अर्थमन्त्री डा युवराज खतिवडाले बैंकहरुले ब्याजदरमा ग्राहकमाथि खेलवाड गरेको आरोप लगाएका छन। एक दुई बर्षसम्म एकल अंकको ब्याजदरमा ऋण दिन नसक्ने बताउने बैंकले अहिले आफैले एकल अंकमा गाडी कर्जा दिन्छु भनेर ग्राहकमाथि खेलवाड गरेको आरोप लगाए। 

मन्त्री खतिवडाले २ बर्षसम्म ब्याजदरलाई एकल अंक मै कायम राख्न सक्ने भएमात्र एकल अंकको ब्याज दिन बैंकहरुलाई निर्देशन दिए । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा केहि बैंकले गाडी किन्नलाई एकल अंकको ब्याजदरमा ऋण दिने प्रचार प्रसारप्रति इंगित गर्दै अर्थमन्त्री खतिवडाले भने, 'अर्को दुई वर्षसम्म एकल अंकको ब्याजदर कायम राख्न सकिँदैन भन्ने अनि अहिले एकल अंकमा ऋण दिनु गलत छ,   चार महिनापछि ब्याज बढाउने सोचले अहिले एकल अंकको ब्याजमा ऋण दिन्छु भन्नु सरासर ग्राहकमाथि खेलवाड हो।'

बैंकहरुले ब्याजको बिषयमा ग्राहकमाथि खेलवाड गरेकाले त्यसको जवाफ आफुले संसदमा दिनुपरेको बताउदै अर्थमन्त्री खतिवडाले बैंकहरुलाई एकल ब्याजदरमा कर्जा दिन्छु भनेर भ्रमित नपार्न निर्देशन दिएका छन। मन्त्री खतिवडाले बैंकहरुले मध्यमकालिन रोडम्याप तय नगरे बैंकिङ तरलता अभावको समस्या भोगिरहनु पर्ने बताए। बैंकहरुले केहि बर्ष अगाडी निक्षेपमा २-३ प्रतिशतको मात्र ब्याज दिंदा निक्षेपकर्ता टाढिएको बताउदै मन्त्री खतिवडाले अहिलेको तरलता अभावको कारण पनि त्यहि भएको बताए । उनले निक्षेपको ब्याजदर बढाएर कम्तिमा पनि मूल्यवृद्धि दर भन्दा माथि पुर्याउन राष्ट्रिय बाणिज्य बैंकलाई सुझाव दिए । हाल बैंकको आधार ब्याजदर ५.५ प्रतिशत मात्र छ भने मूल्य वृद्धिदर ६.५ प्रतिशत भित्र राख्ने सरकारी लक्ष्य छ । 

दुई बर्षलाई पुग्ने माग अहिल्यै 

त्यस्तै अर्थमन्त्री खतिवडाले पछिल्लो समय आर्थिक गतिबिधि सुस्ताएको भन्ने टिप्पणी प्रति प्रतिकृया दिएका छन। उनले अबको दुई बर्षलाई पुग्ने माग अहिलेनै बैंकमा आइसकेको बताउदै बैंकसंग स्रोत हुने हो भने अहिलेको माग दुई बर्षलाई पुग्ने भएको बताए।

राष्ट्र बाणिज्य बैंकको देशभरीका १४ शाखाको राजधानीबाटै उद्घाटन गर्दै उनले ३१ खर्बको बैदेशिक लगानीको प्रतिवद्धता आएको जानकारी दिए। बैंकहरुले यत्रो कर्जा लगानी गर्दा पनि कर्जाको माग बढेको भन्दै ३१ खर्बको प्रतिवद्धतालई कसरी भित्राउने भन्ने सोच्नुपर्ने उनले बताए।

बैंकको नाफा वृद्धिको पक्षमा अर्थमन्त्री

त्यस्तै अर्थमन्त्री खतिवडाले बैंकहरुले ६५ अर्ब नाफा भनेर हेर्नु भन्दा त्यसको लागि उनीहरुले कति पुंजी लगानी गरेका छन भनेर हेर्नुपर्ने बताएका छन। कति पुंजी लगानी गर्दा कति प्रतिशत आम्दानी आएको छ र कति प्रतिशत प्रतिफल लगानीकर्ताले पाएका छन त्यो हेर्नुपर्ने उनले बताए। 

 

Source: Bizpati.com