भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ।आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ।

सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला? व्यवसायी भन्छन्-‘दशैंमा चाहिने खसीबोका नआए किलोकै १६ सय रुपैयाँसम्म पुग्छ।’

दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ। कलंकी खसी बजार संघका अध्यक्ष जनकराज खतिवडाले भारतबाट खसीबोका नआए मूल्य अझै आकासिने बताउँछन्।उनका अनुसार अहिले गैरकानुनी बाटोबाट खसी भित्रिरहेको छ।‘दशैंको समयमा भारतबाट खसी नआए मूल्य जिउँदोनै ८ सय रुपैयाँ सम्म पुग्न सक्छ,’उनले बिजमाण्डूसँग भने,’जिउँदो ८ सय पुगे मासुको मूल्य किलोकै १६ सय पुग्छ।’

अहिले बजारमा जिउँदो खसीको मूल्य प्रतिकेजी ५ सय ८० देखी ६ सय २० रहेको छ भने मासु किलोको १३ सय रुपैयाँ पुगेको छ।दशैं अघि ७ दिनमा मात्र उपत्यकामा ५० हजार खसीको आवश्यक पर्छ।

खाद्यले ३ हजार खसी/च्याङग्रा ल्याउने

खाद्य संस्थानले यो वर्षको दशैंका लागि ३ हजार खसी/च्याङग्रा उपत्यका ल्याउने भएको छ। संस्थानले गत वर्ष २ हजार खसी/च्याङग्रा ल्याउने भनिएपनि १३ सय मात्र ल्याएको थियो।

खसी अभाव भएकै कारण कोटा भन्दा कम खसी आयात गरिएको संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताए। उनका अनुसार यो वर्ष ३ हजार खसी/च्याङग्रा ल्याउने तयारी संस्थानले गरेको छ। तर हालसम्म पनि संस्थानको बोर्डले पास गर्न सकेको छैन।

भारतबाट अबैंध बाटोबाट भित्रिने खसी नियन्त्रण गर्न उपभोक्तावादीले माग गरेका छन्। अहिले भारतबाट ७५ प्रतिशत खसीबोका अवैध बाटोबाट भित्रिने गरेको उपभोक्ता मञ्च नेपालका महासचिव शत्रुधनप्रसाद देवले बताए। उनले दशैंको समयमा दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

काठमाडौंमा दैनिक १२ सय खसी खपत

काठमाडौं उपत्यकामा दैनिक १२ सय खसी बोका खपत हुने संस्थानले जनाएको छ। जसमा ४ सय आन्तरिक उत्पादन हुन्छ भने ७ सयदेखी ८ सय खसीबोका भारतीय बजारबाट भित्रिदै आएका छन्।

यस्तै ७ सय देखी ८ सय रागाँभैसी उपत्यकामा खपत हुँदै आएकोमा ९० प्रतिशत माग आन्तरिक उत्पादनले धान्दै आएको छ भने १० प्रतिशत भारतीय बजारबाट आउने गर्छ। यसैगरी दैनिक ३ लाख देखी ३ लाख ५० हजार केजी कुखुराको मासु उपत्यकामा हुन्छ। यसमा भने आन्तरिक उत्पादनले धान्दै आएको छ।

उपत्यकामा दैनिक माछा  दैनिक ४ देखी ५ हजार किलो खपत हुने गर्छ। माछामा भने ४० प्रतिशत आन्तरिक उत्पादन र ६० प्रतिशत बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था छ। यस्तै शतप्रतिशत आन्तरिक उत्पादन हुने बंगुर दैनिक ६ सय वटा खपत हुने गरेको छ।

Source:bizmandu.com