काठमाडौं । ललितपुर जिल्लाका गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने कार्यको जिम्मा इन्टरनेट सेवाप्रदायक कम्पनी टेकमाइण्ड्सले पाएको छ ।

 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुरका तीन गाउँपालिकामा इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ यो परियोजना अघि बढाएको हो ।

यसअघि प्राधिकरणले ललितपुर जिल्लाका विकट गाउँपालिका कन्ज्योसोम, बागमती, माहांकालमा इन्टरनेट पुर्‍याउने उद्देश्यले चैतमा टेन्डर आह्वान गरेको थियो ।

 

उक्त टेन्डरमार्फत अन्तिममा टेकमाइन्ड्सले परियोजना हात पारेको छ । अनुमानित लागत चार करोड ८८ लाख गरेको टेकमाइन्ड्ले करिब दुई करोड ४५ लाखमा उक्त परियोजना पाएको छ ।

 

योसँगै अब उक्त कम्पनीले तोकिएको गाउँपालिकामा सम्झौता भएको मितिले ६ महिना भित्र इन्टरनेट सेवा विस्तार गरिसक्नु पर्नेछ ।

 

प्राधिकरणका अनुसार यो परियोजनाका लागि प्राधिकरणले प्राधिकरण अन्तर्गतको बजेट खर्च गर्ने जनाएको छ । यस परियोजनामा स्थानीय गाउँपालिकासँग सहकार्य गरेर उनीहरूलाई समेत जिम्मेवार बनाउने तयारी प्राधिकरणको रहेको छ ।

https://www.techpana.com/2021/99321