमा भेट्न दिइँदो रहेछ ।

हिरासतमा उनको मनोदशा कस्तो पाउनुभयो त ?

त्यस दिन हामीसित कुरा गर्दा ऊ आफू निर्दोष छु भन्नेमा ‘कन्फिडेन्ट’ देखिन्थ्यो । अहिलेचाहिँ आफूलाई असुक्षित महसुस गरेको भन्ने कुरा आएको छ । यो चिन्ताको विषय हो ।

मैले रविसँग ०४८ सालदेखि संगत गरेको हुँ । उसलाई राम्ररी चिनेको/बुझेको छु । राजदरबार हत्याकाण्ड हुँदा हामी दुवैले सँगै एउटै सैलुनमा गएर कपाल मुण्डन गरेका थियौं । अमेरिका जानु अगाडि उ मसित धेरै रोएको थियो । रविले लेखेको एउटा गीत मैले गाएको पनि छु । हामीले धेरै कन्सर्टमा सँगै भाग लिएका छौं ।

यो घटनामा रवि मुछिनु एउटा दुर्भाग्य हो । मलाई उ दोषी होला भन्ने लाग्दैन । एउटा होनहार पत्रकार बित्नुभो, त्यसमा हामी सबै दुःखी छौं । तर, घटना प्रकरण सबै विश्लेषण गर्दा रविलाई फसाउने चालबाजी भइरहेको छ कि भन्ने आशंकाहरु उब्जिन्छन् ।

प्रहरीले उनलाई गिरफ्तार गर्नु नै गलत हो त ?

त्यस्तो त म भन्दिनँ । कुनै व्यक्तिले मर्नुअगाडि उसलाई आरोपित गरिसकेपछि अनुसन्धानका लागि हिरासतमा लिइनु स्वाभाविक नै थियो । अहिले नयाँ बनेको कानूनले पनि यस्तो विषयलाई सम्वोधन गरेको छ । तर, पाँच दिन म्याद थपिनुचाहिँ स्वाभाविक होइन भन्ने लाग्छ ।

बाहिर रविको पक्षमा भइरहेको आन्दोलन चाहिँ कति स्वाभाविक छ ? यसले प्रहरीको अनुसन्धानलाई प्रभावित गर्दैन ?

मलाई त्यस्तो लाग्दैन । मानिसहरु उसको समर्थनमा स्वतस्फुर्तरुपमा सडकमा आएका हुन् । यो सबै उसले आर्जन गरेको प्रतिष्ठा र समाजका लागि दिएको योगदानको प्रतिफल हो । सडकबाट भइरहेको खबरदारी घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्छ र निर्दोषलाई फसाइनु हुँदैन भन्नका लागि हो । यसले प्रहरीको काममा अवरोध हुँदैन ।

चितवनमा यतिबेला यूट्यूवरहरुको पनि ठूलो मेला लागेको छ रे, तपाईंचाहिँ उनीहरुको घेराउमा पर्नुभएन ?

हो, अहिले त्यहाँ धेरै युट्युबर जम्मा भएका छन् । मैले चाहिँ एउटालाई मात्र अन्तरवार्ता दिएँ । अहिले त युट्यूव नै रविमय भइरहेको छ । तर, कस्तो भने, यूट्युबरहरुले आफ्नो सामग्री जसरी प्रस्तुत गरेका छन्, त्यसमा संवेदनशीलता देखिँदैन । धेरै भ्रमपूर्ण कुराहरु पनि यूट्युवबाट सम्प्रेषण भइरहेका छन् ।

युट्युबरहरुबाट म पनि धेरै पीडित छु । खासगरी दर्शक आकषिर्त गर्नका लागि सनसनीपूर्ण हेडलाइन राख्छन् उनीहरु । कतिपय हेडलाइनमा राखिएका कुराहरु भित्र कन्टेन्टमा हुँदैनन्

आजकाल युट्युवरहरुबाट सेलिबि्रटीहरु दिक्दार बन्दै गएका छन् भन्ने पनि चर्चा सुनिन्छ । तपाईंंको अनुभव कस्तो छ ?

युट्युबरहरुबाट म पनि धेरै पीडित छु । खासगरी दर्शक आकर्षित गर्नका लागि सनसनीपूर्ण हेडलाइन राख्छन् उनीहरु । कतिपय हेडलाइनमा राखिएका कुराहरु भित्र कन्टेन्टमा हुँदैनन् । अर्को कुरा, कसैले बोलेका कुराहरु कति सत्य वा असत्य छन् भन्ने पनि उनीहरुले भेरिफाई गर्दैनन् ।

मेरो बारेमा एउटा सामाग्री युट्युवमा आयो, जसको हेडलाइनमा ‘रामकृष्ण ढकालले आफ्नै पुरानो साथीलाई मान्छे लगाएर पिटाए’ भनेर लेखिएको थियो । भिडियो खोलेर हेर्दा एक व्यक्तिको अन्तरवार्ता रहेछ । उनले २२/२३ वर्ष अगाडि एउटा रेस्टुरेन्टमा मलाई भेट्न भनेर जाँदा गार्डले लखेटेको बताएका छन् । त्यसैलाई लिएर मैले कुट्न पठाएको भनेर हेडलाइन राखियो । धेरै दर्शकले त हेडलाइन मात्रै हेरेर धारणा बनाउँछन् । अनि, हामीले अनाहकमा गाली खानुपर्छ ।

केही महिना अगाडि एउटा भिडियो आएको छ । त्यसको शीर्षकमा ‘पारस र रामकृष्णबीच श्रीमती साट्ने प्रस्ताव ?’ भनेर लेखिएको छ । भित्र कन्टेन्टमा चाहिँ सत्य-तथ्य कुराहरु नै छन् । दर्शक आकषिर्त गर्ने नाममा यस्तो जथाभावी हेडलाइन राख्दा मलाई त असर पर्छ नि । त्यसैले म त्यो त्यो च्यानलमाथि साइबर क्राइममा उजरी गर्ने तयारी गरिरहेको छु ।

पारसको कुरा आइहाल्यो । मैले पनि पारस र तपाईंको लफडाको विषयमा धेरै पहिलेदेखि सुन्दै आएको छु । तपाईंहरुबीच भएको चाहिँ के थियो ? कि केही भएकै छैन ?

ल, म आज तपाईंलाई यथार्थ बताइदिन्छु ।

यो ०६० सालको घटना हो । हामी श्रीमान-श्रीमती आफ्नो विवाहको पहिलो वाषिर्कोत्सव मनाउन नगरकोटको क्लव हिमालयमा पुगेका थियौं । हामी आफ्नो टेबलमा खानपिन गरिरहेका बेलामा ह्वार्र राजपरिवारका सदस्यहरु ठूलो डफ्फासहित आउनुभयो । उहाँहरु सबैजसो मसित परिचित नै हुनुहुन्थ्यो । पारसले ‘के छ राम ?’ भन्नुभयो । हामीबीच अनौपचारिक गफगाफ सुरु भयो । हाँसोठट्टा हुन थाल्यो ।

तर, राजतन्त्रकालमा राजपरिवारसँग एउटा नागरिकले यसरी खुलस्त कुराकानी गर्नु स्वाभाविक मानिँदैनथ्यो । राजपरिवारका सुरक्षाकर्मीले यसलाई सहजरुपमा लिँदैनथे ।

हामी गफ गरिरहँदा युवराजको एडीसी हो कि को हो, एकजनाले मलाई बोलाए । अनि कानमा भने, ‘सरकारसित डिन्स्टान्स मेन्टेन गर्नू’ ।

मैले ‘ईश्वर तैंले रचेर फेरि’ गीत गाउँदा हिमानी भावुक भएर रुनुभएको थियो । गीत सकिएपछि उहाँले ‘वान्स मोर’ भन्नुभयो । तर, पारस सरकारलाई त्यो मन परेन

उनको त्यो भनाइले मेरो पनि पारो तात्यो । अनि मैले पारस सरकारलाई नै सुनाइदिएँ, तपाईंको एडीसीले यस्तो भन्यो भनेर । पारसल सरकारले ती एडीसीलाई सम्झाउनुभयो । यो कुराले ती एडीसी मसित नराम्रोसित चिढिए ।

यता, राजपरिवार र हामी दम्पत्ति गफगाफमा रमाइरह्यौं । मैले केही गीतहरु पनि उहाँहरुलाई सुनाएँ । मैले गीत गाउँदा पारसले पनि साथ दिनुभयो । मेरा खासै नचलेका गीत पनि उहाँले सुन्नुभएको रहेछ । खुशी लाग्यो ।

मैले ‘ईश्वर तैंले रचेर फेरि’ गीत गाउँदा हिमानी भावुक भएर रुनुभएको थियो । गीत सकिएपछि उहाँले ‘वान्स मोर’ भन्नुभयो । तर, पारस सरकारलाई त्यो मन परेन । उहाँ रिसाउनुभयो । ‘कलाकारलाई एउटै गीत रिपिट गरिरहने मुड हुन्छ ?’ भनेर उहाँले हिमानी सरकारलाई हप्काउनुभएपछि केहीबेर उहाँहरुबीच भनाभन भयो । अनि, हिमानी सरकार रिसाएर हिँड्नुभयो । हिँड्ने क्रममा उहाँले एउटा वाइनको गिलास धकेलेर लडाइदिनुभएको थियो ।

त्यसपछि पारस पनि उठ्नुभयो । उहाँले मलाई हग गर्दै भन्नुभयो, ‘तिम्रो पहिलो वर्ष हो, ५/६ वर्षपछि तिमीहरुको पनि यस्तै हुन्छ ।’ अनि, सबैजना हिँड्नुभयो ।

केहीबेरमा हामी पनि उठ्यौं । त्यहाँबाट काउन्टरमा जाँदा अघिका एडीसी उभिएका रहेछन् । उनले फेरि विवाद सुरु गरे । विवादकै क्रममा मलाई हातले छातिमा धकेलेर लडाइदिए । मलाई पनि झाेंक चल्यो । नजिकै एउटा गमला थियो । त्यो समातेर मैले उनलाई प्रहार गरेँ । उनको नाकबाट रगत बग्न थाल्यो । त्यसपछि अन्य व्यक्तिहरु आएर हामी दुबैलाई सम्हाले । थप लफडा हुन पाएन । त्यसपछि हामी आफ्नो बाटो लाग्यौं । भएको यत्ति नै हो ।

तपाईं त्यतिबेला नशामा हुनुहुन्थ्यो ?

पिएको त थिएँ । तर, अनियन्त्रित भने थिइनँ । जे भयो, होसहवासमै भएको हो ।

यो घटना कसरी फरकरुपमा बाहिर आयो त ?

घटना भएको केही दिनपछि एउटा सन्ध्याकालीन पत्रिकाले ‘पारसले कुटाइले रामकृष्ण ढकाल गम्भीर, बीएनबीमा भर्ना’ भनेर समाचार छाप्यो । जब कि समाचार लेख्दा उनीहरुले मसित एक शब्द सोधेका पनि थिएनन् ।

अचानक यस्तो समाचार आएपछि म बाटुलेघरमा रहेको सो पत्रिकाको कार्यालयमै गएर प्रश्न गरेँ । मलाई सद्दे देखेर उनीहरु छक्क परे । तर, समाचारको खण्डन गर्न भने तयार भएनन् ।

त्यो समाचार आएपछि त बजारमा नानाथरी हल्ला चल्न थालिहाले । यतिसम्म कि पारसले हानेको गोली लागेर म मरेको भन्नेसम्मका अफवाह फैलिए ।

पारस सरकारको इमेज पनि त त्यस्तै थियो । गायक प्रवीण गुरुङलाई गाडीले कुल्चिएको घटना ताजै थियो । त्यसैले मानिसहरुले विश्वास गर्ने भइहाले । देशविदेशबाट मलाई फोन आउन थाले । बाहिर मानिसहरु मलाई देख्दा पनि अचम्भित झैं बन्थे । त्यतिबेला पत्रिकामा मैले ‘म जिउँदै छु’ भनेर अन्तरवार्तासमेत दिएको छु ।

श्रीमतीको विषयलाई लिएर पारस र तपाईंको झगडा भएको भनेर जनआस्थाले पनि समाचार लेखेको होइन ?

मलाई सम्झना भएसम्म जनआस्थामा त्यस्तो समाचार आएको छैन । घटना भएको दुई-तीन दिनपछि किशोर श्रेष्ठले फोन गर्नुभएको थियो । मैले केही भएको होइन, सौहार्दपूर्ण भेटघाट भएको हो भनेर प्रष्टीकरण दिएँ । त्यसपछि उहाँले समाचार लेख्नुभएन जस्तो लाग्छ ।

तपाईंको पारससित यस विषयमा पछि कुरा भयो ?

अफवाह फैलिन थालेपछि उहाँलाई भेटेर मैले जाहेर गरेँ । घटना यस्तो भएको थियो, बाहिर यस्तो हल्ला फैलिएको छ भनेर सुनाउँदा उहाँले खासै महत्व दिनुभएन । धेरै विवादमा आइरहने भएकाले यस्ता कुरा पचाइसक्नुभएको थियो सायद ।

तपाईंले त्यतिबेला नै वास्तविकता यो हो भनेर चाहिँ मिडियामा किन खुलाउनुभएन ?

त्यतिबेला यो विषय बाहिर नआओस् भन्ने दरबार चाहन्थ्यो । राजतन्त्रकालमा दरबारलाई विवादमा ल्याउने गरी कुरा गर्न त्यति सहज पनि थिएन ।

यो विषयमा चित्रबहादुर केसीले लेख नै लेख्नुभयो क्यारे होइन ?

उहाँले ‘हिमानी, पापी पारसलाई छोडिदेउ हिमानी’ भन्ने लेख लेख्नुभएको थियो । त्यसमा ‘श्रीमती साट्ने प्रस्ताव अस्वीकार गर्दा एक गायकले पारसको झापड खाएको’ भनेर लेखिएको रहेछ । त्यसमा मेरो नाम थिएन । उहाँले अरु कसैलाई इंगित गर्न खोज्नुभएको हुनसक्छ । तर युट्युबरले मलाई नै  लक्षित गरिएको भनेर भ्रम फैलाए ।

गत वर्ष नेपाल आइडलमा गएर तपाईंले गरेको टिप्पणीका कारण जनजाति समुदाय तपाईंसँग निकै बिच्किएको थियो । यसले चाहिँ तपाईंलाई कति लामो असर गर्‍यो ?

म अहिले पनि सोच्छु कि त्यसमा मेरो अपराध नै के थियो ? निशान भट्टराई र प्रताप दासलाई मैले उनीहरुको गायकीका कारण न मन पराएको हुँ । जातको कुरा त मेरो दिमागमै थिएन ।

एउटा रियालिटी शोमा जब जज बनेर बस्दा उसले आफूलाई लागेको कुरा भन्ने कि नभन्ने ? प्रतिस्पर्धीको यथार्थ मूल्यांकन गर्ने कि नगर्ने ? तपाईंले इन्डियन आइडल हेर्नुभयो भने त्यसमा पनि आउने गेष्टहरुले फलानो कन्टेस्टेन्ट मेरो फेभरेट भनिरहेका हुन्छन् । म फलानोलाई भोट गर्छु पनि भन्छन् । मैले पनि त्यही सिको गरेर निशानलाई भोट गर्छु भनिदिएँ । तर, त्यसैलाई जातीयताको लेपन गरेर ममाथि आक्रमण भयो । मलाई अपराधीजस्तो बनाइयो ।

पहिले म नेपाल ताराको एउटा सिजनमा फूल जज थिएँ । त्यस सिजनको नतिजा हेर्नुभयो भने पहिलो, प्रताप लामा पहिलो, देवेश राई दोस्रो र सुरेश लामा तेस्रो भए । मैले त्यसमा भनेको थिएँ कि देवेश मेरो श्रीमती र छोरीका फेभरेट हुन् । त्यसो भन्दा त कुनै विवाद आएको थिएन । नेपाल आइडलमा बोलेको कुरालाई लिएर चाहिँ अनावश्यकरुपमा उछाल्ने काम भयो । संगीतभन्दा माथि न कुनै जात छ न धर्म छ । म त आफ्नै छोरीले बेसुरा गाइन् भने पनि बेसुरा नै भन्छु ।

त्यतिबेलाको तनावलाई कसरी सम्झिनुहुन्छ ?

निकै विक्षिप्त भएको थिएँ म । मोबाइल खोल्न पनि डर लाग्थ्यो । फेसबुकमा मेरो घाँटी काटिएको फोटोसमेत आयो । कमेन्टहरु पढिसक्नु हुन्थेनन् । श्रीमतीले पनि निकै तनाव लिइन् । एक हप्ता जति त मैले केही काम नै गर्न सकिनँ ।

नेपाल आइडलको अर्को एपीसोडमा राजेश पायल राईलाई बोलाइएको थियो । उनले त्यसमा मेरो समर्थनमा कमेन्ट गर्दा म धरधरी आँशु झारेर रोएँ । उनको त्यत्ति एउटा सानो प्रतिक्रियाले पनि मलाई ठूलो राहत दियो, किनकि आफूलाई असहाय महसुस गरिरहेको थिएँ ।

त्यो घटनापछि विदेशका कार्यक्रममा तपाईंको डिमान्ड घटेको छ ?

विदेशमा नेपालीहरुका विभिन्न जातीय संगठनहरु छन् । उनीहरुले कार्यक्रम गर्दा आफ्नो मान्छेलाई प्राथमिकता दिने त हुन्छ नै । तर, सबैले के बुझ्नुपर्छ भने अन्ततोगत्वा हामी सबै नेपाली हौं । विदेशको कुनै पनि प्लेटर्फममा नेपालका सबै जातजातिको आवाज गुञ्जियो भने त्यसले झन् राम्रो सन्देश जान्छ ।
राजेशपायल होस वा रामकृष्ण दुवै नेपालको प्रतिभा हो । त्यसैले जातीय चश्माले हेरिनु हुदैन ।

तपाईंको डिमान्ड चाहिँ घटेको छ कि छैन ?

त्यसले केही समय त असर गर्‍यो । तर, अहिलेसबै भ्रम हटिसक्यो जस्तो लाग्छ । मैले पछिल्लो समयमा अमेरिकामा तमु गुरुङ, राईहरुको कार्यक्रममा पनि गाएँ ।
यद्यपि, सामाजिक सञ्जालतिर अझै पनि कतिपयले त्यो कुरा कोट्याउँछन् । दुःख लाग्छ । मैले गरेको कमेन्टबाट यदि कसैलाई चोट पुगेको छ भने म अहिले पनि हार्दिक क्षमायाचना गर्न तयार छु । तर, जातीयताको आरोप मलाई नलगाइदिनुस् । म धेरै संघर्ष गरेर यो ठाउँमा आएको हुँ । मलाई आफ्नो धरातल थाहा छ ।

तपाईंले गाएको ‘बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस’ भन्ने गीतका शब्दहरुलाई लिएर पनि यदाकदा प्रश्न उठेका छन् । यो गीतले तराईवासीलाई नेपाली नै ठानेन भन्ने आरोपलाई कसरी लिनुभएको छ ?

वास्तवमा नेपालमा विवाद उब्जाउन केही पनि चाहिँदैन रहेछ । यति सन्देशमूलक गीतमा विवाद गर्नुपर्ने के छ त्यस्तो ? विहान उठ्नेवित्तिकै हिमाल देख्न पाइयोस एउटा सदिच्छा न हो । ठीक छ, तराईबाट हिमाल देखिँदैन । तर, देख्ने सदिच्छा राख्न त पाइन्छ नि ।

विदेशमा लाखौं नेपाली ५० डिग्रीको गर्मीमा पसिना बगाइरहेका छन् । मैले यो गीत गाउँदा उनीहरु धुरुधुरु रुन्छन् । अमेरिकामा बौद्धिक व्यक्तिहरुका माझमा गाउँदा उनीहरु पनि रोएका छन् । यो प्रत्येक नेपालीलाई छुने गीत हो । म प्रायः स्टेजमा प्रस्तुति दिँदा सधैं ‘बिहान उठ्नेवित्तिकै’ बाट नै सुरु गर्छु । यो गीतले एक प्रकारको भावुक माहौल सिर्जना गर्छ ।

तराईका कार्यक्रममा जाँदा पनि यो गीत गाउनुहुन्छ ?

अवश्य गाउँछु । कहिलेकाहीँ गाइनँ भने पनि अफर आइहाल्छ । तराईवासीले पनि यो गीत उत्तिकै रुचाउनुहुन्छ ।

तपाईं एउटा संघर्षशील गायक भनेर चिनिनुहुन्छ । तपाईंको बाल्यकाल कति दुःखमा बितेको थियो ?

मेरो परिवार एकदमै तन्नम र खानलाउनै गाह्रो हुने अवस्थाको थिएन । तर, दुःख कुन अर्थमा भने, १२/१३ वर्षको उमेरमै गायक बन्ने उद्देश्यले म घर छोडेर काठमाडौं आएँ । त्यसपछि संघर्ष सुरु भयो । संघर्षका दिनहरुमा कति रात भोकै बसियो होला, त्यसको लेखाजोखा छैन ।

एकपटक मैले थालमा कागती बोकेर गाडीका यात्रुहरुलाई बेच्दै पनि हिँडेको छु । तर, जे-जस्तो दुःख पर्दा पनि कसैसँग हात फैलाइनँ । भिख मागिनँ । हरेक कामलाई सम्मान गर्दै परिश्रम र मेहनतले नै अगाडि बढेँ ।

गाडीमा गीत गाएर पनि हिँड्नुहुन्थ्यो होइन ?

संघर्ष सबैले गरेकै हुन्छन् । मलाई दुःख चाहिँ केमा लाग्छ भने, नेपालमा संघर्ष गरेर माथि उठेको व्यक्तिलाई हेय दृष्टिले हेर्ने गरिन्छ

मेरो संगीतप्रति बाल्यकालदेखि नै आशक्ति थियो । कुनै पनि ठाउँमा गीत गाउन पछि हटि्दनथेँ । हामी हेटौंडाबाट फिल्म हेर्न वीरगञ्ज जाने गथ्र्यौं । बारम्बार यात्रा गर्ने भएकाले मलाई धेरै गाडीका ड्राइभर खलासीले चिन्थे । म राम्रो गाउँछु भन्ने पनि उनीहरुलाई थाहा थियो । ड्राइभरले मलाई गाडीको बर्नरमा राखेर गीत गाउन लगाउँथे । म निर्धक्क गाइदिन्थेँ । मेरो गायकीबाट प्रभावित भएर कोही यात्रुहरुले पैसा पनि दिनुहुन्थ्यो ।

यो कुनै अनौठो कुरा हो जस्तो लाग्दैन । संघर्ष सबैले गरेकै हुन्छन् । मलाई दुःखचाहिँ केमा लाग्छ भने, नेपालमा संघर्ष गरेर माथि उठेको व्यक्तिलाई हेय दृष्टिले हेर्ने गरिन्छ । भारतका प्रधानमन्त्री मोदी पनि पहिले चिया बेच्थे । प्रख्यात गायक माइकल ज्याक्सनको बाल्यकाल पनि गरिबीमा नै बितेको थियो । तर, उनीहरुलाई त्यहाँका मानिसले प्रेरणा स्रोतका रुपमा लिन्छन् । हामीकहाँ चाहिँ संघर्ष गरेर आएकाहरुलाई अपमानित गर्न खोजिन्छ । यस्ता कुराहरुले दिक्क पार्छ ।

काठमाडौं आएपछि कत्तिको हण्डर खानुपर्‍यो ?

केही वर्ष त निकै गाह्रो भयो । ०४३ सालदेखि मैले गोपाल कर्माचार्यको संरक्षण पाएँ । उहाँले मलाई आफूसँगै राखेर पढाइदिनुभयो र संगीत पनि सिकाउनुभयो । ०४३ देखि ०४७/४८ सम्म उहाँसँगै बसेँ । पछि रेस्टुरेन्टहरुमा गजल गाउन थालेपछि एक्लै बसेको हुँ ।

त्यतिबेला रेस्टुरेन्टमा गाउँदा कति पैसा पाउनुहुन्थ्यो ?

सुरुमा दरबारमार्गको होटलमा गाउँदा मासिक १५ सय जति पाइन्थ्यो । त्यसपछि सुराही रेस्टुरेन्टमा गएँ । त्यहाँ ३२ सय रुपैयाँ तलब थियो । टिप्सहरु पनि आउने भएकाले खानलाउन पुग्थ्यो । ०५० सालमा आशिर्वाद एल्बम निकालेपछि रेस्टुरेन्टमा गाउन छोडेको हुँ ।

आशिर्वाद एल्बम त निकै हिट भयो, त्यसबाट कति पैसा कमाउनुभयो ?

त्यो एल्बम गोपाल कर्माचार्यले निकाल्नुभएको हो । त्यसको आय-व्यय सबै उहाँको थियो । मलाई आर्थिक लाभ भएन ।

तपाईंलाई पारिश्रमिक त दिनुभयो होला नि ?

मैले पारिश्रमिक पनि लिइनँ । उहाँ मेरो बुवाजस्तो हुनुहुन्थ्यो, के पारिश्रमिक लिनु । त्यो मात्र होइन, मैले गोपाल कर्माचार्यसित जति पनि काम गरेँ, पारिश्रमिक कहिल्यै मागिनँ । आशिर्वाद फिल्म गर्दा चाहिँ उहाँले केही पारिश्रमिक दिनुभएको थियो ।

यदि गोपाल कर्माचार्यसँग नभेटेको भए तपाईं आज यो स्थानमा हुनुहुन्थ्यो होला ?

उहाँ मेरो गडफादर हो । तर, यसको मतलव गोपाल कर्माचार्य नभएको भए रामकृष्णले केही गर्न सक्दैनथ्यो भन्ने पनि होइन । उहाँले मलाई सडकबाट टपक्क टिपेर गायक बनाइदिनुभएको होइन । प्रतिभा त थियो नि मसित । मलाई प्लेटर्फम चाहिएको थियो, त्यो उहाँले दिनुभयो ।

उहाँ नभेटिएको भए अरु कोही भेटिनसक्थ्यो होला । वा कोही नभेटिन पनि सक्थ्यो । मेरो गायन यात्रा अगाडि नबढ्न पनि सक्थ्यो । तर, यति चाहिँ हो कि मसँग प्रतिभा भएर नै उहाँले मलाई अवसर दिनुभएको हो । अर्को कुरा के पनि हो भने मलाई अगाडि बढाउने क्रममा उहाँलाई पनि लाभ भएकै छ । रामकृष्ण ढकालको ‘गडफादर’ भनेर उहाँलाई धेरैले चिन्छन् । उहाँले मसँग गरेका कामहरु आर्थिकरुपमा पनि सफल भएका छन् ।

पछि उहाँसँग तपाईंको सम्वन्ध किन बिग्रियो ?

सम्वन्ध कहिल्यै बिग्रिएको छैन । एकपटक चाहिँ मेरो चित्त अलिकति दुःखेको थियो उहाँसित । के भयो भने, मैले विवाह गर्ने बेलामा उहाँसँग अलिकति पैसा मागेँ । म त उहाँको छोराजस्तो थिएन नि । त्यसैले मैले विवाह गर्दा अरु कोसित पैसा माग्न जाने ?

तर, उहाँले दिनुभएन । नदिनुभएपछि मैले मन दुखाएँ । अनि केही समय मनमुटावजस्तो पनि भयो । तर, पछि उहाँले दिनुभयो । त्यसबाहेक हाम्रो सम्वन्धमा कहिल्यै दरार आएको छैन । अहिले पनि म उहाँलाई भेट्न गइरहन्छु ।

आफ्नो सांगीतिक करिअरमा सबैभन्दा कठिन समय कुन हो तपाईंका लागि ?

नेपाली संगीतमा मैले ३० वर्ष बिताइसक्दा धेरै आरोह-अवरोहहरु भोगेको छु । कठिनाई त आइ नै रहन्छन् । अहिलेकै समयलाई पनि कठिन नै मान्छु । संगीतको स्वाद फेरिएको छ । प्रविधि फेरिएको छ । त्यसबमोजिम आफूलाई ढाल्नुपर्ने चुनौति छ । स्रोतालाई नयाँ के दिने भन्ने दबाव भइरहन्छ । तीन दशकसम्म यो क्षेत्रमा टिक्नु नै ठूलो कुरा हो । नेपालमा संगीतमा मात्रै लागेर जीवनयापन गर्न अझै पनि सहज छैन ।

पेशा परिवर्तन गर्ने सोच कहिल्यै आएन ?

म आफ्नो प्यासनले संगीतमा लागेको हो । यही प्यासनले गर्दा १३ वर्षको उमेरमा घर छोडेर हिँडे । कैयौं रात भोकै बिताएँ । तर, कुनै पनि क्षणमा संगीतबाट अलग हुने सोचाई मेरो दिमागमा आएन ।

बिहेपछि लगत्तै हामी श्रीमान-श्रीमती अमेरिका जाँदा धेरैले हामीलाई त्यतै बस्न सुझाव दिनुभएको थियो । तर, मलाई मन लागेन । पछि पनि अमेरिका जाँदा अब यो उतै बस्छ भनेर सोच्नेहरु धेरै छन् । तर, ममा कहिल्यै त्यस्तो विचार आएको छैन ।

हो, कहिलेकाहीँ नचाहिँदा आरोपहरु खेप्नुपर्दा सायद त्यतिबेला अरुले भनेको मानेर अमेरिकामा बसेको भए आरामको जिन्दगी त बाँच्थे होला भन्ने लाग्छ । तर, त्यस्तो सोचाई क्षणिक मात्र हुन्छ ।

संगीतमा लागेर मलाई धेरै पैसा कमाउनु छैन । सहज जीवनयापन गर्न पाए पुग्छ । मलाई स्रोता र दर्शकले दिनुभएको मायाले नै यो क्षेत्रमा अटुटरुपमा लाग्न प्रेरणा दिइरहेको छ ।

अझै दुई दशक संगीत कर्ममा क्रियाशील रहन सक्छु भन्ने आत्मविश्वास छ । भोलि आर्थिक संकट नै आयो भने साइड विजनेसका रुपमा केही गर्न सकिएला, त्यो छुट्टै कुरा हो । अहिलेसम्म चाहिँ दिनरात संगीतभन्दा अर्को कुरा दिमागमै छैन । यो क्षेत्रमा लागेर गल्ती गरेँ भन्नेखालको भावना कहिल्यै आएन ।

तपाईंले डेराको जीवन कति बिताउनुभयो ?

विवाह गर्दासम्म फ्ल्याट लिएर बस्थें । ०५९ सालमा बिहे भयो । त्यसपछि ०६०/६१ मा लाजिम्पाटमा घर किन्यौं । ९ आना जग्गामा बनेको घर ५५ लाख रुपैयाँ परेको थियो । साथै रिनोभेसनमा २८ लाख रुपैयाँ लागेको थियो । छोरी त्यही घरमा जन्मिएकी हुन् ।

लालिगुराँस सहकारीको सम्पर्कमा तपाईं कसरी पुग्नुभयो ?

लाजिम्पाटको घर फ्ल्याट सिस्टमको थियो । त्यहाँ अलि असुविधा भएपछि ०६४ सालतिर त्यो बेच्यौं र हात्तिगौंडामा एउटा हाउजिङमा घर किन्यौं । त्यो घरमा दुई वर्ष बस्याैं ।

त्यही क्रममा मेरो आफन्तमार्फत लालिगुराँस सहकारीसँग सम्पर्क भयो । उहाँहरुले भैंसेपाटीको हाउजिङमा घर किन्नलाई सहजरुपमा लोन दिने प्रस्ताव राख्नुभयो । भैंसेपाटीमा श्रीमतीका आफन्तहरु पनि बस्नुहुन्थ्यो । त्यसैले हात्तिगौंडाको घर बेचेर भैंसेपाटीमा किन्ने सल्लाह गर्‍यौं । त्यसपछि सहकारीबाट १७ प्रतिशतमा १ करोड ८० लाख रुपैयाँ लोन लिएका हौं ।

लोन लिएर त्यसको किस्ता चाहिँ किन तिर्नुभएन ?

किस्ता तिर्दै नतिरेको भन्ने होइन । लालीगुराँसका सीईओले एक पैसा किस्ता नतिरेको भनेर झूटो प्रचार गरेका छन् । पटक-पटक गरेर मैले ४८ लाख जति क्यास तिरेको छु ।

मासिक कति थियो किस्ता ?

सावाँ र व्याज गरेर तीन लाख रुपैयाँ तिर्नुपर्थ्यो । ब्याज १७ प्रतिशत थियो । एक महिना ढिला भयो भने ३६ प्रतिशत पुग्थ्यो ।

त्यतिबेला तपाईंको मासिक ३ लाख किस्ता तिर्ने क्षमता थियो त ? घाँटी नहेरी हाड निल्न खोज्दा समस्या आएको हो कि ?

त्यस्तो होइन । हात्तीगौंडाको घर बेचेर लोन तिर्ने हाम्रो योजना थियो । तर, त्यो घर तुरुन्त बिकेन । त्यसैले अलिकति समस्या भयो । त्यसबेला म हरेक दिन उठेपछि गीत रेकर्ड गर्न होइन कि घर किन्ने ग्राहकको खोजीमा दौडिन्थेँ । तर, सफल भइनँ ।

पछि म विदेशमा भएका बेला लालिगुराँसले घर लिलामीको सूचना निकाल्यो । अनि, किन्ने ग्राहक नआएको भनेर १ करोड ५० लाखमा मूल्यांकन गरेर आफैंले सकार्‍यो ।

कुनै पनि बैंक वा सहकारीले धितोको मूल्यांकनभन्दा ६०/७० प्रतिशत मात्रै लोन दिन्छन् । मलाई १ करोड ८० लाख रुपैयाँ लोन दिन तयार हुँदा सहकारीले कम्तिमा अढाई करोड रुपैयाँ त मूल्यांकन गरेको थियो होला । तर, लिलामीमा बिक्री नभएको भनेर एकतर्फीरुपले जम्मा डेढ करोड मूल्यांकन गर्‍यो र घर आफैंले लियो । अनि घरबाट ऋण असुल-उपर नभएको भनेर हामीलाई निरन्तर खेद्ने काम भयो । त्यसपछि म अदालत गएँ । अदालतले मेरो पक्षमा फैसला गरेपछि बल्ल उनीहरुले पिछा गर्न छोडे ।

कतिसम्म सहने एउटा सहकारीको अत्याचार ? लालीगुराँस सहकारीबाट पीडित भएको म मात्र होइन, अरु पनि सयौं छन्

तर, लालिगुराँसका सीईओले त अदालतले आफूहरुलाई जिताएको दाबी गरिरहेका छन् नि ?

त्यो त फैसला हेर्दा भइहाल्छ नि । अदालतले फैसलामा बकाइदा भनेको छ कि प्रतिवादीको तर्फबाट कुनै मागदावी नआएकाले हरहिसाब गर्नु आवश्यक देखिएन ।

त्यसोभए अहिले आएर फेरि किन तपाईंहरुको नाममा सूचना निकालियो त ?

त्यो केबल मलाई बदनाम गराउने चेष्टा मात्रै हो । उनीहरुले सूचनामा ऋण तिर्न आउनु भनेको छैन । केवल हामी दुईका नाममा पाँच करोड लोन देखाइएको छ । यो हास्यास्पद हो ।

सहकारी ऐनअनुसार पनि धितोले नखामेको स्थितिमा एक वर्षभित्र अरु सम्पत्तिबाट असुलउपर गर्नुपर्ने हुन्छ । उहाँहरु त चार वर्ष चुप लागेर बस्नुभयो । अहिले आएर ५ करोड रुपैयाँको दाबी गर्ने उहाँहरुसँग कुनै आधार नै छैन ।

तपाईंले पनि लोन नतिर्नका लागि प्रधानमन्त्रीसम्मको पावर लगाउनुभयो रे त ?

लालीगुराँसका सीईओले डा. बाबुराम भट्टराईलाई मैले फोन गर्न लगाएको भन्नुभएको छ । त्यति पावर मेरो छैन । खासमा प्रधानमन्त्री हुँदा बाबुराम भट्टराईले मेरो बारेमा न्यूज पढ्नुभएको रहेछ । त्यसपछि, कलाकार भएको नाताले चासो लागेर होला, आफैंले फोन गर्नुभयो ।

मैले आफ्ना कुराहरु उहाँलाई भनेको हुँ । तर, फोन गरेर ब्याज मिनाहा गरिदिनुपर्‍यो भनेर भनेको छैन ।

बरु पावर त उहाँहरुले देखाइरहनुभएको छ । अस्ति भर्खर ऋषि धमलाजीको टेलिभिजनमा लालिगुराँसका पीडितहरुसँग अन्तरवार्ता लिएर कार्यक्रमको प्रोमो पनि बजाइयो । तर, पछि त्यो कार्यक्रम नै खारेज गरेर त्यो समयमा उल्टै लालीगुराँसका सीईओको अन्तरवार्ता बजाइयो । राष्ट्रिय मिडियालाई यसरी प्रयोग गर्नु चानचुने पावर हो ?

बसिरहेको घर लिलामी भएर छोड्नुपर्दा कत्तिको विरक्ति भएको थियो ?

निश्चय पनि दुःख लागिहाल्छ । हामी मात्र होइन, यसको असर छोरीमा पनि परेको छ । उनले सानैदेखि लालीगुराँस लालीगुराँस सुन्दै आइन् । र, यो नामप्रति नै उनमा एक प्रकारको घृणाभाव उत्पन्न भएछ । एकपटक नर्सरी पढ्दा शिक्षिकाले उनलाई लालिगुराँस फूलको चित्रमा कलर गर्ने होमवर्क दिएकी रहिछन् । तर, उनले कति गर्दा पनि त्यसमा कलर गर्न मानिनन् । अहिलेसम्म पनि उनलाई लालिगुराँस भन्ने फूलसँग नै ‘नफरत’ छ ।

त्यो घर छोड्नुपरेपछि कहाँ बस्नुभयो ?

हामी भैंसेपाटीमा नै भाडामा बस्यौं । पछि त्यहीँ एउटा हाउजिङमा घर किनेर बसिरहेका छौं ।

अब चुप बस्नुहुन्छ कि कुनै कदम चाल्नुहुन्छ ?

म सहकारीविरुद्ध मानहानीमा जान सक्छु । यति मात्र होइन, उनीहरुले मविरुद्ध झूटो प्रचारबाजी गरिरहे भने म आफ्नो लिलामी भएको घर पनि फिर्ता पाउनुपर्ने माग गरेर मुद्दा हाल्ने छु । मेरो घर अन्यायपूर्वक लिलामी भएको छ ।कतिसम्म सहने एउटा सहकारीको अत्याचार ? लालीगुराँस सहकारीबाट पीडित भएको म मात्र होइन, अरु पनि सयौं छन् ।

https://www.onlinekhabar.com/2019/08/790680