काठमाडौं । हुलाक सेवालाई ई-कमर्समार्फत सेवाको विविधीकरण गर्नेगरी देशका प्रमुख शहरहरूमा पाइलट प्रोजेक्ट अघि बढाउन निर्देशन दिइएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा मातहतका निकायसँग बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

 

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालय सम्बद्ध १८ वटा निकायहरूको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसेको थियो । उक्त बैठकमा मन्त्रालय एवं सम्बद्ध निकायहरूको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति समीक्षा र भावी कार्यदिशाका बारेमा छलफल गरिएको थियो ।

बैठकमा आयोगका उपाध्यक्ष पौडेलले  मन्त्रालयको कार्यक्षेत्र वृहत भएकोले कार्यसम्पादनस्तर पनि उच्च हुनुपर्ने बताएका छन् । उनले सार्वजनिक निकायले प्रतिस्पर्धात्मक रूपमा सेवा प्रवाह गर्नु पर्ने, हुलाक सेवाले  ई-कमर्समार्फत सेवाको विविधीकरण गर्न देशका प्रमुख शहरहरूमा पाइलट परियोजना सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

 

साथै सूचना प्रविधिको उच्चतम् प्रयोग गरी शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य सम्भावित क्षेत्रहरूमा नवीनतम सोच अवलम्बन गरी सार्वजनिक सेवा प्रवाहमा मन्त्रालयले प्रमुख भूमिका खेल्नुपर्ने समेत उनले बताएका छन् ।

 

कार्यक्रममा मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयको समग्र प्रगति सन्तोषजनक मात्र भएको बताएका छन् । ‘मन्त्रालयको प्रगति समग्रमात्रै रहेको छ,’ उनले भने, ‘अधिकतम नतिजा प्राप्तिका लागि निरन्तर लाग्नुपर्नेछ ।’

 

साथै सूचना प्रविधि क्षेत्रको प्रमुख दायित्व बोकेको मन्त्रालय भएकोले सेवा प्रवाहमा सूचना प्रविधिको सुरक्षित प्रयोगको प्रवर्द्धन गर्न, डिजिटल माध्यमको बढ्दो प्रयोगबाट उत्पन्न चुनौति सम्बोधन गर्न डिजिटल नेपाल फ्रेमवर्क लागि समन्वयकारी भूमिका खेल्न समेत उनले आग्रह गरेका छन् ।

बैठकमा बेरुजु फछर्यौटलाई प्राथमिकतामा राखी तीव्रताका साथ काम गर्न समेत निर्देशन दिइएको छ ।

https://www.techpana.com/2021/100482/