मेटा अर्थात् फेसबुकले आफ्नो एक्सप्रेस वाई-फाई सर्भिस बन्द गर्ने निर्णय गरेको छ । सार्वजनिक स्थानमा वायरलेस इन्टरनेट प्रदान गर्न विश्वका ३० भन्दा बढी देशका विभिन्न कम्पनीसँग सहकार्य गर्दै आएको मेटाले आफ्नो यस परियोजनालाई बन्द गर्ने निर्णय गरेको हो ।

फेसबुकले सन् २०१६ मा एक्सप्रेस वाई-फाई कार्यक्रम अघि बढाएको थियो । विश्वका एक अर्ब मानिसलाई निःशुल्क एक्सप्रेस वाई-फाईमार्फत इन्टरनेटमा जोड्ने योजनाका साथ अघि बढाइएको यो कार्यक्रमको उद्देश्य पुरा भएको भन्दै कम्पनीले बन्द गर्ने निर्णय गरेको हो ।

फेसबुकको यो निर्णयसँगै एक्सप्रेस वाई-फाई मार्फत सार्वजनिक स्थानमा नि:शुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको नेपाली इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको सर्भिस के हुन्छ त ?

वर्ल्डलिंकले एक वर्षअघि फेसबुकसँग सहकार्य गर्दै एक्सप्रेस वाई-फाई प्लेटफर्ममार्फत नेपालभर सार्वजनिक वाई-फाई सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।

जसमा तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाई-फाई उपलब्ध पुर्‍याउने योजना कम्पनीको थियो ।

त्यसै अन्तर्गत हाल वर्ल्डलिंकले करिब १५ हजार सार्वजनिक स्थानमा फ्रि वाई-फाई उपलब्ध गराउँदै आएको छ । यस्तोमा फेसबुकले एक्सप्रेस वाई-फाई बन्द गर्ने निर्णय गरेसँगै कम्पनीको उक्त सर्भिसमा असर पर्छ कि पर्दैन त ?

कम्पनी प्रतिनिधिका अनुसार यसले कम्पनीको सर्भिसमा कुनै असर पर्नेछैन ।

‘यदि फेसबुकले यो प्लेटफर्म बन्द गर्छ भने कि त्यो प्लेटर्फम हामीलाई उपलब्ध गराउँछ, अथवा अन्य कुनै कम्पनीलाई व्यवसायिक रुपमा काम गर्न उपलब्ध गराउँछ,’ कम्पनीका प्रतिनिधिले टेकपानासँग भने, ‘त्यो हुँदा हामीले उक्त कम्पनीबाट यो सर्भिसलाई निरन्तरता दिन सक्छौं ।’

कम्पनीका अनुसार फेसबुकले एक्सप्रेस वाई-फाई बन्द गर्ने विषयमा केही दिन अघिमात्रै कम्पनीलाई जानकारी गराएको थियो ।

त्योसँगै कम्पनीले उक्त सिस्टम कम्पनीलाई नै उपलब्ध गराउन समेत आग्रह गरिसकेको छ । यदि कम्पनीले उपलब्ध नगराएको खण्डमा पनि कम्पनी आफैंले उपलब्ध समयमा सिस्टम निर्माण गरी यो सर्भिसलाई निरन्तरता दिनसक्ने जनाइएको छ । 
https://unelma.io/I390U