युक्रेन सरकारले रुसी सेनासँग लड्न आईटी सेना निर्माण गरेको छ । आफ्ना नागरिकलाई युद्धको मैदानमा उत्रिन आह्वान गरिरहेको युक्रेनले रुसी व्यवसाय, बैंक, सरकारी निकाय लगायतका विरुद्ध साइबर आक्रमण गर्न भोल्युन्टर (स्वयंसेवक) ह्याकर समूह निर्माण गरेको हो ।

औपचारिक रुपमा युद्ध सुरु हुनुअघि नै रुसले युक्रेनका सरकारी निकाय, बैंक तथा डिजिटल सेवा दिने वेबसाइटमा आक्रमण थालेको थियो । त्यसको प्रत्युत्तरमा युक्रेनले भोल्युन्टर ह्याकरलाई संगठित गर्दै रुसमाथि जाइलाग्ने रणनीति लिएको छ ।

शनिबार युक्रेनी उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले ट्वीटरमा आईटी सेना निर्माण भइरहेकाे जानकारी दिए । उनले डिजिटल प्रतिभा भएकाहरूलाई यो अभियानमा सामेल हुन र साइबर फ्रन्टमा लड्न आह्वान गरे ।

उपप्रधानमन्त्री फेडोरोभका अनुसार टेलिग्राम च्याट रूममा यस्ता आईटी सेना संगठित हुनेछन्, र त्यहीँबाटै ‘अपरेसन टास्क’ दिइनेछ ।

हाल आईटी सेनामा साइबर विशेषज्ञलाई संगठित गर्ने र चाँडै नै प्रतिभा भएका सबैलाई जोड्ने योजना ल्याइएको छ । आइतबारमात्रै यो टेलिग्राम च्यानलमा दुई लाखभन्दा बढीको संख्यामा मानिस जोडिएका छन् ।

यो ग्रुपमा सदस्यहरुलाई पहिलो चरणमा रूसी व्यापार, बैंक र सरकारी संस्थाका वेबसाइटमा साइबर र डिडस आक्रमण गर्ने जिम्मेवारी दिइएकाे थियाे ।

त्यस्तै तेल र ग्यास कम्पनी, इन्टरनेट कम्पनी लगायसहित वित्तीय संस्थाका सिस्टममाथि निशाना बनाउने याेजना युक्रेन सरकारकाे छ ।
https://unelma.io/kuDK7