काठमाडौं । आईओएसमा भएका कमजोरीबारे अनुसन्धानकर्ताहरूले पटक-पटक गरेको रिपोर्टप्रति बेवास्ता भएपछि एप्पलले माफी मागेको छ । आफ्नो गल्ती स्वीकार्दै एप्पलले अनुसन्धानकर्तासँग माफी मागेको छ भने यस विषयमा थप अनुसन्धान थालेको जनाएको छ ।

 

गत हप्तामात्र साइबर सुरक्षा अनुसन्धानकर्मी डेनिस टोकरभले आफूले गरेका रिपोर्टहरू एप्पलले बेवास्ता गरेको र बग समाधान नगरेको भन्दै जिरो-डे आईओएसको कमजोरी सार्वजनिक गरेका थिए ।

उनको रिपोर्टप्रति एप्पलले कुनै प्रतिक्रिया नजनाएपछि सञ्चारमाध्यमबाट सो समस्या सार्वजनिक भएको थियो । यसपछि एप्पलले डेनिसलाई सम्पर्क गरेर बेवास्ताका लागि क्षमा मागेको छ ।

 

एउटा ईमेल पठाउँदै कम्पनीले डेनिसलाई ढिला सम्पर्क गरेकोमा माफी माग्दै उनले रिपोर्ट गरेको कमजोरीहरूमा थप अनुसन्धान भइरहेको बताएको छ ।

 

डेनिसले रिपोर्ट गरेकोमध्ये एउटा आईओएस १४.७ मा भएको कमजोरी एप्पलले समाधान पनि गरेको थियो । यद्यपि कम्पनीले डेनिसलाई यसको लागि कुनै क्रेडिट दिएन ।

 

त्यस्तै अन्य तीन रिपोर्टको अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसपछि भने डेनिसले एप्पललाई समस्या समाधानका लागि दबाबस्वरुप जिरो डे कमजोरीहरू सार्वजनिक गरेको थियो ।

विज्ञ तथा सरोकारवालाहरूले एप्पलले इथिकल ह्याकरहरूका तर्फबाट आएको बग रिपोर्टको प्रतिक्रिया नदिने गरेको भन्दै कम्पनीको आलोचना पनि गरेका छन् ।

https://www.techpana.com/2021/104109/