१८ साउन, काठमाडौं । नेपालमा वाषिर्क ३० हजार मेट्रिकटन हाराहारी मात्रै उत्पादन हुने भटमासको तेल नेपालको प्रमुख निर्यातक वस्तु बनेको छ ।

नेपाली ब्यापारीले ब्राजिल, बंगलादेश र क्यानडा लगायत मुलुकबाट आयात गरेर साफ्टा सुबिधा अन्तर्गत भारतमा निर्यात बढाएपछि स्वदेशमा उत्पादन नभए पनि भटमासको तेल नेपालको एक नम्बर निर्यात वस्तु बनेको हो ।
आर्थिक वर्ष ०७६/७७ मा १२ अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्रै भटमासको तेल निर्यात गरेको नेपालले आव ०७७/७८ मा यसलाई झण्डै पाँच गुणाले बढाएको भन्सार विभागको विवरणमा देेखिन्छ । आव ०७७/७८ मा नेपालबाट ५३ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरै भटमासको प्रशोधित तेल निर्यात गरेको छ । दोस्रो ठूलो निर्यातमा सिन्थेटिक यार्न धागो छ भने तेस्रोमा उनी गलैंचा छ ।

आव ०७६/७७ मा ७ अर्ब १९ करोड भन्दा धेरैको धागो निर्यात भएकोमा ०७७/७८ मा उक्त निर्यात बढेर ८ अर्ब ३६ करोड हाराहारी पुगेको छ । यस्तै ०७६/७७ मा ६ अर्ब १५ करोडको निर्यात रकेको उनी गलैंचा ०७७/७८ मा ७ अर्ब २४ करोड भन्दा धेरै छ ।

यस्तै अलैंची, रेडिमेड कपडा, जुट र यसबाट बनेका वस्तु, फलफूलको जुस क्रमशः निर्यात बढी मात्रामा हुने वस्तुहरुको सूचीमा छन् । यस्तै जमोठ कपडा, चिया र विभिन्न प्रकारका अन्य कपडाहरु नेपालबाट प्रमुख निर्यात हुने १० वस्तु हुन् ।

नेपालले आयात गर्ने १० प्रमुख वस्तु

अघिल्लो वर्ष जस्तै प्रमुख १० आयात हुने वस्तुको पहिलो नम्बरमा ७७/७८ मा पनि डिजेल नै छ । आव २०७६/७७ मा भन्दा २०७७/७८ मा डिजेलको आयात झण्डै चार अर्बले बढेको भन्सार विभागले जनाएको छ ।

अघिल्लो वर्ष ८७ अर्ब ३७ करोड रुपैयाँ बराबरको डिजेल आयात भएकोमा यस वर्ष ९१ अर्ब ९४ करोड रुपैयाँ बराबरको डिजेल नेपाल भित्रिएको छ । यस्तै दोस्रो ठूलो आयातमा फलामको सामग्री बनाउन प्रगोग हुने एमएस बिलेट छ । अघिल्लो वर्ष ४२ अर्ब २३ करोड रुपैयाँ बराबरको एमएस बिलेट आयात भएकोमा गत वर्ष सो परिमाण बढेर ७१ अर्ब ५३ करोड भन्दा धेरै पुगेको छ ।

यस्तै भटमासको कच्चा  तेल, मोबाइल फोन, एलपी ग्यास क्रमशः तेस्रो, चौथो र पाँचौं नेपालले बढी मात्रामा आयात गर्ने वस्तु हुन् । छैटौंमा पेट्रोल, सातौंमा रेडिमेट गार्मेन्ट, आठौंमा पोलिथिन दान र नवौं धेरै आयात हुने वस्तुमा चामल छ । नेपालमा धेरै आयात हुने १० वस्तुको सूचीमा सुन पनि पर्दछ । अघिल्लो आबको तुलनामा गत आव सुनको आयात दोब्बरले बढेको छ ।

आर्थिक वर्ष ०७७/७८ मा नेपालले कुल १६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । जसमा कूल आयातको हिस्सा १५ खर्ब ३९ अर्ब हाराहारी रहँदा निर्यात १ खर्ब ४१ अर्ब पुगेको थियो । आब ०७७/७८ मा नेपालको कूल व्यापार घाटा १३ खर्ब ९८ अर्ब हाराहारी रह्यो ।

https://www.onlinekhabar.com/2021/08/992591