‘पिक्चर तो अभी बाँकी है मेरे दोस्त !’ संसारभरि नै करोडौं समर्थक रहेका शाहरुख खान अभिनित चलचित्र ओम शान्ति ओमको चर्चित डाइलग हो यो । र, यो डाइलग शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका रवि लामिछानेसँग पनि मिल्दोजुल्दो बन्न पुगेको छ ।

सो प्रकरणमा प्रमुख अभियुक्तको रुपमा मुद्दा खेपिरहेका रवि लामिछाने जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा छुटेपछि उनलाई समर्थन र माया गर्ने धेरैलाई लागेको छ– ‘रवि रिहा भएका छन्, उनीमाथिको मुद्दा सकिएको छ ।’ तर यथार्थ चाहिँ ठीक उल्टो छ । वास्तवमा, भर्खर मात्रै यो मुद्दा अदालती प्रक्रियामा अघि बढेको छ र माथि शुरुमा उल्लिखत चलचित्रको डाइलग जस्तै यो मुद्दामा ‘पिक्चर तो अभी बाँकी है’ भने जस्तै अरु धेरै चरणहरु पार गर्न बाँकी नै छ ।

सोझो भाषामा भन्दा, रवि लामिछानेमाथि लागेको अभियोगबाट उनी मुक्त भएका छैनन् । कानूनका नजरमा लामिछाने अझै अभियुक्त नै हुन् । कुरा यति हो, उनले प्रहरीको हिरासतमा वा जेलको छिँडीमा बसेर मुद्दाको सामना गर्नुपर्दैन, उनी बाहिर बसेरै त्यो मुद्दा लड्न पाउनेछन् । यसको अर्थ के पनि हो भने यो मुद्दाबारे अन्तिम छिनोफानो भैसकेको छैन ।

तर लामिछानेसहित मुद्दाका तीनैजना अभियुक्त (युवराज कँडेल र अस्मिता कार्की) धरौटीमा र साधारण तारिखमा अदालतबाट बाहिर निस्केपछि कतिपयले लामिछानेको जीत भएको भन्दै खुशीयाली मनाउने र प्रचारबाजी समेत गर्ने गरिरहेका छन् ।

 रमाइलो कुरा के छ भने अनुसन्धानको दायरामा प्रवेश गरेकाले अन्तिम निर्णय नआउदासम्म उनीहरु दोषी या निर्दोष के हुन् भन्ने निक्र्योल भैनसकेपनि बाहिर आ–आफ्नै ढंगले व्याख्या र विश्लेषण भइरहेको छन् । 

यसरी बाहिर हुने गरेका अड्कलवाजीका आधारमा धेरैले आफ्ना आफ्नै धारणा पनि बनाउने गरेका छन् । त्यसो त आरोपितहरुलाई अदालतले धरौटीमा छाडेलगत्तै सञ्चारमाध्यमहरुमा लामिछानेले कानुनी प्रकृयाप्रति आफ्ना केही ‘रिर्जभेसन’ भएको भन्दै त्यसको कानुनी आधारमै उपचार खोज्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । 

तर यो प्रकरणमा अनुत्तरित प्रश्नहरुको जवाफ खोज्न भने अदालतको अन्तिम आदेश कुर्नुबाहेक कुनै विकल्प छैन । 

उठेका प्रश्न र थपिएका चुनौती
जिल्ला अदालतको प्रारम्भिक आदेशको पृष्ठ ८ मा ‘निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रिकर्ड गरेको अवस्था देखिन्छ’ उल्लेख भएको छ । यसको अर्थ पुडासैनीले सो आत्महत्याको ‘बकपत्र’ भिडियो रेकर्ड अर्को मानिसको सहयोगमा नै खिचेको हो त भन्ने प्रश्न खडा भएको छ । 

यस स्थितिमा पुलिसका सामु अदालतसमक्ष सो भिडियो दोस्रो व्यक्तिको सहयोगमा नभई स्वयं मृतक आफू एक्लैले खिचेको हो भनी प्रमाणित हुने गरी प्रमाणहरु जुटाउनुपर्ने चुनौती खडा भएको छ । त्यसो गर्न सकेको खण्डमा उक्त भिडियो मुद्दामा निर्णायक प्रमाण मध्येका एक बन्न पनि सक्छ । 

 

Source: ratopati.com