चितवन । भरतपुर महानगरपालिकाले अनलाइनबाटै नक्सा पास गर्न सकिने सुविधा सुरु गरेको छ । भूकम्प प्राविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयाेगमा महानगरले घर नक्सा सफ्टवेयर (अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल) प्रयाेगमा ल्याएसँगै अनलाइनबाट घरको नक्सा पास गर्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।

 

याे सफ्टवेयर प्रयाेग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन् । यसपछि महानगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ ।

शुक्रबार महानगरमा एक कार्यक्रमका बीच अनलाइन भवन निर्माण अनुमति प्रक्रियाको सफ्टवेयर उद्घाटन गरिएकाे छ । साे अवसरमा बाेल्दै मेयर रेनु दाहालले प्रविधिको प्रयोग गरी कामलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै सेवाग्राहीलाई घरमै बसेर सेवा लिनसक्ने वातावरण बनाउँदै लगेको बताइन् ।

 

सेवाग्राहीलाई अनावश्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरु अगाडि बढेको उनको भनाइ थियो ।

 

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले करीब २० लाख खर्च लाग्ने सो सफ्टवेयर भरतपुर महानगरलाई निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरेको हाे ।

 

सुरक्षित सहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्न यो सफ्टवेयरले महत्वपूर्ण भूमिका खेल्ने भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले बताए ।

https://www.techpana.com/2021/99751/