काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी लोकमार्गलाई आधार मानेर सूचना महामार्ग निर्माण गर्ने सरकारको अभियानले लक्ष्य अनुसार गति लिन सकेको छैन । सूचना महामार्गका रुपमा लोकमार्गसहित सबै जिल्लाहरुका सदरमुकाम र नगरपालिकासम्म कुल ५ हजार ५ सय ३१ अप्टिक फाइबर बिछ्याउने गरी यो परियोजना अघि बढाइएको थियो ।

 

यद्यपि साउन मसान्तसम्म केवल एक हजार ६ किलोमिटर फाइबर बिछ्याउने काम सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । करिब १० अर्ब रुपियाँको यो परियोजनालाई विभिन्न तीन ओटा प्याकेजमा छुट्याएर त्यसै अनुसार सेवा प्रदायकहरुलाई प्राधिकरणले फाइबर बिछ्याउने जिम्मा दिएको छ ।

जसमध्ये पूर्वका प्रदेश एक, दुई र बागमतीको जिम्मा नेपाल टेलिकमले पाएको थियो । नेपाल टेलिकमले मात्र नै हालसम्म सो क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएको छ ।

 

यी तीन प्रदेशमा गरी कुल २ हजार १ सय ७९ किलोमिटर फाइबर बिछ्याउने सम्झौता भएको थियो । सम्झौता अनुसार हालसम्म करिब ४६.१६ प्रतिशत मात्र काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

 

दुई खण्डको काम सुरु भएन

 

अन्य दुई ओटा प्याकेजमध्ये गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम र कर्णालीमा भने अहिलेसम्म कुनै भौतिक प्रगति हासिल भएको छैन । दोस्रो प्याकेज (बाग्मती प्रदेश र लुम्बिनी प्रदेश) अन्तर्गत भने युनाइटेड टेलिकमले दुई वर्षभित्र काम सक्ने गरी सम्झौता भए पनि कार्यको प्रगति शुन्य देखिएपछि प्राधिकरणले सम्झौता म्याद थप गरेको छैन ।

त्यसबारेमा सर्वोच्चमा मुद्दा परेको र मुद्दा टुङ्गो नलागेसम्म अवधि थप नगर्न अन्तरिम आदेश भएको छ । तेस्रो प्याकेजअन्तर्गत टेलिकमसँग दुई वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

सो कार्यका लागि सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । कर्णाली र सुदूरपश्चित प्रदेशका लागि बोलपत्र मूल्याङ्याकनको क्रममा रहेको छ ।

 

गण्डकी र लुम्बिनीमा दुई हजार १६० र कर्णाली र सुदूरपश्चित प्रदेशमा एक हजार ९९२ किलोमिटर दूरीसम्म अप्टिकल फाइवर बिछ्याउने सम्झौता भएको छ ।

देशका विभन्न स्थानमा सडक विस्तार, बाढीपहिरो, हावाहुरी र चट्याङका कारण अप्टिकल फाइवरमा अवरोध आएको गुनासो भने बढ्दै गएको छ ।

https://www.techpana.com/2021/100960/