काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक रुपमा सम्झौता भएको छ ।

 

साथै बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पाेरेट प्रणालीको सुरुवात पनि गर्ने भएको छ ।

उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

 

यस सम्झौताअनुरुप राष्ट्रिय वाणिज्य बैंकले नेसनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्नसक्ने छ ।

 

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन-रियल टाइम तथा ओपन एपीआईमार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

 

साथै बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई डिजिटल प्लेटफर्मको रुपमा कर्पाेरेट पे प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल-टाइम वा नन-रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

https://www.techpana.com/2021/111959/