सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् ।

 

प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि उनको उपचार थालेका थिए ।

प्लाज्मा फेरेसिस् उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

यही विधिमार्फत शुक्रबारबाट थालिएको प्रधानमन्त्रीको उपचार अर्को सातासम्ममा पूरा हुने रिमालले बताएका छन् ।

रिमालका अनुसार नयाँ विधिबाट थालिएको उपचारबाट प्रधानमन्त्रीले स्वास्थ्यलाभ गरिरहेका छन् । उनको अवस्था अहिले सामान्य छ ।

प्रधानमन्त्रीसँगै सिंगापुर गएकी उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाह भने बुधबार नै स्वदेश फर्किएको पनि रिमालले जानकारी दिएका छन् । उपचार प्रक्रिया चलिरहेका बेला शाह किन फर्किइन् भन्नेबारे भने उनले केही खुलाएका छैनन् ।

मिर्गौला समस्याबाट पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत साता सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।

source: onlinekhabar.com