लामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्।

कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।
कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए।

विभिन्न बहानामा महंगो शुल्क लिने र कन्टेनर नेपाल पुर्याउँदा समेत जालझेल गरी नेपाली व्यवसायीलाई दुख दिन थालेको ब्यापारीहरुको आरोप थियो।

व्यवासायीले मालसामान ल्याउन कम गरेपछि गत जुन ३० मा कोलकाता बन्दरगाहका अध्यक्ष विनित कुमारले जम्बो टोली लिएर वीरगंजका व्यवासायीलाई फकाउन नेपाल समेत आएका थिए । यो बन्दरगाहको उच्च अधिकारीको पहिलो वीरगंज भ्रमण थियो ।

गत फागुन ३ गतेदेखि कोलकाता बन्दरगाहबाट आयात निर्यात सहजताको लागि शुरु गरिएको इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम(इसिटिएस)पनि खासै फलदायी हुन सकेको छैन। यो सेवा शुरु भएसंगै कोलकाता बन्दरगाहमा एजेन्टहरुले हडताल शूरु गर्दै आफनो सिन्डीकेट हाबी रहेको पुष्टि गरेका थिए ।

सन् २००४ देखि वीरगंजमा सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि कोलकत्ताबाट रेलबाट मालसमान ल्याउने सिलसिला शुरु भएको थियो । यसअघि कलान्तरदेखि  समुन्द्रपारबाट मगाइएको मालसमान कोलकता बन्दरगाह हुँदै ट्रकबाट वीरगंज आइपुग्ने गरेको थियो ।

नेपाली आयातको ७० प्रतिशत हिस्सा ओगेटेको कोलकत्ता बन्दरगाह अहिले ३० प्रतिशत कन्टेनर सप्लायर्सको रुपमा सिमित भएको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजका प्रमुख उमेश श्रेष्ठ बताउँछन् ।

‘कोलकाता पोर्ट ट्रस्ट सरकारी पोर्ट हो, क्लियरिङ एजेन्टको मोनोपोली, बन्दरगाहको कमजोर व्यवस्थापन तथा विभिन्न शिर्षकमा हचुवाको भरमा शुल्क र भाडा बढाइनुले आयातकर्ता आजित भएर अन्तैबाट सामान मागाउन थालेका हुन् ,’उनले भने,‘विशाखापट्टनमबाट अहिले दुई तिहाई भन्दा बढी मालसमान आइरहेको छ,वैशाख १० पछि कोलकाता पछि परेको हो ।’

उनले विशाखापट्टनममा इसिटिएस लागेपछि सहजै मालसमान विना विचौलियाको भूमिका विना नेपाल आइरहेको समेत जानकारी दिए।
कोलकाता बन्दरगाहमा पनि भारत सरकारले त्यो सुविधा दिन फागुन ३ गते देखि यो शुरु गरेको तर अपेक्षा अनुसार फाइदा पुग्न नसकेको भन्सार प्रमुख श्रेष्ठको भनाई छ ।

‘विशाखापट्टनमबाट मालसमान मगाउदा पहिले नै ४० हजार जति प्रति कन्टेनर फाइदा हुन्थ्यो,अहिले आएर फेरी कोलकतामा हैन्डलिग चार्जको रुपमा सिपिङलाइनले भाडा बढाएका छन्,जसले गर्दा प्रति कन्टेनर ७० देखि ८० हजार महंगो भएर त्यहाबाट विशाखापट्टनमतिर नेपाली व्यापार सिफ्ट भइरहेको हो,’उनले भने ।

वीरगंज ड्राइपोर्ट सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल प्रालिका सिइओ विष्णुकान्त चौधरीले सन २०१७ देखि नेपाली आयातनिर्यातको लागि स्वीकृति पाएको विशाखापट्टनम बन्दरगाहको कारण नेपाली पारवाहन सस्तिएको बताए । उनले भने,‘पहिले जुन स्टेजमा कोलकाताले बिजनेस गथ्र्यो, अहिले अवस्था फेरिएको छ, विशाखापट्टनमबाट ७० प्रति कन्टेनर आइरहेको छ भने कोलकाताबाट महंगो परेर व्यवसायी जम्मा ३० प्रतिशतजति मात्र रेल मार्गबाट मालसमान मगाइरहेका छन् ।

टर्मिनलको तथ्याक अनुसार गत आर्थिक वर्षमा कोलकाता, विशाखापट्टनमबाट दुबै गरी जम्मा ५४४ र्याक मालसमान आएको थियो ।एउटा र्याकमा २० फिटे र ४० फिटे गरी जम्मा ९० वटा कन्टेनर अटछ ।चालू आर्थिक वर्षको गत साउनमा ६० र्याक आएका छन् ।जस मध्ये ४४ जति विशाखापट्टनमबाट आएको छ ।

वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदिप केडियाले व्यापारीहरु आजित भएर विशाखापट्टनमतिर व्यापार सिफ्ट गरेको बताए । उनले जहाँबाट माल सस्तो हुन्छ,त्यहीबाट मगाउन थालिएको बताए । पटकपटक कोलकाता बन्दरगाहलाई ध्यानार्षण गराउने कोशिस भए तपानि बन्दरगाह प्रशासनले ध्यान नदिएको कारण उसको कारोबार न्यून हुन थालेको बताए ।

धामरा पोर्टको लागि नेपाल सरकारले थाल्यो पहल

व्यवसायीहरुको अनुसार नेपाली आयातनिर्यातको लागि भारतको अर्को बन्दरगाह धामरा पोर्टको लागि पनि कोलकातास्थित नेपाली दूतावासले पहल थालेको बताएका छन् ।

करिब साढे ९ सय किलोमिटर वीरगंजबाट टाढा रहेको यो बन्दरगाह विशाखापट्टनम जस्तै सामुन्द्रिक बन्दरगाह हो जहाँ ठुला जहाज सहजै लोड अनलोड हुन सक्छ र सडक मार्ग र रेलमार्गबाट विशाखापट्टनम भन्दा पनि सस्तो हुने विश्वास छ ।

यदि यो पोर्टको लागि भारत सरकारले अनुमति दिइयो भने नेपाली आयातको काया पल्ट हुने र नेपालमा महंगी कम हुने पनि विश्वास लिइएको नेपाली दूतावसले जनाएको छ ।

Source:bizmandu.com