१९ माघ, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानुनविद लगायतसँग छलफल गरिरहेका छन् ।

भेटमा एमसीसी, संसदमा विचाराधीन विधेयक, जारी संसदको अवरोध खुलाउने विषय र संसदसँग जोडिएका विषयमा छलफल हुने गरेको छ । सरकारले एमसीसीलाई अघि बढाउन पहल थालेपछि सभामुख सापकोटा दबावमा छन् ।

तर, सभामुख सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास हुँदैन भन्ने गरेका छन् । सभामुखलाई पछिल्लो समय भेटेका एक नेताले उनको भनाइ उद्धृत गर्दै अनलाइनखबरसँग भने, ‘संविधान र कानुनले मेरो भूमिका तय गरेकै छ । एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीय रुपमा सहमत भएर आउनुस् न । दलहरु निर्णायक हुँदा मेरो अरु केही भन्नु छैन ।’

एमसीसीको विषयमा सर्वपक्षीय सहमति हुनुपर्नेमा सभामुखको जोड रहँदै आएको छ । होहल्लाका बीच एमसीसी पास गर्ने तयारी भए आफ्नो साथ नरहने सभामुखले प्रष्ट भन्ने गरेका छन् । ‘नाराबाजी भइरहने र एमसीसी पास गर्ने भन्ने हुन्न । संसदमा भ्याकुम भएर बजेट पास गरे जस्तो एमसीसी पास हुन्न,’ सभामुखको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले छलफलहरुमा मुख्य गरी तीनवटा विषय राख्ने गरेका छन्, पहिलो– एमसीसीमा राष्ट्रिय सहमति, दोस्रो– एमसीसीमा जनस्तरबाट उठेका प्रश्नको निरुपण र तेस्रो– संसदको अवरोध अन्त्य । सत्ताका लागि र निर्वाचनमा जानका लागि दलहरु एकमत भएजस्तै एमसीसीको विषयमा पनि एकमत हुँदा राम्रो हुने सभामुखको धारणा रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पास गराउन प्रक्रिया अघि बढाउने तयारीमा छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि संसदमा अवरोध जारी राखेको छ । त्यसैले पहिले संसद खुलाउनुपर्ने हुन्छ । संसद खुलाउने विषयमा यसअघि प्रधानमन्त्री र सभामुखले छुट्टाछुट्टै छलफल आयोजना गरे पनि एमाले अनुपस्थित हुने गरेकाले सहमति जुटेको छैन ।

एमसीसीको विषयमा बाहिर बहस धेरै भए पनि संसदमा प्रवेश गरेको छैन । त्यसैले संसदको अवरोध खुलाउनुपर्नेमा सभामुखको जोड छ । केही दिन अगाडि सभामुखसँग छलफल गरेका संसदीय कानुनका एकजना जानकारले सापकोटाको भनाइ उद्धृत गर्दै भने– नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको विषयमा प्रश्नहरु उठेका छन् त्यसको जवाफ दिने संसद हुन पर्दैन ? यसमा दलहरु सहमत हुनुपर्दैन ? संसद खोल्नु पर्दैन ?

एमसीसीका विषयमा दलहरु तयार भए आफूबाट अवरोध नहुने सभामुखको भनाइ रहेको उनले बताए ।

https://unelma.io/4IznX