काठमाडौं । धेरैजसो समय अनलाइन अकाउन्टका लागि पासवर्ड राख्दा हामी धेरै शब्द र क्यारेक्टरहरू प्रयोग गरेर सकेसम्म जटिल बनाउन कोसिस गर्छौं, ताकि हाम्रो अकाउन्ट साइबर आक्रमणबाट सुरक्षित रहोस् ।

 

यसले गर्दा धेरै समय प्रयोगकर्ताले आफैंले आफ्नो पासवर्ड बिर्सिरहेको पनि हुन्छ । यद्यपि बलियो पासवर्डका लागि कुनै जटिल शब्दहरू प्रयोग गर्नेभन्दा पनि आफूलाई सहज हुने मात्र तीन शब्द हुने पासवर्ड प्रणालीको प्रयोग राम्रो हुने विज्ञहरू बताउँछन् ।

बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) का साइबर विज्ञले जटिल अक्षर, शब्द, संकेत अथवा अङ्कहरू प्रयोग गरेर पासवर्ड बनाउनभन्दा पनि तीनवटा कुनै अस्वभाविक शब्दहरू प्रयोग गर्दा उपयोगी हुने बताएका छन् ।

 

तीन शब्दको पासवर्ड प्रणालीले पासवर्ड याद राख्न पनि सहज हुने र यसमा असामान्य शब्द पनि प्रयोग हुने हुँदा अनलाइन अकाउन्टलाई सुरक्षित राख्न सकिने विज्ञहरूको भनाइ छ ।

 

धेरै जटिल पासवर्डहरू प्रयोग गर्दा पनि पासवर्डको प्याटर्न थाहा पाएपछि ब्रेक गर्न सक्ने सफ्टवेयरहरूको विकास भइरहेका बेलामा असामान्य शब्दहरूको प्रयोगले अनलाइन अकाउन्ट ह्याकरको हातबाट बच्नसक्ने विज्ञहरूले बताएका छन् ।

 

त्यसैले जटिल पासवर्डको सट्टामा तीन शब्दको पासवर्ड राख्दा पासवर्ड लामो पनि हुने र फरक अक्षरको संयोजनले ह्याकरलाई पासवर्डको प्याटर्न अनुमान गर्न पनि गाह्रो हुने एजेन्सीले जनाएका छन् ।