आजभोलि स्मार्टफोन केही महिनाका लागि मात्र नयाँ रहन्छन् । तपाईं आफ्नो फोन अपडेट गर्ने तयारीमा रहँदा नयाँ स्मार्टफोन बजारमा आइसकेको हुन्छ ।

अब हरेक पटक नयाँ फोन बजारमा आएपछि खरिद गर्न सम्भव त हुँदैन । तर साथमा भएको फोनलाई लामो समयसम्म टिकाउन भने सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नै बानी परिवर्तन गर्नुपर्ने हुन्छ ।

किनकि तपाईंको आफ्नै खराब बानीले समयसँगै फोनलाई विस्तारै हानी पुर्‍याउँदै जान्छ । स्मार्टफोनलाई लामो समयसम्म टिकाउनका लागि तपाईंले त्याग्नैपर्ने केही बानीबारे आज हामी चर्चा गर्दैछौं ।

१. सस्तो मूल्यका केबल प्रयोग गर्न छोड्नुहोस्
तपाईंको फोनलाई छिट्टै बिगार्न सक्ने मुख्य कारण हो, सस्तो र बिना ब्रान्डको केवल जथाभावी खरिद गरेर प्रयोग गर्नु । फुटपाथ अथवा अन्य मोबाइल पसलमा सहजै खरिद गर्न सकिने तपाईंको फोनलाई म्याच हुने, तर बिना ब्रान्ड अथवा कुनै गुणस्तर नभएको केबलले तपाईंको फोनलाई चाँडै बिगार्न सक्छ ।

अझ सकेसम्म आफ्नै फोनमा उपलब्ध भएको केबल प्रयोग गर्नु उपयोगी हुन्छ । उस्तै प्रकारको चार्जर सस्तो मूल्यमा पाउँदा खुशी त लाग्छ, तर यसले दीर्घकालीन रुपमा तपाईंको फोनलाई बिगार्ने काम गर्छ ।

साथै तपाईंसँग गुणस्तरीय केबलहरू छन् भने त्यसलाई सावधानीपूर्वक प्रयोग गर्नुहोस् ।

यदि तपाईंले तिनीहरूलाई दुरुपयोग गर्नुभयो, केबलहरूलाई जथाभावी बेरेर राख्नुभयो र चौबिसै घण्टा प्लगमा जोडिराख्नु भयो भने पनि तपाईंको केबल चाँडै बिग्रन सक्छ, जसले स्वतः मोबाइललाई नै असर गर्छ । यसले ब्याट्री पड्किने समस्या पनि आउन सक्छ ।

२. ब्याट्री औसतभन्दा कम हुँदा पनि चार्ज नगर्नु
समयसँगै फोनको ब्याट्रीको क्षमता कम हुँदै जान्छ । केही वर्षपछि नयाँमा हुँदा डिभाइसहरूमा टिक्ने ब्याट्रीको क्षमता पुरानो हुँदै जाँदा त्यो क्षमता घट्छ ।

तर समयभन्दा अगाडि नै ब्याट्रीको क्षमता कम हुँदैछ भने बुझ्नुस् तपाईं आफ्नो मोबाइलको राम्रोसँग ख्याल राखिरहनु भएको छैन । यसको एउटा मुख्य कारण हो ब्याट्री औसतभन्दा कम हुँदासम्म पनि चार्ज नगर्नु । यसबाट बच्नका लागि, तपाईंले नियमित रुपमा फोन १०० प्रतिशत चार्ज गर्नुपर्छ ।

सकेसम्म ब्याट्रीलाई ३० प्रतिशत भन्दा कम हुन दिनुहुँदैन । साथै फोनलाई रातभर चार्जमा नराखेकै राम्रो ।

३. वाटरप्रुफको नाममा डिभाइस पानीमा भिजाइरहन छोड्नुहोस्
आजभोलिका फोन वाटप्रुफ अर्थात पानी नपस्ने हुन्छ । तर यसको अर्थ तपाईंले फोनलाई पानीको सम्पर्कमा राखिरहने भन्ने होइन । कुनै पनि फोनले पानीलाई रेसिस्ट गर्नसक्ने एउटा स्तरसम्मको क्षमता हुन्छ ।

अर्को कुरा भनेको विद्युतीय उपकरण भएका कारण पनि डिभाइसले धेरै पानी धान्न सक्दैन । केही फोनहरू अन्यभन्दा बढी पानी प्रतिरोधी हुनसक्छ, तर पूर्णरुपमा प्रतिरोधी भने हुँदैन ।

त्यसैले तपाईंको फोन आईपी ६७ वा आईपी६८ रेट गरिएको छ भने पनि पानीबाट जोगाउनु नै उपयुक्त हुन्छ ।
४. सुरक्षाका उपायहरू अपनाउन नछोड्नुहोस्
धेरै मानिस विभिन्न एप प्रयोग गर्ने बहानामा फोनको सुरक्षा गर्न बिर्सन्छन् । साथै फोनमा समय समयमा आउने सेक्युरिटी अपडेटहरू बेवास्ता गर्दा पनि फोन असुरक्षित हुन्छ ।

तपाईंको फोनमा आउने यस्ता सेक्युरिटी अपडेटका नोटिफिकेशनहरू अत्यावश्यक नलाग्न सक्छ । तर यस्ता अपडेटहरूले तपाईंको मोबाइललाई मालवेयर र अन्य गम्भीर समस्याबाट जोगाउन सक्छन् ।त्यसैले मोबाइलमा हुने अटोमेटिक अपडेटहरूलाई बन्द नगर्नुहोस् । साथै तपाईंका एपहरू पनि अपडेटेड र सुरक्षित छन् भनी सुनिश्चित गर्नुहोस् ।
https://unelma.io/8eU9D