काठमाडौं । फेसबुकका प्रयोगकर्ता कत्ति छन् ? हामीलाई लाग्न सक्छ, अरुलाई थाहा नभए पनि फेसबुकलाई त पक्कै थाहा होला । तर, भर्खरै सार्वजनिक फेसबुकको आन्तरिक कागजातअनुसार फेसबुक आफैंलाई पनि आफ्नो प्रयोगकर्ता कति छन् थाहा छैन ।

वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको फेसबुकको आन्तरिक कागजातमा आधारित रिपोर्टअनुसार प्रयोगकर्ताले एकभन्दा धेरै अकाउन्ट खाेलेका कारण सक्रिय प्रयोगकर्ता कतिलाई मान्ने भनेर फेसबुक आफैं द्विविधामा छ ।

फेसबुकको आन्तरिक प्रिजेन्टसनमा आधारमा तयार पारिएको रिपोर्टमा नयाँ प्रयोगकर्ताहरूले एकभन्दा भन्दा बढी अकाउन्ट बनाउने गरेको देखिएको बताइएको छ ।

फेसबुकले आफ्ना ५ हजार नयाँ प्रयोगकर्तालाई अध्ययन गर्दा तीमध्ये ३२ देखि ५६ प्रतिशतले पहिल्यै अकाउन्ट बनाइसकेको तथ्य निस्किएको थियो ।

यस्तै, फेसबुकको अर्को आन्तरिक कागजातका अनुसार अमेरिकामा २० देखि ३० वर्ष उमेर समूहका मासिक रुपमा सक्रिय हुने प्रयोगकर्ताको संख्या अमेरिकाका यो उमेर समूहका कूल उपयोगकर्ताभन्दा बढी देखिएको थियो ।

यसको अर्थ हो, त्यहाँका एक प्रयोगकर्ताले एकभन्दा बढी अकाउन्टबाट फेसबुक प्रयोग गरिरहेका छन् ।

आफ्नो दैनिक र मासिक सक्रिय प्रयोगकर्ताको यथार्थ विवरण थाहा नहुँदा विज्ञापनहरूलाई बाँडिने तथ्यांकको विश्वसनीयता नभएको फेसबुकको निष्कर्ष छ । 

https://www.techpana.com/2021/106438/